Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री माधवकुमार नेपालद्वारा COP15 बैठक कोपेन्हेगनमा प्रस्तुत सम्बोधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prime Minister Madhavkumar Nepal   
Tuesday, 15 December 2009 19:19

Copemhagen, Denmark- मैले सगरमाथाको देश नेपालबाट यहाँहरु सबैलाई हार्दिक शुभकामना लिई आएको छु । नेपालको मन्त्रिपरिषद्ले दुई हप्ताअघि सगरमाथाको आधारशिविरमा बैठक गरी हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनका भयावह प्रभावहरुलाई उजागर गरेको छ ।

 



Statement by Prime Minister Madhavkumar Nepal at COP15

मन्त्रिपरिषदको यस बैठकले १० सूत्रीय जलवायु परिवर्तनसम्बन्धी सगरमाथा घोषणापत्र जारी गरेको छ जसमा हालको २० प्रतिशतको संरक्षित प्राकृतिक आरक्षण क्षेत्रलाई विस्तार गरी २५ प्रतिशत र वनक्षेत्रलाई मुलुकको कुल क्षेत्रफलको ४० प्रतिशतसम्म पुर्याउने कुराहरु रहेका छन् । गएको हप्ता ११ डिसेम्बरका दिन विश्वका सुन्दरतम् हिमशिखरहरु आरोहण गरेका कैयौं विख्यात पर्वतारोहीहरुलगायत विश्वभरबाट आएका सयकडौं मानिसहरुले यस सुन्दर आतिथेय सहर कोपेनहेगनमा हिमाल बचाउने पर्वतारोहीहरुको शिखर सम्मेलनको क्रममा पैदलयात्रा सम्पन्न गरेका छन् ।

यी कार्यक्रमहरुका साथै समस्त नेपाली जनताका तर्फबाट मैले ल्याएको सन्देश के छ भने हाम्रो धर्तीलाई हामी हराभरा राखौं ता कि हिमालय आल्पस र एन्डिज पर्वतमालाका शिखरहरु सदा हिउँले सेताम्य रहून् र हाम्रा नातिपनातिहरुले पनि तिनको आरोहण गर्न र प्रशंसा गर्न पाइरहून् ।

यदि हामी अहिले चुक्यौं र निर्णायक कदम लिन सकेनौं भने हाम्रा भावी सन्ततिहरुले हिमाली शृङ्खलाहरुको सुन्दरता अनुभव गर्नबाट बन्चित हुने मात्र होइन हिमालयबाट निस्कने ठूल्ठूला नदीछेउ बसोबास गर्ने एक अर्बभन्दा बढी मानिसहरुको जीवन नै गम्भीरतापूर्वक प्रभावित हुन जानेछ । हिमालयमा जलवायु परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेिल्सयसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढी रहेको छ । हिमनदीहरु खुम्चने र हिउँक्षेत्र घट्दै जानुलाई जलवायु परिवर्तनको प्रभावको स्पष्ट अभिव्यक्ति मान्न सकिन्छ । यसले दीर्घकालमा सम्पूर्ण क्षेत्रकै जलवायु प्रणालीलाई प्रतिकूल प्रभाव पार्ने देखिन्छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक तालहरु छन् जो कुनै पनि बखत फुट्न सक्दछन् । अप्रत्यासित वर्षाको साथसाथै बेमौसमी वर्षा, बाढी र खडेरीको अवस्थासमेत आउने गरेको छ । जलवायुमा देखिएको यस्तो विषम परिवर्तनले नेपाललगायत यस क्षेत्रमै खाद्य असुरक्षा बढाउनुका साथै मानिसको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ । पृथ्वीको तापमानको वृद्धिलाई नियन्त्रण गर्न हामी अहिले नै कि्रयाशील भएनौं भने हिमाली क्षेत्रका वनस्पति र वन्यजन्तु लोप हुने खतराका साथै यहाँको जैविक विविधता गम्भीररुपमा प्रभावित हुने र परिवेश प्रणाली पनि अपूरणीय रुपमा क्षतिग्रस्त हुने देखिन्छ । हिमालयमाथि परेको तापक्रम वृद्धिको असर एसिया क्षेत्रमा मात्र सीमित रहेको छैन । यसले संसारभरिको परिवेश प्रणालीलाई नै प्रभावित पार्दछ । यद्यपि विश्वव्यापी तापक्रम वृद्धिमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुको योगदान नगण्य छ तैपनि उनीहरु नै यस्तो प्रभावको पहिलो र अत्यन्त गम्भीर सिकार भएका छन् । यो न्यायोचित होइन ।

अध्यक्ष महोदय

विश्वव्यापी तापक्रम वृद्धिमा औद्योगिक कि्रयाकलापहरु प्रमुख कारक भएको कुरा विज्ञानले बताउँछ । वायुमण्डलमा भइरहेको हरितगृह ग्यासको ऐतिहासिक सङ्कलनमा आजका विकासशील देशहरुको योगदान अत्यन्त न्यून रहेको छ । उदाहरणका लागि नेपालले केबल ०.०२५ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गर्दछ । यो विश्वको औसतभन्दा ३ गुणाले कम हो । दुर्भाग्यवश यस्ता मुलुकहरु नै असमानुपातिक ढङ्गले वातावरण परिवर्तनको दुस्प्रभाव ब्यहोर्न विवश छन् । कमजोर परिवेश प्रणाली र निर्वाहमुखी कृषिमा आधारित एवम् भूपरिवेष्ठित र अतिकम विकसित मुलुक भएको नाताले गरिबी र पछौटेपन विरुद्धको लडाइँमा नेपालले गम्भीर चुनौतीहरु सामना गर्नु परिरहेको छ । यसका अतिरिक्त हामी अहिले शान्ति र प्रजातन्त्रलाई सुदृढ गर्दै बढ्दो जनचाहनालाई पूरा गर्ने उद्देश्यले महत्वपूर्ण राजनीतिक परिवर्तनको क्रममा छौं । हाम्रो वातावरण र प्राकृतिक संसाधनहरुलाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउनु हाम्रा लागि नयाँ र थप चुनौती हुन गएको छ । हामी आफैंले सिर्जना नगरेको यो नयाँ समस्या थेग्न हामीलाई अतिरिक्त साधन र प्रविधिको आवश्यकता पर्दछ । तापक्रम वृद्धिको प्रतिकूल एवम् अप्रत्यासित परिणाम रोक्न हामी सबैले सामूहिक रुपमा कि्रयाशील हुनुपर्दछ ।

