Inside

All Time Top 50 News

बाईसौं शीतकालीन ओलम्पिक खेल खेलिने रसियाको स्वास्थ्यनगरी "सोची" को कथा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna Prakash Shrestha   
Thursday, 07 February 2013 03:40

Special: 2 photos: मास्को- आजको ठीक एक वर्षपछि सन् २०१४ को ७ फेब्रुअरीदेखि १७ दिनसम्म रूसको स्वास्थ्यनगरी "सोची" बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने छ ।

Olympic Winter Games will be held in Sochi, Russia on February 7-17, 2014. Photo courtesy: Olympic.org

उत्तरतिर हिमाच्छादित पर्वतश्रृंखला र दक्षिणतिर कृष्णसागर तटवर्ती समशीतोष्ण जलवायु भएको यस न्यानो सहरमा ८० देशका ६ हजार उत्कृष्ट खेलाडीहरुले विभिन्न शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिएर विश्व कीर्तिमान स्थापित गर्नेछन् । कुन्नि, हिमाली देश नेपालका खेलाडीहरु त्यहाँ पुग्ने हुन् वा होइनन् ? तर आजभन्दा आधाशताब्दी अघि त्यस स्वास्थ्यनगरीमा पुग्ने नेपालीहरुमध्ये यो पंक्तिकार पनि एक हो । त्यसअघि पर्यटककोरुपमा कोही नेपाली त्यहाँ पुगे-नपुगेको कुनै अभिलेख प्राप्त छैन । तर म चाहिं त्यो सहर हेर्न र त्यहाँ आराम गर्न गएको थिइनँ । स्थानीय “चेर्नोमोर्स्काया ज्द्राभ्नित्सा” (कृष्णसागरवर्ती स्वास्थागार) भन्ने अखबारमा व्यावहारिक अभ्यासकार्य गर्न सोची पुगेको थिएँ । मास्को विश्वविद्यालय पत्रकारिता संकायबाट खटिएर गएका गौरव नरसिंह राणा र म दुवै जनाले सोचीनेरको वनस्पति उद्यानमा रहेको मित्रतावृक्ष (कागतीको बोट) मा नयाँ हाँगा कलमी गरी त्यहाँ सर्वप्रथम पुग्ने विभिन्न देशका उच्चपदस्थ नेताहरुको नामको सँगसँगै आफ्नो पनि नाम अंकित गराउने सौभाग्यसमेत पाएका थियौं ।  

क्रास्नोदार प्रदेशमा पर्ने नोभोरसिइस्क बन्दरगाहबाट जहाज चढेर कृष्णासागरको किनारैकिगार म सन् १९६२ को ग्रीष्मयाममा सोची पुगेको थिएँ । ककेशियाली श्रृंखलाको फेदीमा कृष्णसागरको किनारैकिनारा १४५ किलोमिटरसम्म तन्किएको यो नगर अहिले ३५०२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेर पस्रिएको छ । सन् २००२ सम्ममा विशाल सोचीको जनसंख्या ३ लाख ३४ हजार २८२ पुगेको थियो ।

Sochi City beach. Photo courtesy: Krishna P Shrestha

प्राचीन युनान (ग्रीस) र रोम साम्राज्यसम्म नै व्यापारिक सम्पर्कको जरो गाडिएको सोचीको इतिहास निकै पुरानो छ । कहिले यो क्षेत्र जर्जियाअन्तर्गतका राज्यहरुको आधिपत्य (छैटौंदेखि एघारौ शताब्दी) मा रहेको थियो भने कहिले स्थानीय पहाडी निवासीहरुकै स्वामित्व (पन्द्रौ शताब्दीदेखि) मा रहृयो । अन्ततोगत्वा सन् १८२९ देखि सोची रुस साम्राज्यको अधीनमा आयो । यहाँ सन् १८३८ मा सोची नदीको डेल्टामा सुरक्षार्थ किल्ला समेत खडा गरियो र ककेशिया युद्धमा रुसको विजयपश्चात् सन् १८६४ मा किल्लाको पुननिर्माण भयो । तत्पश्चात् सोचीले बीसौ शताब्दीको प्रारम्भदेखि रूसको एक स्वास्थ्यनगरीको रूपमा द्रुत विकास गर्न थालेको हो । सन् १९१४ देखि नगरको मान्यता प्राप्त गरेको सोचीमा सन् १९२० को मेर्इ महिनामा देनिकिनको सेनाले लाल सेनासमक्ष आत्मसमर्पण गरेको थियो । यहाँ सोभियत नेता इओसिफ स्टालिनले आफ्नो विश्रामगृह निर्माण गराएपछि सोचीको ख्याति फैलियो र त्यहाँ सोभियत सत्ताकालमा कैयौं विश्रामगृह र स्वास्थ्यनिवासहरुको निर्माण भयो । देशका विभिन्न इलाकाबाट त्यहाँ ग्रीष्मऋतुमा मानिसहरु घरबिदामा सपरिवार आराम लिन जान्थे ।

