Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मास्कोमा नेपालका मित्रहरूको सम्मानार्थ समारोहको आयोजना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishnaprakash Shrestha   
Thursday, 01 September 2011 16:36

मस्को- मास्कोस्थित नेपाली राजदूतावासमा नेपालकालागि रूसी राजदूत डा. सेर्गेइ भेलिच्किनसहित नेपालका मित्रहरूको सम्मानमा एक भव्य समारोहको आयोजना गरिएको थियो ।

Nepalese friends were honored in Moscow. Photos couresy: Amir Gurung

त्यसमा गैरआवासीय नेपाली संघ रूसका सदस्यहरूकासाथै रूस पर्वतारोही संघ, रूस-नेपाल मैत्री एवं सहयोग समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान, 'एत्नोमिर' ('नृवंशलोक') परियोजना एवं 'कुल्तुरा' ('संस्कृति') टेलिभिजन च्यानललगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एवं छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनका संयोजक जीवा लामिछानेले विश्वका विभिन्न देशहरूमा बसोवास गरिरहेका तीस लाख नेपालीहरूलाई एकबद्ध तुल्याउने र अहिलेसम्म संसारका ५४ देशहरूमा राष्ट्रिय समन्वय परिषद्हरूको स्थापना भइसकेको यस अन्तरराष्ट्रिय संघको विश्वसम्मेलन ४ पटक काठमाडौंमा र क्षेत्रीय सम्मेलन ५ पटक विभिन्न महाद्वीपहरूमा सम्पन्न भइसकेको जानकारी दिनुकासाथै ठीक एक महीनाअगाडि विश्वका विभिन्न महाद्वीपका ३० देशको प्रतिनिधित्व गर्दै मास्कोमा भेला भएका चार सयभन्दा बढी नेपालीहरूकासाथै यूरोपका विभिन्न देशहरूमा कार्यरत ६ जना नेपाली राजदूतहरू र नेपालबाट पनि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवको नेतृत्वमा आएको प्रमण्डलद्वारा भाग लिइएको अभूतपूर्व सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जनाउनुभयो ।


Photos couresy: Amir Gurung

सम्मेलनमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर, नेपाल उद्योग तथा व्यापार महासंघका अध्यक्षलगायत नेपाली उद्यमीहरू तथा पत्रकारहरूद्वारा पनि भाग लिइएको मास्को सम्मेलनको सफलतामा रूसस्थित नेपाली राजदूत महामहिम सूर्यकिरण गुरूङ तथा नेपालकालागि रूसी राजदूत डा. सेर्गेइ भेलिच्किनको महत्वपूर्ण योगदानबारे जोड दिंदै महँगी र भीसाकोसमेत समस्या हुँदाहुँदै पनि मास्कोमा पहिलो पल्ट अभूतपूर्व सम्मेलन सम्पन्न गर्न सकिएकोमा हर्षोद्गार प्रकट गर्दै सम्मेलनको क्रममा कालुगा प्रान्तमा 'एत्नोमिर' परियोजनाअन्तर्गत 'नेपाली घर' को भव्य समुद्घाटन सम्पन्न हुनु निकै ठूलो उपलब्धि भएको जनाउनुभयो र मास्को सम्मेलनको सफलतामा आवश्यक योगदान पुर्याउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

दुर्इ पटक 'सोभियत संघ वीर' को सर्वोच्च उपाधिद्वारा विभूषित रूसी अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभकासाथै नेपालकालागि क्रमशः सोभियत संघ तथा रूस महासंघका पूर्व राजदूतद्वय अब्दुल रहमान हालिल ओग्ली भेजिरोभ तथा भालेरी भेर्तानोभिच नाजारोभकोसमेत समुपस्थितिमा नेपालका राजदूत महामहिम सूर्यकिरण गुरुङ एवं गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा मास्कोमा एक महीनाअघि मात्र सफलतापूर्वक सुसम्पन्न भएको छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनका संयोजक जीवा लामिछानेले रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूकोतर्फबाट मास्कोमा सम्पन्न छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको सफलतामा महत्वपूर्ण योगदान पुर्याएवापत् सम्मानपत्र प्रदान गर्नुभयो ।

