Inside

All Time Top 50 News

रचनाको चोरी अर्थात 'प्लेजिअरिजम' (Plagiarism) भनेको के हो ? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Amrit Yonjan-Tamang   
Friday, 18 April 2014 10:08

Exclusive: 4 photos: काठमाडौं- 'प्लेजिअरिजम' भनेको अरु कसैको विचार वा कृतिलाई अनाधिकृतरुपमा आफ्नो नाउँमा प्रयोग गर्नु हो अर्थात् अरु कसैको शब्द, विचार वा लेख्य सामग्रीलाई आफ्नै बनाएर प्रयोगमा ल्याउनु हो । यसको अर्थ अरु कसैद्वारा मौखिक वा लेख्यरुपमा व्यक्त विचार वा रचनालाई स्रोत नखोली आफ्नो बनाएर वा आफ्नो नाममा प्रयोग गरेमा प्लेजिअरिजम (Plagiarism) गरेको ठहरिन्छ।

 

A model for understanding influences on information use and plagiarism
Source and further reading on plagiarism: http://www.informationr.net/ir/12-1/paper288.html

प्लेजिअरिजम कसरी हुन्छ ?

सिर्जनात्मक तथा अनुसन्धानात्मक लेखन, कला, अभिव्यक्ति आदिमा निम्न प्रकारका प्लेजिअरिजम हुने गरेको छ-

(क) स्रोत नखोल्नु

अरु स्रष्टाका रचना वा विचारलाई स्रोत नखोली छाप्नेहरू आजभोलि जताततै छ्याप्छ्यापती भेटिन्छन्। मूलतः राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी र विश्वविद्यालयमा थेसिस लेख्नेहरू यस कार्यमा बढी उद्यत देखिन्छन्। राजनीतिक कार्यकर्ता कुनै नेताको विचार 'मेरो विचारमा' भन्दै ओकल्ने गर्दछन्। सञ्चारकर्मी र थेसिस लेख्नेहरू पनि यस्तै कुनै उपाय प्रयोग गर्दछन्। प्राज्ञिक तथा बौद्धिक तहमा पनि यस प्रकारको प्लेजिअरिजम भएको पाइन्छ-

(१) मैले पुराना तामाङ सामग्री खोज्नेक्रममा प्राप्त पूराना पुस्तकको सूचीलाई स्योम्हेन्दो (२०४७) मा प्रकाशित गरेँ। यीमध्ये एउटा पुस्तकको नेपाली अनुवाद छुटेको थियो। त्यसलाई एक जना तामाङ विद्वानले आफ्नो पुस्तकमा जस्ता तस्तै छापे। हाल त्यो सूची त्यसै पुस्तकको स्रोत उल्लेख गर्दै अन्यले पनि उद्धृत गर्ने गरेका छन्। यसै गरी त्रिभूवन विश्वविद्यालयका एक जना उपप्राध्यापकले प्रौढ शिक्षाका बारेमा लेखिएको मेरो कृतिबाट केही अंश स्रोत उल्लेख नगरी एउटा पेपर तयार गरेछन् अनि त्यो पेपर कस्तो लाग्यो भनेर मलाई नै पढन दिए। मेरा हरफहरू देखेर म अवाक भए।

(२) स्रोत नखोली लेख्ने अर्को तरिका पनि छ । कसैको विचार वा सामग्रीलाई आफ्नै शब्दमा ढालेर आफ्नै बनाउने। यस्तो लेखन पनि चोरी नै हो तर तिमीले मेरो विचार चोरे छौ भन्नु पनि कति गाह्रो।

