Inside

All Time Top 50 News

गोजी प्रजातन्त्रमा मातृभाषा कसरी फस्टाउन सक्छ? PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Amrit Yonjan-Tamang   
Tuesday, 06 October 2009 02:58
विश्वमा हलाल भाषा (Killer Language) को जगजगी
काठमाडौं- प्रजातन्त्र नभएको वा गोजी प्रजातन्त्र भएको देशका शासक जातिले आफ्नो भाषालाई राष्ट्रिय भाषा, आफ्नो धर्मलाई राष्ट्रिय धर्म, आफ्नो संस्कृति र परम्परालाई राष्ट्रिय संस्कृति र परम्परा, आफ्नो मूल्य र मान्यतालाई राष्ट्रिय मूल्य र मान्यता घोषणा गर्दछन् र मूलधार (Mainstream) को नाउँमा अन्य जाति तथा समुहमाथि आफ्नो संस्कृति लादने गर्दछन् ।
मूलधारका मानिसहरू जो सधैं सत्तामा हुन्छन्, सत्ताको हालीमुहाली गर्दछन् उनीहरू सत्ताधारी जाति (Power People) हुन् र उनीहरूले बोल्ने भाषा शक्ति भाषा (Power Language) को रूपमा विकास गरिएको हुन्छ । शक्ति भाषाले स्थानीय मातृभाषालाई हुर्कन नदिने हुनाले यी भाषालाई शासकीय भाषा (Dominant Language) पनि भनिन्छ । विश्वका धेरै मातृभाषाहरू शासकीय भाषाको मार खेपिरहेको हुनाले यस्ता भाषालाई हलाल भाषा (Killer Language) पनि भन्ने गरेको पाइन्छ ।
विश्वका सर्न्दर्भमा अंग्रेजी भाषा एक नम्बरको हलाल भाषा हो भने दक्षिण एशियाको सर्न्दर्भमा हिन्दी भाषा हलाल भाषाको रूपमा स्थापित भएको छ । नेपालको सर्न्दर्भमा खस-नेपाली भाषाले विगत २५० वर्षेखि मातृभाषालाई दवाउन जुन भूमिका खेल्यो त्यो भूमिकालाई हेर्दा र कतिपय मातृभाषाहरू अत्यन्तै लोपोन्मुख अवस्थामा पुगेको देख्दा र सर्वोच्च अदालतको आदेशहरूलाई विश्लेषण गरेर हेर्दा यो भाषा पनि अब हलाल भाषाको रूपमा स्थापित हुँदैछ । यसता हलाल भाषादेखि मातृभाषीहरू सधैं तर्सिरहेका हुन्छन् ।
यस्ता शक्ति भाषा वा शासकीय भाषा वा हलाल भाषा बोल्नेहरूका लागि भाषा भनेको विचार विनियम गर्ने माध्यम मात्र हो, साधन मात्र हो मोवाइलको सेट जस्तै । उनीहरूका लागि भाषा एक देशमा मात्र सिमित हुने वस्तु होइन, यसले देशको राजनीतिक सिमा नाघेको हुन्छ । यसभन्दा पर उनीहरू केही सोंच्नै सक्दैनन् । तर आदिवासीहरूका लागि भाषा सबै थोक हो - पहिचान हो, आत्मसम्मान हो, अमूल्य सम्पदा हो, विरासत हो, अस्तित्व हो, माटो हो, शिक्षा हो आदि आदि ।
प्राज्ञ वैरागी काइँलाले भनेका छन् - 'जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन' । डा. हर्क गुरुङ र साथीहरूले 'मातृभाषा नभए जातीय पहिचान नै लोप भएर जान्छ' भन्छन् । आदिवासीहरूका लागि जाति र उसले बोल्ने भाषा एउटै सिक्काका दुइ पाटा हुन् । नेपालका मातृभाषीहरू पनि  ग्लोभिया एलजाल्डना (१९८७) को निम्न विचारलाई आपनै विचार ठान्दछन् । उनको विचार छ -
"So if you really want to hurt me,
Talk badly about my language.
Ethnic identity is twin skin to linguistic identity
I am my language
Until I can take pride in my language
I cannot take pride in myself."