अध्यक्ष महोदय

यो विश्वव्यापी चुनौतीलाई प्रभावकारी रुपले सामना गर्न 'युएन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज' क्योटो प्रोटोकललाई हामीले मूल आधारका रुपमा लिएका छौं । हामीले यी अन्तर्राष्ट्रिय सम्झौताहरु साझा तर फरक जिम्मेदारी तथा फरकफरक क्षमताका सिद्धान्तमा आधारित हुनाले हामी सबै मुलुकलाई यिनको प्रभावकारी कार्यान्वयन गर्न आह्वान गर्दछौं ।

नेपाल आफ्नो भूमिका निर्वाह गर्न तयार छ । हामीले विश्वकै सर्वाधिक प्रभावकारी सामुदायिक वन कार्यक्रमहरु विकसित गरेका छौं । जलविद्युत तथा सौर्य एवम् वायु उर्जाका क्षेत्रमा हाम्रो ठूलो सम्भाव्यतालाई दृष्टिगत गर्दा हामी 'कार्बन न्युट्रल' मुलुक हुनसक्ने सम्भावना राख्दछौं । त्यसका लागि हामीलाई ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग र समर्थन आवश्यक पर्दछ ।

हामीले तदनुरुप आफ्ना नीतिहरु अवलम्बन एवम् अनुकूलन गर्न तयार छौं जसले नेपाली जनता र नेपालका लागि मात्र नभई सम्पूर्ण मानव समुदायको समृद्ध भविष्य निर्माणका निम्ति हाम्रो धर्तीलाई हराभरा राख्ने विश्वव्यापी साझा प्रयासमा मद्दत पुर्याउनेछ ।

क्योटो प्रोटोकलअन्तर्गत सहमति भएअनुरुप हरित ग्यास उत्सर्जनलाई घटाउने विद्यमान प्रतिबद्धतालाई पालना गर्नु हामी विकसित मुलुकहरुलाई आह्वान गर्दछौं । यस शिखर सम्मेलनलाई हामी हरितगृह ग्यास उत्सर्जनलाई अझ घटाउनका निम्ति महत्वाकाङ्क्षी विश्वव्यापी एवम् राष्ट्रिय लक्ष्यहरु निर्धारित गर्न आग्रह गर्दछौं । यी प्रयासहरुका बाबजुद पनि जलवायु परिवर्तनका प्रभाव आगामी कैयौं वर्षसम्म पनि परिरहने अवश्यम्भावी छ । तसर्थ विकासशील एवम् अल्पविकसित मुलुकहरुलाई अनुकूलन एवम् प्रविधि विकास र हस्तान्तरण गर्ने कार्यमा ठोस सहयोग पुर् याउन हामी आह्वान गर्दछौं ।

हामी उदीयमान अर्थतन्त्रहरुको विकासका न्यायोचित अभिलाषाप्रति समर्थन जनाउँदै विश्वको तापमान कम गर्न सहयोग पुग्ने किसिमका महत्वकाङ्क्षी लक्ष्यहरु निश्चित गर्न आग्रह गर्दछौं किनभने उनीहरुका कि्रयाकलापबाट हिमाली क्षेत्रको संरक्षणमा प्रत्यक्ष प्रभाव पर्न जानेछ ।

अध्यक्ष महोदय

७७ राष्ट्रहरुको समूह र चीनको तर्फबाट सुडानले दिएको वक्तव्य तथा अतिकम विकसित मुलुकहरुको तर्फबाट लेसेथोले दिएको वक्तव्यसँग म आफ्नो वक्तव्यलाई आबद्ध गर्न चाहन्छु । उनीहरुले जोड दिएअनुसार हाम्रो बाँच्न पाउने तथा विकाससम्बन्धी सम्पूर्ण अधिकारहरु संरक्षित गर्दै सहस्राब्दी विकास लक्ष्य प्राप्तिका हाम्रा प्रयासहरुलाई दोब्बर गर्नु आवश्यक छ । रोग, गरिबी र अशिक्षाबाट मुक्ति पाउने अल्पविकसित मुलुकका जनताहरुको चाहना पूरा गर्न थप विश्व ऐक्यबद्धता चाहिन्छ ।

सेता हिमाल, निला सागर एवम् निलो आकाशसहितको हाम्रो हराभरा धर्तीको सौन्दर्य र सौजन्यबाट हाम्रा वर्तमान र भावी सन्ततिहरुले फाइदा लिन सक्नेगरी हामी यो सम्मेलनलाई आशा र सफलताको एउटा कोसे ढुङ्गाका रुपमा सफल पार्न सकौं भन्ने कामना गर्दछु ।

December 15, 2009
Copenhegan, Denmark

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?