अर्को एउटा प्रशंग। पाठ्यक्रम विकास केन्द्र, सानोठिमीकोलागि मसहितले तयार गरेको प्राथमिक तहको कक्षा १ का पाठ्यपुस्तकमा प्रकाशित चित्रहरू एक जनाले आफ्नो पुस्तकको कभरमासमेत राखेछन् र भित्र पनि जताततै। पाठ्य सामग्री पनि अनाधिकृतरूपमा सारेका छन्। भेटमा मैले यसको प्रसङ्ग कोट्याएँ। 'सरकारी पुस्तकबाट सार्दा के हुन्छ?', 'सरकारी सामग्री सबैको हुन्छ' भन्दै उल्टै ठूलाठूला स्वरमा कराउन थाले। नेपाली उखान 'जो चोर उसैको ठूलो स्वर' भनेको अर्थ बुझेँ। लुरुक्क पर्नु बाहेक मसँग कुनै उपाय थिएनँ। यत्ति मात्र होइन उनले सो पुस्तक कपिराइट कार्यालयमा दर्ता गरेर 'कसैले चोरलास् खवरदार' भनेर डनको शैलीमा औंला ठड्याउन पनि थाले।

Image chart source: http://en.wikipedia.org/wiki/File:Plagiarism_vs_

Copyright_Infringement.png

(ख) अरूको कृति आफ्नो नाउँमा छाप्नु

सिङ्गै पुस्तक वा केही अध्याय चोर्नेहरू पनि देखिएका छन् । पोखराका क्या. के. आर. थिङले तामाङ एक चिनारी (२०५०) पुस्तकमा सन्तवीर लामाद्वारा लिखित ताम्बा काइतेन व्हाइ रिमठिम (इ. १९५७) का अधिकांश सामग्री स्रोतै उल्लेख नगरी आफ्नो नाउँमा प्रकाशित गरेका छन्।

अरूको सिङ्गै पुस्तक आफना नाउँमा छाप्ने पनि छन्। रविन्द्र ग्याबाककाअनुसार कृष्णबहादुर लामा मोक्तानले 'ताम्बा निर्माण सेवा रिमठिम' (२०५४) शीर्षक पुस्तकमा सन्तवीर लामाको 'ताम्बा काइतेन व्हाइ रिमठिम' र पाल्साङ लामाले 'सेबुसेमु' शीर्षकमा सन्तवीर लामाको 'स्येबु स्येमु' (२०१६) पुस्तक आआफ्ना नाममा प्रकाशित गरेका छन्। उनीहरूले मूल लेखकको नाउँको माथि आफ्नो नाउँ टाँसेका मात्र छन्, भूमिकासमेत उही। कस्तो अचम्म!

यसैगरी, पुरै कविता वा लेख चोरेको थुप्रै घटना फेसबुकलगायतका सामाजिक सञ्जालमा देख्न तथा पढन पाइन्छ। रामकुमार जिम्बा, सञ्चु ब्लोनलगायतले यसबारे सेरिङ गरेका छन्, गुनासो पोखेका छन्। यस्तै गीत, सङ्गीत तथा फिल्म क्षेत्रमा पनि प्लेजिअरिजम भएको सानातिना घटना सुनिन्छ। तामाङ कार्यक्रममा प्रस्तुत नाचहरूलाई भिडियो खिंचेर आफ्नो नाउँमा प्रशारण गराएको पनि पहिले पहिले देखिएकै हो। अरुले श्रम, सीप, बुद्धि तथा अर्थसमेत खर्च गरेर प्रदर्शन गरेको कार्यक्रमको फोटोग्राफी तथा भिडियो खिंचेर नाम कमाउने र आर्थिक लाभ उठाउनेहरू पनि धेरै होलान्।

यस प्रकारको प्लेजिअरिजम तामाङ पत्रकारिता तथा प्रदर्शनकारी कलामा धेरै भएको हुन सक्दछ। एउटा पत्रिकामा छापिएका समाचार र फिचरलेख अर्को पत्रिकामा पनि उस्तै हुन्छन्। कसैले दुइ हजार त कसैले तीन हजार तामाङ गीत लेखेँ वा सङ्गीत दिए भन्ने गीतकार तथा सङ्गीतकारहरू पनि भेटिन्छन्। एउटै सङ्गीत भएको एकभन्दा धेरै गीत सुन्न सकिन्छ। गीतका हरफहरू फेरेर नयाँ गीत गाएको पनि सुन्न सकिन्छ। यहाँ सोझै प्लेजिअरिजम भएको छ।