- Glovia Anzaldna (1987)

"तिमी साच्चै मेरो मनलाई चोट पुर्‍याउन चाहन्छौ भने
मेरो भाषालाई गाली गर, सत्तोसराप गर ।
जातीय पहिचान र भाषिक पहिचान भनेको
एउटै सिक्काका दुइ पाटा हुन्
म मेरो भाषा हुँ
म मेरो आपनै भाषाप्रति गर्व गर्न सक्दिन भने
म आफूप्रति नै गर्व गर्न सक्दिन ।
हो, म मेरो भाषा हुँ ।"
- ग्लोभिया एन्जाल्डना -१९८७
तर्सथ आदिवासीहरू कुनै पनि बहानामा आपनो मातृभाषा गुमाउन चाहदैनन् बरू उनीहरू आफ्ना मातृभाषा संरक्षणका लागि यसका प्रयोग क्षेत्र वस्तार गर्न चाहन्छन् र वल्फसंगसंगै भन्दछन् -
"Language is not everything in education but without language everything is nothing in education."- Wolff (2006)
"शिक्षामा भाषा सबैथोक होइन तर भाषाविना शिक्षामा सबैथोक केही पनि होइन ।"- वोल्फ
नेपाललगायत विश्वका आदिवासीहरू मातृभाषामा नै शिक्षा प्राप्त गर्न चाहन्छन् । हालका मूलधारका शिक्षाबाट आफ्ना बालबालिकहरू गाउँघर नर्फकने र आफ्नो भाषा र संस्कृतिलाई नै घृणा गर्ने जस्ता क्रियाकलाप देखिएपछि मूलधारका शिक्षाप्रति उनीहरूमा आकर्षण देखिदैन । हाल उनीहरू स्थानीय विषयवस्तुसहितको मातृभाषामा शिक्षाको विकल्प नभएको देख्न थालेका छन् ।
"It has been observed that 'a lost language is a lost culture, a lost culture is invaluable knowledge lost." - Kiplangat Cheruiyot
'हालसम्मको अवलोकनबाट के प्रष्ट भएको छ भने भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि हराउनु हो ।" - किप्लाङात चेरुइयोत
अफ्रिकाका किप्लाङात चेरुइयोतको माथिका विचारसंग नेपालका आदिवासीहरू पनि शतप्रतिशत सहमत देखिन्छन्। उनीहरू आफ्ना मातृभाषामा आफ्ना जीवन र अनुहार खोज्दछन्, साँस्कृतिक तथा जैविक विविधता प्रतिविम्वित भएको देख्छन्, बहुमूल्य ज्ञानको भण्डार पाउँछन् र प्रकृति प्रतिध्वनित भएको सुन्छन्।
राणाकालमा मातृभाषाले खप्नु परेको मार प्रजातन्त्रकाल (२००७-२०१७) र पञ्चायतीकाल (२०१७-२०४६) मा पनि खप्नु पर्‍यो । भाषिक विभेदले निरन्तरता पाइनै रहयो । प्रजातन्त्रको पुनःस्थापनापछि मातृभाषामा शिक्षा र संरक्षण गर्ने कुरा संविधानमा लेखिए पनि संविधानको मर्मको सम्बोधन कतै भएन, सम्मान कसैले गरेनन् । खतरामा परेका भाषाहरूको संरक्षण गर्ने कुनै कार्यक्रम सरकारले बनाइदिएन । बरू मातृभाषाको प्रयोगमा बन्देज लगाउने गरी सर्वोच्च अदालतको आदेश जारी भयो । यसै गरी गणतन्त्र स्थापनापछि पनि मातृभाषाहरूको प्रयोग विस्तार, संरक्षण र सर्म्वर्द्धनमा कुनै कार्यक्रम कार्यान्वयन भएको देखिएन । लोकतन्त्र स्थापित भएपछि नेपालमा एक भाषी मोडल समाप्त भएको अनुभूति मातृभाषीहरूलाई हुनुपर्दथ्यो, अझै हुनसकेको छैन । उनीहरू ग्यासार योन्जनले झै भन्न थालेका छन् -
"मध्यरातमा
आएको थियो लोकतन्त्र,
उज्याँलो अझै
भएको छैन ।"   - ग्यासार योन्जन - २००९
आदिवासीहरू आफ्नो मातृभाषाप्रति गर्व गर्दछन् । ग्लोभिया एन्जाडनाले जस्तै उनीहरू 'म मेरो भाषा हुँ' भन्न रुचाउछन् । अमेरिकी आदिवासी डारिल बेब विल्सनले झै उनीहरू मातृभाषासंगै सदासदा बाँच्न चाहन्छन् । विल्सनले भनेका छन् -
"We must know the white [man's] language to survive in this world. But we must know our language to survive forever." - Darryl Babe Wilson
'यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सधैंसधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ ।' - डारिल बेब विल्सन
विल्सनले भने जस्तै नेपालका मातृभाषीहरू जीवनयापनका लागि हलाल भाषाहरू सिक्न वाध्य छन् र सधैंसधैं बाँच्नका लागि अर्थात् आफ्नो पहिचानलाई, अस्तित्वलाई, साँस्कृतिक मूल्यमान्यतालाई निरन्तरता दिन मातृभाषा छोडन चाहदैनन् ।
ब्रिटिश र आइरिसभाषी बीचको घोचपेचको संवाद पनि मज्जाले रमाइलो मानेर सुन्ने सुनाउने गर्दछन् । उनीहरूका अनुसार एकजना आइरिस बुढाले आफ्नो मातृभाषा सिकिरहेको देखेर एक जना अंग्रेजलाई निकै रिस उठेपछि यसरी संवाद चलेछ -
अंग्रेज : (आँखा तर्दै) किन सिकेको आइरिस भाषा?