नेपालकालागि रूसका राजदूत महामहिम डा. सेर्गेइ भेलिचकिनले नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्धको स्थापनाको ५५ वर्ष पूरा भएको अवसर पारेर मास्कोमा नेपालीहरूको भव्य सम्मेलनको आयोजना गरिएकोमा नेपालीहरूप्रति कृतज्ञता ज्ञापन गर्नुकासाथै पछिल्लो समयमा हाम्रा दुर्इ देशबीच उच्चस्तरीय प्रतिनिधिमण्डलको आदानप्रदान हुन थालेको उल्लेख गर्दै काठमाडौंस्थित रूसी राजदूतावासले सोभियत संघ र रूस महासंघका आफ्ना अग्रज राजदूतहरूद्वारा स्थापित सुमधुर सम्बन्धको परम्परालाई अगाडि बढाइरहेको जानकारी दिनुभयो र आफ्नो दायित्वको पालना गरिएको सन्दर्भमा नेपालीहरूका तर्फबाट ठूलो कदर गरिएकोमा हर्षप्रकट गर्दै यसपल्ट आफ्नो घरबिदाको समयमा समेत नेपालीहरूको मास्को सम्मेलनमा सहभागी हुने सम्भावना पाइएकोमा विशेष सन्तोष जनाउनुभयो ।

नेपाल-रूस कूटनैतिक सम्बन्धको ५५ वर्ष र युरी गागारिनद्वारा विश्वमा सर्वप्रथम अन्तरिक्षको उडान सम्पन्न गरेर अन्तरिक्षयुगको शुभारम्भ गरिएको ५० वर्षको उपलक्ष्यमा नेपालीहरूको मास्को सम्मेलन सुसम्पन्न भएको जनाउँदै गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मणिराज पोखरेल तथा नेपाली राजदूत महामहिम सूर्यकिरण गुरुङले नेपाल र रूसको मैत्रीसम्बन्धको विकासमा योगदान पुर्याएवापत् रूस-नेपाल मैत्री तथा सहयोग समाजको संरक्षण परिषद्का अध्यक्ष, सोभियत संघ वीर रूसी अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभलाई रूसमा बसोवास गरिरहेका नेपालीहरूको तर्फबाट सम्मानपत्र प्रदान गर्नुभयो ।

दुर्इ पटक 'सोभियत संघ वीर' को सर्वोच्च उपाधिद्वारा विभूषित र पाँचपल्ट अन्तरिक्षको उडान गर्ने रूसी अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभले 'पामिर' को अर्थ 'संसारको छाना' हुने भएकाले अन्तरिक्षको उडानका बखत आफूले 'पामिर' भन्ने उपनाम लिएको स्मरण गर्दै पामिरभन्दा पनि अग्लो हिउँचुली नेपालमा रहेको परिप्रेक्ष्यमा छानाभन्दा पनि अग्लो धुरी वा गजूर (रूसी भाषामा 'कोन्योक') हुने तथ्यको चर्चा गर्नुभएको थियो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल वास्तवमा नै स्वर्गको नजिकै रहेको सन्दर्भ गाँस्दै नेपालीहरूको सहयोगी स्वभावबाट प्रभावित भएको बताउनुभएको थियो ।

नेपाली राजदूतावासमा आयोजित समारोहको संचालनको क्रममा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदकी सदस्य सपिला राजभण्डारीबाट एक महीनाअघि २४ जुलाईका दिन कालुगा प्रान्तमा निर्मित 'नेपाली घर' को उद्घाटनका बखत 'एत्नोमिर' परियोजनाका प्रमुख रुस्लान भाइसारोभलगायत नेपाल-रूस सम्बन्ध विकासमा गहकिलो योगदान पुर्याउँदै आइरहेका रूस-नेपाल मैत्री तथा सहयोग समाज, रूसी विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान, टेलिभिजन च्यानल 'कुल्तुरा' ('संस्कृति') तथा रूस पर्वतारोही संघलाई सम्मानपत्रसहित अष्टमङ्गल तथा चक्रअङ्कित ढलौटको कलश उपहार प्रदान गरिएको जानकारी दिइएको थियो ।