(ग) आफ्नो रचना एकभन्दा धेरै ठाउँमा छपाउनु

स्रष्टाले आफ्नै रचना दुइ-तीन ठाउँमा छपाउनु वा एउटा रचनालाई टाउको पुच्छर फेरेर नयाँ जस्तै बनाएर छपाउनु पनि प्लेजिअरिजमको क्षेत्रभित्र पर्दछ भनेर एनसेल लिटरेचर फेस्टिभल २०१२ मा प्यानलका विज्ञहरू र सहभागीहरू बीच निकै लामो बहस भएको थियो। यसले पनि रोयाल्टी (लेखकस्व) मा प्रभाव पारेको हुन्छ, पाठक स्रोतालाई धोका दिएको हुन्छ। यसको अर्थ रचना परिमार्जन गर्न मिल्दैन भन्ने चाही होइन रहेछ।

यसमा विचारणीय के छ भने लेखकलाई नसोधी लेख छापेको पनि हुन सक्दछ। लेखे वापत रोयल्थी पाइन्छ नै भन्ने पनि छैन। नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित अन्तर्देशीय नेपाली साहित्य सङ्गोष्ठीमा मैले तयार गरेको गोष्ठीपत्र 'नेपालमा मातृभाषाहरूको साहित्यको स्थिति' गरिमा मासिकका सम्पादकले सङ्गोष्ठीमा नै छाप्ने अनुमति मागेको थिए र उनले गरिमामा छापे पनि तर सो गोष्ठीपत्र मेरो अनुमति बिना नै काठमाडौंबाट प्रकाशित हुने उन्नयन (२०६८ साउन, अङ्क ८०) पत्रिका र सिक्किमबाट प्रकाशित हुने इमेत्नासुङ (३३ औं अङ्क २०११) लिम्बू पत्रिकाले छापेछन्। गरिमा पत्रिका र कतिपय पाठकको आँखामा त म लोभी देखियो नि, होइन र!

(घ) सिर्जना किनबेच गर्नु

चोरी गर्यो भन्न नमिल्ने गरी पनि चोरी हुनसक्द छ- सहमतिबाटै रचना किनबेच गरेर। कुनै लेख वा पुस्तक पैसा दिएर लेख्न लगाउने र आफ्नो नाउँमा छाप्ने कार्य चोरी हो वा होइन भन्नेबारेमा वहस हुन सक्दछ। यसबारे नेवारी भाषामा एउटा फिल्म नै बनेको छ। पैसा दिएर लक्ष्मीप्रशाद देवकोटालाई लेख्न लगाउँथे भन्ने चर्चा पनि सुनिन्छ। तामाङ लेखनमा यस्तो चर्चा हालसम्म भएको पाइदैन तर केही लेखनलाई ट्रेस गर्न नसकिने भने होइन। एउटा राम्रो लेख लेखेर दोस्रो पल्ट नलेख्ने वा झुर लेख्ने लेखकहरू हामी कहाँ पनि छन्। पैसाको लागि रचना बेच्नु राम्रो हो वा होइन यो सोचनीय विषय हो।

किन गरिन्छ प्लेजिअरिजम ?