म पनि दुर्इ तीनपल्ट कृष्णसागर तटवर्ती “बुरेभेस्तनिक” भनिने विश्रामगृहमा वा सोची आसपासका लाजेरेभ्स्काया र गाग्रा (आब्खाजिया गणतन्त्र) स्थित स्वास्थ्यनिवासमा आराम लिन जाँदा सोची पनि पुगेको थिएँ । परन्तु विद्यार्थी जीवनमा सर्वप्रथम एक महिनासम्म यस नगरमा बिताइएको समयको अनुभव अविस्मरणीय रहेको छ । त्यतिखेर सोचीको “च्योर्नोमोर्स्काया द्राभ्नित्सा” (कृष्णसागरीय स्वास्थागार) भन्ने अखबारको सम्बाददाताको हैसियतले हामी दुवैजना नेपालीहरुलाई विभिन्न बाल स्वास्थ्य शिविर, स्वास्थ्यनिवास, वनस्पति उद्यान र रिभएरा बगैंचा, स्पुतनिक युवा विश्रामस्थल आदि ठाउँमा पुगेर अवलोकन गर्ने र यसबा अखबारमा लेखहरु छपाउने समेत मौका मिलेको थियो । फुर्सदको समयमा कृष्णसागरमा गोता लगाएर बगरमा लम्पसार परी घाम ताप्ने मात्र गरिंदैनथ्यो, नगरका विभिन्न दर्शनीय स्थलहरुको पनि दृश्यावलोकन गर्ने गरिन्थ्यो । हामीले जहाँ गए पनि न्यानो स्वागत पाउने गरेका थियौं । बाल स्वास्थ्य शिविरमा पुग्दा दिउँसोको भोजन सित्तैमा खान दिइन्यो भने विश्रामगृहमा जाँदा समुद्रमा पौडी खेल्ने सामग्री समेत उपलब्ध गराएर बाहिरियाहरुले प्रवेश नपाउने समुद्री तटमा आराम लिने सम्भावना प्रदान गरिन्थ्यो । स्पुतनिक युवा विश्राम स्थलका डाइरेक्टरले हामीलाई जहिले आए पनि दिउँसोको भोजन गराउने र आराम गर्नसमेत अनुमति दिने आशयको निर्देशन त्यहाँका कर्मचारीहरुलाई दिएका थिए र हामी पनि समय पाइनासाथै त्यहाँ पुगेर रमणीय वातावरणमा मजासित आराम लिन पल्केका थियौं । अवश्यमेव यो सुविधा हामी दूरदेशका विद्यार्थी हुनाले माया गरेर दिइएको थियो ।

आधा शताब्दी पहिलेको तुलनामा अहिले सोचीको रुप एकदमै बदलिइसकेको छ । त्यहाँ पछिल्ला वर्षहरूमा ओलम्पिक खेलको आयोजनाकालागि आवश्यक आधारभूत संरचनाको निर्माण जोडतोडका साथ चलिरहेको समाचार बारम्बार सुन्ने गरिन्छ । क्रिडास्थलहरुको मात्र नभई विद्युत्केन्द्र, मनोरञ्जन स्थल, आवासक्षेत्र, यातायात र संचार माध्यमहरुको व्यापक निर्माण गरिएको छ । यो पंक्ति लेखिरहँदा स्वयं रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन क्रीडास्थलहरूको निर्माणको निरीक्षण गर्न सोची पुगेको खबर टिभीबाट प्रसारित भइरहेछ । निसन्देह नै ओलम्पिक खेल सम्पन्न भएपछि यूरोपको सबभन्दा लामो सहर मानिने सोची खेलकूदमा विश्व कीर्तिमान स्थापित गर्ने क्रिडानगरी मात्र नभई सुविधायुक्त मनोरम स्वास्थ्यनगरीमा परिणत हुनेछ ।

स्मरणीय के पनि छ भने सोभियत संघका खेलाडीहरुले सन् १९५६ मा इटलीमा आयोजित शीतकालीन ओलम्पिक खेलमा पहिलोपल्ट भाग लिएका थिए भने ५८ वर्षपछि रुसमै पहिलोपल्ट हिउँदे ओलम्पिक प्रतियोगिता सम्पन्न हुने भएको छ । यसरी व्यापक तैयारीकासाथै एक वर्षपछि सोचीमा बाइसौं शीतकालीन ओलम्पिक खेल र एघारौं पाराओलम्पिक खेलसमेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा मलाई आधा शताब्दीअघि त्यहाँ एक महिनासम्म रमाइलोसित बिताइएका क्षणहरुको सुमधुर सम्झना भएर आयो...।

७ फेब्रुअरी २०१३ (वृहस्पतिवार)

कृष्णप्रकाश श्रेष्ठ
मास्को, रुस महासंघ ।

-Krishna Prakash Shrestha in Moscow

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.