उक्त अवसरमा अनुपस्थित रहेका रूस पर्वतारोहण संघका कार्यकारी निर्देशक आन्द्रेइ ओभ्चिन्निकोभलाई सम्मानपत्र र ढलौटको कलश प्रदान गरियो । उहाँले गतः वर्ष रूसमा अवस्थित यूरोपकै सर्वोच्च हिमशिखर एल्ब्रुसमा नेपाली महिला पर्वतारोही टोलीको सफल आरोहणको सम्झना गर्दै हाल रूसी पर्वतारोहीहरू मात्र हिमाल आरोहणका लागि नेपाल जाने नभई नेपालबाट पनि पर्वतारोहीहरू रूस आउन थालेको परिप्रेक्ष्यमा यस्तो प्रत्यक्ष पारस्परिक सम्पर्कबाट मैत्री विकासमा सहयोग पुग्नजाने उल्लेख गर्दै सोभियत पर्वतारोहीहरूद्वारा सन् १९८२ मा सर्वप्रथम सफल सगरमाथा आरोहणको ३० वर्ष र रूसी पर्वतारोहीहरूद्वारा सगरमाथा आरोहणको २० वर्ष पूरा हुने उपलक्ष्यमा छिटै नै मास्कोमा पर्वतारोहीहरूको भेलाको आयोजना गरिने जानकारी दिनुका साथै नेपाली तथा रूसी राजदूतद्वय महामहिम श्री सूर्यकिरण गुरुङ तथा डा. सेर्गेइ भेलिच्किनलाई रूस महासंध अस्तित्वमा आएपश्चात् सन् १९९१ मा सर्वप्रथम रूसका पर्वतारोहीहरूले सगरमाथा आरोहण गरेको सन्दर्भमा प्रकाशित 'हरेकको आ-आफ्नै सगरमाथा' (सन् १९९३) शीर्षकको अल्बम (१४३ पृष्ठ) उपहारस्वरूप प्रदान गर्नुभयो ।

मास्को सम्मेलनको क्रममा कालुगा प्रान्तमा निर्मित 'नेपाली घर' को उद्घाटन हुन सकेकोमा नेपाली सहभागीहरूका साथै नेपाली राजदूतज्यूको सक्रियताको उच्च मूल्याङ्कन गर्दै 'एत्नोमिर' परियोजनाका प्रमुख रुस्लान भाइसारोभले विभिन्न देशहरूमा बसोवास गरिरहेका नेपाली प्रतिनिधिहरूले रूसमा बनेको नेपाली शैलीको घरको अवलोकनपश्चात् आ-आफ्नो ठाउँमा यस्तै 'नेपाली घर' को निर्माण गर्नेछन् भन्ने विश्वास व्यक्त गर्दै नेपालमा पनि 'रूसी घर' बनाउने आफ्नो चाहना रहेको भावाभिव्यक्ति प्रकट गर्नुभयो ।

नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरुङले सुरुमा कालुगा प्रान्तमा नेपाली घर बनाउने कुराप्रति रूसमा कार्यरत नेपाली उद्यमी तथा व्यवसायीहरूले आशङ्का प्रकट गरेको तर यथास्थानमा गई 'एत्नोमिर' परियोजनाका प्रमुख रुस्लान भाइसारोभसंग कुराकानीपश्चात् विश्वस्त भएर नेपाली घरको निर्माणमा लागिपरेको सम्झना गर्दै नेपालमा 'रूसी घर' निर्माण गर्ने कल्पना साकार तुल्याउन नेपाली राजदूतावासको तर्फबाट आवश्यक सहयोग पुर्याइने विश्वास दिलाउनुका साथै नेपालका लागि रूसी राजदूत डा. सेर्गेइ भेलिच्किनले छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनका सहभागीहरूका लागि भीसा प्राप्तिको प्रक्रिया सहज तुल्याएर जुन किसिमको सौहार्दताको प्रदर्शन गर्नुभयो त्यसका लागि हार्दिक आभार प्रकट गर्नुभयो ।  उहाँले छैठौं गैरअवासीय नेपाली क्षेत्रीय सम्मेलनको पूर्ववेलामा नेपाल उद्योग तथा वाणिज्य महासंघ र रूस उद्योग तथा वाणिज्य संघका बीच र नेपाली पत्रकार महासंघ र रूस पत्रकार संघका बीच अवधारणापत्रहरूमा हस्ताक्षर हुनुका साथै सम्मेलनको क्रममा पनि नेपाल र रूसबीच भावी सम्बन्ध विकासका विभिन्न पक्ष्यहरूबारे उच्चस्तरीय वार्ता सम्पन्न भएको छ भन्नुहुँदै हाम्रा दुर्इ देशबीच कायम रहँदै आएको सुमधुर मैत्री सम्बन्ध भविष्यमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका मित्रहरूको सम्मानार्थ आयोजित समारोहको समाप्तिपश्चात् उपस्थित अतिथिहरू नेपाली राजदूतावासको तर्फबाट दिइएको सन्ध्याभोजमा सरीक भएका थिए ।

फोटो सौजन्य : अमीर गुरुङ
दिनाङ्क : २५ अगस्त २०११,
मास्को, रूस महासंघ ।

-Krishnaprakash Shrestha in Moscow

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?