माथि चर्चा गरियो अर्काको शब्द, विचार, अभिव्यक्ति वा सामग्री स्रोत उल्लेख नगरी छापेमा प्लेजिअरिजम गरेको हुन्छ अर्थात् चोरी गरेको ठहर्छ। तर चोरी किन गर्दछन् यसबारे घोत्लिनु आवश्यक छ। तामाङको सन्दर्भमा धन कमाउनकालागि पक्कै होइन होला। किनभने अहिले तामाङ पुस्तक वा विचार बेचेर धन कमाउन सकिने अवस्थामा हामी पुगेको छैनौं। नाम कमाउन वा चर्चामा आउन पनि गाह्रै कुरा हो। विश्वविद्यालयका विद्यार्थीहरूले डिग्री हासिल गर्न थेसिस लेख्ने क्रममा आफुलाई गहन अध्येता देखाउन, अनुसन्धान गर्ने विद्वान् देखाउन, उच्च दर्जाका विद्वान् प्रमाणित गर्न प्लेजिअरिजम गरेको हुन सक्दछ। मूलतः अध्ययन अनुसन्धान गर्न जाँगर मरेका र आफ्नो तह र समुहमा क्षणिक सम्मान प्राप्त गर्न प्लेजिअरिजम गर्दछन् भन्ने छ। आफ्ना समुह, समाज वा समुदायमा धाक जमाउन पनि प्लेजिअरिजम गरेको हुन सक्दछ।

के के सार्दा प्लेजिअरिजम गरेको ठहरिदैन

मेरो विचारमा घाम पूर्वबाट झुल्किन्छ, आगोले पोल्छ, सगरमाथा सबैभन्दा अग्लो चुचुरो हो जस्ता सर्वव्यापी सत्य अनि राजनीतिक र ऐतिहासिक घटना, परिघटना तथा दस्तावेजहरू चोरी गरेको ठहरिदैन। तर कहाँबाट सारिएको हो स्रोत खोल्नु राम्रै हुन्छ। समाजबाट टिपिएका लोकजीवनका स्थापित संस्कृति र संस्कारहरू, मूल्य र मान्यताहरू पनि चोरी गरेको ठहरिदैन, जस्तै सृष्टि तथा सिर्जना सम्वन्धी मिथकहरू। किनकि यी सबै साझा विचार र सम्पत्ति हुन् र धेरैले लेखेका हुन्छन्। तर कसैको प्रस्तुति श्रैली नै चोर्न भने मिल्दैन। स्रोत खोल्न नसकिने र स्रोत खोल्न नचाहने व्यक्ति वा सामग्रीको पनि स्रोत खोल्नु पर्छ जस्तो लाग्दैन। तर यस्ता सामग्रीको कसैले खोज, अध्ययन र विश्लेषण गरेर विचारसहित प्रस्तुत गरिसकेका छन् भने त्यस्ता सामग्रीको स्रोत खोलिनु आवश्यक छ। यथास्थान सूचकको नाउँ राख्न पनि आवश्यक छ। यस्तै आफ्नो लेखन परिमार्जन गर्नु पनि चोरी वा ठगी ठहरिदैन।

प्लेजिअरिजम गरिने कार्यलाई कसरी रोक्ने ?

तामाङ लेखनको क्षेत्रमा पनि प्लेजिअरिजम प्रारम्भ भइसकेको छ र अब यो क्रमशः मानसिक रोगकैरूपमा फैलिन सक्दछ। यसर्थ यसलाई रोक्ने प्रयास गरिनु पर्दछ। कसैलाई चोरीको आरोप लगाउनुभन्दा अगाडि चोरको नियत बुझ्नु आवश्यक छ। सिङ्गै पुस्तक वा रचना आफ्नो नाउँमा प्रकाशित गर्नु जे नियत भए पनि चोरी नै ठहर्छ। कतिपयलाई (१) उद्धरणको स्रोत उल्लेख गर्नु पर्दछ भनेर थाहा नभएको पनि हुन सक्छ, (२) उद्धरणको स्रोत खोल्न ठीकसँग नजानेको पनि हुन सक्दछ, (३) स्रोत उल्लेख गर्न चाहदाचाहदै प्रकाशनको क्रममा छुटेको पनि हुन सक्छ अनि (४) पुस्तक वा लेख पुनः प्रकाशनकोलागि अनुमति लिन मूल लेखकको सम्पर्क ठेगाना थाहा नभएको पनि हुन सक्दछ।

प्लेजिअरिजमलाई रोक्न हामी सबैको एक मुष्ठ प्रयास हुनु पर्दछ। म यहाँ केही व्यावहारिक उपायहरू सुझाउन चाहन्छु–