आइरिस : (नम्र स्वरमा) मरेपछि र्स्वर्गमा आफ्ना पूर्खाहरूसंग भलाकुसारी गर्न ।
अंग्रेज  : (रिसले मुर्मुरिदै) नर्कमा पुगे भने नि ?
आइरिस : अंग्रेजी भाषा छदैछ नि ।
मातृभाषा विर्सेका नेपालका आदिवासीहरू पनि आफ्ना मातृभाषाप्रति आसाध्यै तृष्णा राख्दछन् । उनीहरू विश्वको राजनीतिक इतिहासमा भाषाको आधारमा कुनकुन राज्य स्थापना भए, कहाँकहाँ संघ राज्यहरू बने आदि जान्न पनि उत्सुक देखिन्छन् ।
तामाङ संस्कृतिका प्रवक्ता रूपमा स्थापित ताम्बाका भनाइप्रति पनि सचेत छन् उनीहरू । ताम्बाले गाउँने गरेका गीत उनीहरू पनि गुनगुनाउँछन् -
"चिनिया, भोटे, नेवारी
तामाङ, खम्बु, हयोल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना
आफ्नो भाषा न छोड
हराउँछ ताम्बा फैलिन्छ पाप
सन्तान, धर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषा नछोड
चिताएको पुग्नेछ ।" - सन्तवीर लामा पाख्रिन - सन् १९५७
सारांश भन्नु पर्दा मातृभाषीहरूका लागि (क) मातृभाषा र जातीय पहिचान भनेको एउटै सिक्काको दुइ पाटो हो, (ख) मातृभाषासंग जातीय अस्तित्व गाँसिएको हुन्छ, (ग) मातृभाषा पूर्खाको आशिर्वाद हो र देशको गहना पनि हो (घ) मातृभाषामा स्थानीय ज्ञान-विज्ञानको भण्डार हुन्छ, (ङ) मातृभाषामा मात्र जीवन्त शिक्षा सम्भव हुन्छ, (च) भाषा अमूल्य सम्पदा हो र (छ) मातृभाषा सधैंसधैं वाँच्ने जीवन संयन्त्र पनि हो । अर्थात् मातृभाषा भनेको आदिवासीहरूको लागि जातीय पहिचान हो, अस्तित्व हो, पूर्खाको आर्शिवाद हो, आत्मसम्मान हो, अमूल्य सम्पदा हो, ज्ञान-विज्ञानको भण्डार हो, जीवन शिक्षा हो र सधैंसधैं बाँच्ने जीवन्त संयन्त्र (machanism) पनि हो ।
यसरी मातृभाषीहरू मातृभाषाबारे सुप्रष्ट दृष्टिकोण राख्दछन्, मातृभाषाको संरक्षण, सर्म्वर्द्धन र प्रयोग विस्तारका लागि निरन्तर संर्घष्ररत् रहन्छन् अनि भाषिक समानता हुनसके मात्र शान्ति स्थापित हुन्छ, लोकतन्त्रको जग बलियो हुन्छ र देश फुल्छ फल्छ भन्नेमा विश्वस्त छन् । अमेरिकी आदिवासी डेनियल नेटल र सुजेन रोमेनको निम्न विचारसंग मातृभाषीहरू हुबहु सहमत छन् -
"आजको युग बहुभाषिकता युग हो र बहुभाषिकताको सक्रिय खेती गर्नाले विश्वव्यापिकरण र स्थानीयताको बीच, एकता र विविधताको बीच हाल देखिएको टकराउलाई सुमधुर सुसम्बन्धको बाटोतिर डोर्‍याउन सक्दछ ।"
-Amrit Yonjan-Tamang in Kathmandu.
Note: Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal.
Read more Hamro Boli at:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.