|
भारतको नेपालप्रतिको चासो बढ्दो |
|
|
|
|
Written by Sitaram Baral
|
|
Monday, 22 November 2010 14:23 |
|
काठमाडौ- नेपाल र नेपाली माओवादीप्रति अहिलेको भारतीय नीतिकाबारेमा भारतीय अधिकारीहरुले नेपालका राजनीतिक दलमा रहेका आफू निकटस्थहरुलाई खुलस्त रुपले बताउँदै सोहीअनुसारको वातावरण बनाइदिन आग्रह गर्न थालेका छन् ।
उनीहरुले भारतीय हितकालागि कुनैपनि हालतमा नेपाली माओवादीलाई सत्तामा पुग्न दिन नहुने, आगामी चुनावपनि माओवादीलाई विभाजन गराएरमात्र गरिनुपर्ने सुझाव दिएका छन् ।
दक्षिण एसियाका कतिपय देशमा स्थिरता भए पनि ती देशहरु विस्तारै चीनको प्रभावमा पुगेको र नेपालमा पनि विस्तारै उत्तरको प्रभाव पहिलेभन्दा बढी रहेको भारतीय विश्लेषण छ । 'त्यसैले, नेपाल अहिलेकै स्थितिबाट गुज्रँदा हामीलाई केही फरक पर्दैन, किनभने यस्तै अस्थिरताबाट नेपाल गुजि्ररह्यो भने बरु ४-५ वर्षभित्रमा हामी यहाँ आफ्नो स्थिति सुधार्न सक्छौं' नेपालसम्बन्धी नीति निर्माणमा संलग्नहरुको भनाई उद्धृत गर्दै श्रोतले भन्यो- 'स्थिर, तर चीनको प्रभावमा रहेको नेपालभन्दा बरु अहिलेकै स्थिति ठीक छ, किनभने अहिलेको स्थिरताबाट हामीले फाइदा उठाउनसक्ने स्थिति छैन ।'
माओवादी बहुमतका कारण भारतले संविधान सभाको निरन्तरता २०६७ जेठ १४ पछि चाहेको थिएन । तर राजनीतिक दलहरुबीचको सहमतिका कारण संविधान सभाको म्याद थपिएको थियो । 'संविधान सभाको म्याद नथपिँदा जुन अनुकुलको स्थिति हाम्रालागि हुन्छ भन्ने सोचेका थियौं, म्याद थपिँदा पनि ५-६ महिनाको यो अवधि हाम्रालागि अनुकुल नै भएको छ' ती भारतीयहरुले भन्ने गरेका छन्- 'आगामी जेठ १४ गतेसम्म यो स्थिति लम्बिरहँदा हामीलाई फाइदा हुन्छ, तर त्यसबीचमा माओवादी नेतृत्वमा सरकार बन्ने स्थितिचाँही नबनोस् ।'
माओवादी नेतृत्वमा सरकार नबन्ने परिस्थिति आफ्नो भूमिकाकाकारण बनेको दाबी गर्दै उनीहरुले अब पनि यो स्थिति निर्माणकालागि आफूहरुले प्रयास गरिरहने जनाउ दिएका छन् । 'हामीले राष्ट्रपतिले माओवादीलाई सरकारको नेतृत्वकालागि आह्वान गर्न नपरोस् भन्ने परिस्थिति निर्माण गरी उहाँलाई पनि सजिलो पारिदिएका छौं' उनीहरुको भनाइ हुने गरेको छ- 'यसकालागि तपाईंहरु सबैले सहयोग गर्नुपर्छ ।'
भारतले प्रमकालागि आफ्नो अनुकुल हुने सोचेका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल भएपनि यतिबेला उसले पौडेललाई सहमतिमा प्रधानमन्त्री भएको भन्दा 'कामचलाउ' नै भए पनि माधव नेपालकै सरकारले निरन्तरता पाएको हेर्न चाहेको श्रोतले बतायो । 'माओवादी त हाम्रो विरोधी भैगयो, झलनाथ खनालका कारण एमाले पनि हाम्रो पक्षमा रहेन, पौडेल प्रधानमन्त्री त्यो स्थितिमा हुन्छन्, जतिबेला तीन ठूला राजनीतिक दलहरुबीच प्याकेजमा सहमति हुन्छ' श्रोतले भारतीयहरुको भनाइ उद्धृत गर्दै भन्यो- 'एमालेसमेत माओवादीसँग नजिक भएको स्थितिमा पौडेललाई प्रधानमन्त्री बनाउन कुनै सहमति भयो भने त्यो सहमतिमा माओवादीकै हात माथि पर्छ, योभन्दा त बरु अहिलेकै सरकारको निरन्तरता जायज छ ।'
संविधान सभाको म्याद सकिन अब ६ महिना पनि बाँकी नरहेको स्थितिमा स्थितिबारे भारतीय नीति निर्माताहरुले ध्यान दिन थालिसकेको बताइएको छ । आगामी जेठ १४ वरपरको समयमा माओवादी अहिलेभन्दा उग्र हुने र उस्तै परे जनविद्रोहकोसमेत घोषणा गर्ने हुनाले भारतले प्रधानमन्त्रीकालागि कांग्रेस र एमालेका माधव नेपाल-ओली पक्षभन्दा अन्य 'बोल्ड' नेताहरुको खोजी थालिसकेको छ । त्यसकालागि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई सबैभन्दा उपयुक्त पात्रका रुपमा भारतले ल्याएको श्रोतको कथन छ ।
श्रोतकाअनुसार, यसबीचमा थापाले भेटघाटलाई पनि तीव्र पार्नुको कारण यही हो । पछिल्लो समयमा चलाएको भेटघाटमा थापाले राष्ट्रपति शासन वा माओवादी विद्रोहको प्रसंग उठ्ता 'यी कठिन स्थितिहरुकालागिपनि संसदवादी दलहरु मानसिक रुपले तैयार भएर बस्नुपर्ने' बताउन थालेका छन् । 'राष्ट्रपति शासनकालागि पनि हामी तयार हुनुपर्छ' उनले भन्ने गरेका छन्- 'माओवादी हामीले भनेअनुसार सहमतिमा नआए उनीहरुलाई दमन गरेर जानेबारे पनि हामीले तैयारी थाल्नुपर्छ ।'
-Sitaram Baral in Kathmandu
|
Comments