(क) कसैको सामग्री अनाधिकृतरुपमा आफ्नो बनाउनु हुँदैन। यसता उद्धृत सामग्रीको स्रोत यथास्थान खोलिदिनु पर्छ। स्रोत खोलेर लेख्दा तपाईँको मान, मर्यादा र प्रतिष्ठा घटदैन बरु बढछ। इमानदार ठहरिने छ।

(ख) सामग्री उदधृत गर्दा सम्वन्धित ठाउँमा नै प्रष्टसँग स्रोत उल्लेख गर्नु पर्दछ, जस्तै योन्जन-तामाङ (२०६८:२५)। यसबाट लेखकको उपनाम, छापिएको वर्ष र पृष्ठ सङ्ख्या समेत थाहा हुन्छ अनि सन्दर्भसूचीमा स्रोतको पूरा विवरण दिनु पर्दछ, जस्तै- योन्जन-तामाङ, अमृत (२०६८) तामाङ साहित्यको इतिहास, काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठान। पत्रपत्रिकामा छापिएको लेखबाट उद्धरण गर्दा यसरी स्रोत खोल्नु पर्छ, जस्तै- लामा (२०६६:१०७) अनि सन्दर्भसूचीमा पूर्ण विवरण दिनु पर्छ, जस्तै- लामा, डा. मुक्तसिंह (२०६६) 'घेवा: तामाङ बौद्ध मृत्यु संस्कार', तामाङ जर्नल, काठमाडौं: तामाङ प्रज्ञासभा।

(ग) कसैले आफ्नो पुस्तकमा उद्धरण गरिएको अंश तपाईलाई पनि उद्धरण गर्नु परेमा दुवै स्रोतलाई उल्लेख गर्नु आवश्यक छ, जस्तै – योन्जन–तामाङ, २०६८ (शर्मा, २०४५)। यसबाट योन्जन-तामाङले शर्माबाट उद्धरण गरेका रहेछन् भनेर प्रष्ट हुन्छ। यसो गर्दा उद्धरण गर्नेक्रममा योन्जन-तामाङले गल्ती गरेका रहेछन् भने पनि आफु बच्न सकिन्छ। यसरी स्रोत खोल्दा इमान्दारीतामा चमक आउँछ।

(घ) तालिकालाई उदधृत गर्दा तालिकाको ठीक मुनि स्रोत उल्लेख गर्नु पर्दछ। माथिका उद्धरण तरिकाबारे सोध पुस्तक हेर्न सकिन्छ।

(ङ) फेसबुकहरूमा कार्यक्रमको फोटो तथा सामग्री छापिएको गुनासो पनि सुनिन्छ। अधिकारिक व्यक्ति वा संस्थालाई यस प्रकारका सूचना मन नपर्न सक्दछ, जस्तै बहुभाषिक शिक्षा कार्यक्रम, शिक्षा विभागका फोटो अनाधिकृतरूपमा युनेस्कोले बहुभाषिक शिक्षा स्रोत पुस्तकमा छापेको देखेपछि सम्वन्धित पक्ष रुष्ट भएका थिए। यसर्थ सम्वन्धित व्यक्ति वा संस्थालाई यस प्रयोजनकालागि भनेर मौखिक वा लिखित अनुमति माग्न सकिन्छ।

(च) तपाईँको कुनै विचार कसैले अनाधिकृतरुपमा चोरी गरेको लागेमा:
(१) आफ्नो रचनाको आधिकारिकताबारे चिन्तन गर्नु आवश्यक छ, (२) आफ्नो मौलिक विचार कसैले चोरेको हो भन्ने लागेमा आफ्ना साथीहरूबीचमा छलफल गरेर सुनिश्चित गर्नु पर्दछ,
(३) चोरी गरेको सुनिश्चित भएपछि प्लेजिअरिजम गर्ने व्यक्तिलाई जानकारी दिनु राम्रो हुन्छ,
(४) उसले गल्ती स्वीकारेमा स्रोत खोलिदिन वा माफी माग्न प्रेरित गर्नु पर्दछ,
(५) स्रोत खोल्न अनाकानी गरेमा वा गर्न नचाहेमा प्रारम्भमा एसएमएस वा इमेल मार्फत् सम्वन्धित सबैलाई जानकारी दिनु पर्दछ। (आफु कन्फर्म नभइकन र स्प्रष्टिकरणको मौका नदिएकन प्लेजिअरिजमको घटनाबाहिर ल्याउँदा विभिन्न जटिल समस्याको सामना गर्नु पर्ने हुन सक्दछ।)
(६) चोरीको गम्भिरता हेरी छापा मार्फत् सार्वजनिक गर्न सकिन्छ। यो नैतिक दवाव दिन उपाय हो,
(७) नेपाल सरकारले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ को व्यवस्था गरेको छ। कानुनी प्रक्रियामा पनि जान सकिन्छ। यस सम्वन्धी विस्तृत जानकारीकोलागि रजिष्टारको कार्यालय, कालिकास्थान, काठमाडौँबाट प्राप्त गर्न सकिन्छ। यो क्षतिपूर्तिकोलागि गरिने उपाय हो।

हामी सबै स्रष्टा तथा लेखकहरूको मूख्य दायित्व भनेको आफु पनि प्लेजियरिज्म नगर्ने वा कम गर्ने र अरुलाई पनि नगर्न प्रेरित गर्नु हो। कसैले प्लेजियरिज्म गरको देखेमा वा थाहा पाएमा सम्वन्धित लेखकलाई जानकारी दिनु हाम्रो पहिलो कर्तव्य हुन आउँछ। गत वर्षको भदौ महिनामा यसबारे भएका जागरण कार्य सराहनीय छ। जुन सुकै प्रकारको चोरी कार्यलाई जहिले पनि निरुत्साहित गरिनु पर्दछ। यसमा सबै चनाखो हुन आवश्यक छ ।

तामाङमा पनि प्लेजिअरिजम हुन्छ र ?

तामाङ वृहत् शब्दकोशको कभर फेसबुकमा राख्ने क्रममा म गत महिनाको फागुन १ गतेदेखि फेसबुकमा पसेँ। रमाइलो लाग्न थाल्यो। यसैक्रममा पुराना लेखहरु पनि नोटमा राख्न थालेँ। गत हप्ता एउटा तामाङ वेभसाइटले तामाङ चेलीको थर परिवर्तन हुँदैन शीर्षकको मेरो लेख नाम हटाएर फेसबुकमा राखेछ। त्यसपछि अन्यले पनि शेर गरेछन्। थाहा पाएपछि मैले यो कस्को लेख हो? भनेर प्रश्न गरे। उनीहरुले गल्ती महशुस गरे अनि भूल सुधार पनि गरे।

आज पनि एक जना महानुभवले त्यसै गरेँछन् - बहुभाषिक शिकछा सद्वन्धी लेख सारेर। मैले प्रश्न उठाए। उनले गल्ती सुधार गरेन बरु दुइ जना जति खेताला लगाएर दिनभरि बहस गरिरहे। जो जोर उसैको ठुलो स्वर भन्ने उखान चरितार्थ गरिरहे। खेताला लगाएर पनि नभएपछि अन्तमा बहाना बनाउँदै र धम्की दिंदै डनको शैलीमा उसले त्यो लेख साइटबाट हटायो । तामाङमा प्लेजिअरिज्म हुन्छ भन्ने प्रत्यक्ष प्रमाण हो यो।

केही महिना अगाडि मात्र पनि एउटा कृतिको कभर डिजाइन चोरेको आरोपमा १८ हजारको तमसुक बनाएको थियो। यस्तो कार्य राम्रो होइन भन्ने पाठ हामीले सिकाउनु आवश्यक छ।

Linguist and author Amrit Yonjan-Tamang's Tamang dictionary book. Photo courtesy: author's facebook profile

तामाङ लेखनमा प्लेजिअरिजम

२०६९ को भदौं महिनामा प्लेजिअरिजम सम्वन्धी समाचार तथा फिचरलेख नेपाली छापाहरूमा देखा परे तर यो नौलो घटना भने होइन। बेला बेलामा यस्तो समाचार छापिरहन्छन्। तामाङ पत्रपत्रिकामा पनि प्लेजिअरिजमको घटनाहरू छापिए। सो महिनाका भएका तीनओटा घटनालाई यहाँ प्रस्तुत गर्न चाहन्छु–

(१) तामाङ सरोकार पाक्षिकले भदौ अङ्कमा तामाङ गायिका माया लामा सम्वन्धी एउटा समाचार प्रकाशित गर्यो । प्रकाशनार्थ प्रेषित आफ्नो खोजमूलक फिचरलेखको आधारमा समाचार बनाएर प्रकाशित गरेको र स्रोत नखोलिएको भन्दै अमृत योन्जन-तामाङले एसएमएस मार्फत् सम्वन्धित पक्षलाई जानकारी गराएपछि प्रधान सम्पादकले मौखिकरुपमा माफी मागे ।

(२) आफ्नो घिसिङ राजाः ताल्च्यो दरवार तथा वंशावली पुस्तकबाट स्रोत नखोली केही अंश उदधृत गरेर लेखिएको सन्दर्भमा कुयाङ घिसिङले याम्बुरि मासिकको भदौं अङ्कमा आफ्नो पुस्तकबाट प्लेजिअरिजम भयो भनेर प्रतिक्रिया प्रकाशित गरे ।

(३) तामाङ सञ्चार सम्वन्धी सूचनामूलक एउटा तालिका स्रोत नखोली याम्बुरि मासिकको भदौं अङ्कको एउटा लेखमा छापिएकोमा स्रोतले एसएमएस मार्फत् आपत्ति जनाएको सूचना मैले पनि पाएँ।

यी उल्लेखित घटनाहरूले तामाङ लेखनमा पनि प्लेजिअरिजम अर्थात् लेखनको चोरी हुँदो रहेछ भन्ने जानकारी हुन्छ। तर हालसम्म कहाँकहाँ के कति यस्ता चोरी भए सोबारेमा कुनै अध्ययन बाहिर आएको छैन, तर यसबारे अनुसन्धान आवश्यक छ। यस लेखमा तामाङ लेखनको प्लेजिअरिजममा केन्द्रित भएर केही जानकारी प्रस्तुत गर्न चाहन्छु।

तामाङ लेखनमा यस प्रकारका चोरी कार्य निकै भेटिन सक्छन्। यसबारे अध्ययन आवश्यक छ। म यहाँ दुइओटा उदाहरण प्रस्तुत गर्छु- (१) परमानसिंह मोक्तानको कोकोम्हेन्दो (१९९१) पत्रिकामा उल्लेखित डम्फु उत्पत्ति र नामकरण सम्वन्धी अवधारणालाई एक जना प्राध्यपक (इ. १९९९) ले आफ्नो 'भारतीय लोकसंस्कृतिमा डम्फु र डम्फु गीत' शीर्षक लेखमा उतारेका छन्। (२) थ्विन्डेल (२०३३) पत्रिकामा छापिएको सम्पूर्ण लोकगीतका सामग्रीलाई अर्को एक जना उपप्रध्यापक (२०५१) ले तामाङ जातिको लोकसाहित्य शीर्षकअन्तर्गत भरमार उतारेका छन्। कतै स्रोत खोलेका छैनन्।

खोज अनुन्धानकोलागि भनेर लिएका विचार वा अभिव्यक्त वा प्रकाशित सामग्रीहरू स्रोत नखोली प्रयोग गर्नु तर कृतज्ञता ज्ञापनमा वा धन्यवाद ज्ञापनमा मात्र नाम उल्लेख गर्नु पनि चोरी नै ठहरिन्छ। यस प्रकारका प्लेजिअरिजमले अरुको विचार सोझै आफ्ना बनाउँछ। तामाङ लेखनमा यस प्रकारको प्लेजिअरिजम सन्तवीर लामा (इ. १९५७) को कृतिमा पनि देखिन्छ । उनले यी यी स्रोतबाट सामग्री प्राप्त भयो भनेर भूमिकामा त उल्लेख गरेका छन् तर कुन सामग्री कुन स्रोतबाट साभार गरियो त्यसबारे कुनै जानकारी गराएका छैनन्।

हाल यस प्रकारको चोरीमा थेसिस तयार गर्ने त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरू निकै सक्रिय देखिएका छन्। यसको सर्वाधिक भिक्टिम म भएको छु। म मेरा विचार र प्रकाशित अंश ती थेसिसहरूमा छ्याप् छ्याप्ति पाउँछु। मलाई भेटदा 'मैले तपाईको नाउँ कृतज्ञतामा राखेको छु नि' वा 'सन्दर्भ सूचीमा तपाईको सामग्रीको उल्लेख गरेको छु नि' भन्छन्। मैले पो उनीहरूलाई कृतज्ञता व्यक्त गरोस् जस्तै गरी गमक्क फुलेर बोल्छन्। आफ्नै चोरिनु छ, धन्यवाद पनि उसैलाई दिनु पर्ने, कस्तो विडम्बना !

कलम चलाउनेहरूको झुकाव वा प्रवृत्ति पनि सबै सामग्रीका स्रोतहरूलाई एकमुष्ट धन्यवादतिर वा सन्दर्भसूचीमा नै बढी उन्मुख छन्।

पुरानो बानेश्वरहाइट

६ असोज २०६९

-Amrit Yonjan-Tamang in Kathmandu

Linguist and author Amrit Yonjan-Tamang. Photo courtesy: author's facebook profile

नोट: प्रस्तुत लेख लेखकको अनुमाति लिएर छापिएको हो। नेपालका मातृभाषाबारे ४२ वटा पुस्तकहरुका सुपरिचित लेखक, पत्रकार तथा भाषाबिद अमृत योन्जन-तामाङले युएस नेपाल अनलाइनको चर्चित स्तम्भ "हाम्रो बोली" को १ देखि २० भाग (सन् २००८-२००९) मा स्तम्भकारकारुपमा लेखेकाछन्।

Read related news:

http://www.usnepalonline.com/bhasa/

-मृत्‍युलाई छल्दै फेरी भाषिक आन्दोलनमा

हाम्रो बोली-20: गोजी प्रजातन्त्रमा मातृभाषा कसरी फस्टाउन सक्छ?

विश्वमा हलाल भाषा (Killer Language) को जगजगी

हाम्रो बोली-19: संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्थाबारे चिरफार

-मृत्‍युलाई छल्दै फेरी भाषिक आन्दोलनमा

-भाषाबिद अमृत योन्जनको मुटुको शल्यकृया सफल

हाम्रो बोली-18: अन्तर्राष्ट्रिय भाषा वर्ष 2008 :'Languages matter'अर्थात् 'भाषाहरू महत्वपूर्ण हुन्छन्'

भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Read Archives of Hamro Boli:

हाम्रो बोली-: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
हाम्रो बोल-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए

हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न
हाम्रो बोली-१०''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark
हाम्रो बोली-
१: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने?

हाम्रो बोली-१२: अब हामीले पनि भन्नु पर्छ - 'भाषा मर्यो' होइन, 'भाषा मार्यो'
हाम्रो बोली-: मातृभाषाको शिक्षा नीति हचुवाको भरमा
हाम्रो बोली-१४: चुनावी घोषणापत्रहरूमा भएका भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रमलाई कसरी हेर्ने?
हाम्रो बोली-१५: चुनावी घोषणापत्रहरूमा भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रम कस्तो छ?
हाम्रो बोली-१६: विश्वमा कति छन् भाषा र वक्ताको संख्या?

हाम्रो बोली-: नेपालमा कति छन् भाषा वक्ताको संख्या?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.