Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बु चासोक तङ्नामको अबसरमा लिम्बुवानी एकताको कामना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Wednesday, 22 December 2010 02:20

ललितपुर- आदिवासी किरात लिम्बूहरुको महान चाड चासोक तङ्नाम ५०७० को शुभकामना कार्यक्रम संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क समितिको आयोजनाम चुम्लुङहिम ललितपुरमा विविध साँस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान-प्रदान गर्दै सम्पन्न भएको छ ।

सबै जातिको आ-आफ्नै चाडहरु भएझैं नेपालका आदिवासी जनजातिको मुख्य चाडहरु उँभौली हिउँद याममा पर्दछन् । यीमध्ये किरात लिम्बूको उँधौली- चासोक, राईको साकेवा, याक्खाको चासुवा र सुनुवारको फोलष्याँदर मुख्य हुन् ।

लिम्बू जातिको चासोक तङ्नाम हरेक वर्ष नयाँ अन्नबाली धान, मकै, कोदो आदि पाकेपछि त्यसमा साथदिने ईष्टदेव तागेरा निङ्वाफुमाङ, युमा साम्माङ, प्रकृति- हावा, पानी, आगो र कृषि औजार आदिलाई कृतज्ञता प्रकट गर्दै तिनैलाई पहिले चढाएरमात्र खान-पिउनलाई अनुमति माग्ने चाड हो । यो चाड प्रत्येक परिवारले आ-आफ्नै घरघरमा र सामुहिक रुपमा कुनै ऐतिहासिक-धामिर्कस्थल, डाँडापाखा वा मठमन्दिर, माङ्हिममा भेला भई विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिन्छ । अहिले मङ्सिरे पूर्णिमाको अवसरमा मानिने यो चाड पहिले पुर्खाहरुले पैयूको फूल (उम्भुङ्) फुलेपछि उँधौली लागेको सङ्केत पाई यो चाड मनाउँदथे ।

संघीय लिम्बुवान राज्य परिषद् मञ्च सम्बद्ध उपत्यका सम्पर्क समितिका अध्यक्ष तथा परिषदका केन्द्रीय सदस्य क्या. शिवकुमार पाङ्गेनहाङको अध्यक्षता सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' रहेका थिए ।

लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष अर्जुन नूगो लिम्बू विशिष्ट अतिथिकारुपमा रहेको यस कार्यक्रममा विभिन्न जातीय संघसंस्था र राजनीतिक सङ्गठन- तामाङसालीङ र खम्बुवानका प्रतिनिधिसमेत अतिथिको रुपमा उपस्थित भएका थिए ।

विशेषगरी, लिम्बू बुद्धिजिवी, विद्यार्थी, भूतपूर्व प्रशासकहरुको समेत उपस्थिति रहेको सय कार्यक्रममा विभिन्न लिम्बू संस्कृतिमुलक लिम्बू गीत र लिम्बुवानी नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा लिम्बुवानका वरिष्ट गायिका मनु नेम्बाङ, कमला आङ्बुहाङ, भवनीवीक्रम सम्बाहाङ्फे र सुसन लिम्बू फक्ताङलुङ साँस्कृतिक सयङको तर्फबाट उपस्थित भई विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी, आदिवासी सङ्गीतकार अशोक लोहोरुङ राई, गायिकाहरु सीता सिङ्गक, लीला राई र गायक महेन्द्र राईलेसमेत लिम्बुवानी गीतहरु प्रस्तुत गरेका थिए । चुम्लुङले लिम्बुवान अभियान सचालन गर्दा तयार गरेको राजकुमार यक्सोद्वारा रचित गीत "मुट्ठी माटो उठाई अर्पिदिन्छौं ज्यान, हामीलाई प्यारो लाग्छ हाम्रो लिम्बुवान" बोलको गीत र जय लिम्बुवान फिल्मको गीत "अरुणपूर्व मेचिवारि सबै सबै माटोको नाम लिम्बुवान" बोलको गीतमा लिम्बुवान साँस्कृतिक परिषदकोतर्फबाट नृत्य तयार गरी कार्यक्रममा प्रस्तुत गरिएको थियो । यी दुबै गीतमा कलाकार रवि सेर्माले कोरियाग्राफिक निर्देशन गरेका थिए ।

लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क समितिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य विष्णु यक्सोद्वारा स्वायगत मन्तव्य र कार्यक्रमको औचित्यबारे प्रष्ट गरी प्रमुख अतिथि कुमार लिङदेन 'मिराक'ले लिम्बुवानी शहीदहरु माङ्तोक र मनिलसँगै राखिएको एकजोर दियो कलसमा दीप प्रज्वलन गरेर चासोक शुभकामना कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले लिम्बुवानको आन्दोलन लिम्बुवानमा मात्र छ कि भन्ने भ्रमलाई चिर्न र यसको प्रभाव उपत्यकावासीमा पनि पुर्याउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । प्रमुख अथिति लिङदेनले  भौतिक रुपमा लिम्बुवान अवश्य एकदिने आउँछ तर त्योभन्दा पहिले लिम्बुवानावासीको दिमाग, मन, र आत्मा लिम्बुवान आउनु पर्ने वा ल्याउने पर्ने बताए । त्यस्तै, लिम्बुवान आन्दोलनमा लाग्नेले आफू व्यक्तिगत रुपमा उठ्न वा ठूलो हुनकोलागि आफ्नो समुदाय र अस्तित्वलाई नमार्ने वा मर्न नदिने अठोट लिनुपर्ने विचारसमेत लिङ्देनले राख्नु भयो । साथै, भोलि लिम्बुवानको विरुद्धमा सबै एकात्मक पार्टीहरु एक हुन सक्छन् । त्यतिखेर, उनीहरुका विरुद्ध बन्दुक बोक्नेबाहेकको सबै काम कार्वाही गर्न लिम्बुवानवासीहरु एकहुनु पर्ने कुरामा समेत जोड दिनुभयो । भोलिको लिम्बुवानमा सजिलो अफिसियल कामहरु सबै महिलालाई र पुरुषहरुलाई विकास निर्माणका काममा लगाउने प्रतिवद्धतासमेत जनाउनु भयो । त्यसैगरी, अहिलेदेखि नै लिम्बुवानी नयाँ पुस्तालाई लिम्बुवानबारे र लिम्बुवानकालागि स्कुलिङ गर्नुपर्ने सानै उमेरबाट लिम्बुवानी, खम्बुवानी, तामाङ्सालीङका नानीहरुलाई आफ्नो पहिचान, अस्तित्व र भूमिबारे स्कुलिङ गर्नुपर्नेसमेत प्रमुख अतिथि कुमार लिङ्देनले सुझाव दिनुभयो ।

चासोक तङनामको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूले चुम्लुङले अभियानको रुपमा सञ्चालन गरेको चासोक तङ्नामको अवसरमा राजनीतिक आन्दोलनमा रहेका सङ्गठनले पनि यसरी चासोक तङ्नामको अवसरमा कार्यक्रम आयोजना गरेर चुम्लुङले चालेको अभियानमासाथ दिएकोमा खुशी व्यक्त गर्नुभयो । यो चाडको अवसरमा १ दिनमात्र नभएर ३ दिन विदा हुनुपर्ने, यो एकात्मक सरकारबाट त्यो सम्भव नभए पनि पछि लिम्बुवान भएपछि सो व्यवस्था गर्नुपर्ने विचार अध्यक्ष नुगोले राख्नु भयो । त्यसैगरी, अहिले चासोक चाड मान्यताको रुपमा स्थापित भएको र भोलि व्यवहारिक रुपमा यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने विचारसमेत राख्नु भयो । राजनीतिक रुपमा लिम्बुवानमा उठेका विभिन्न विचारहरुलाई स्वभाविक रुपमा लिएर त्यसलाई समायोजन गरेर लानुपर्ने तथा काम गर्दा होस र जोसलाई सन्तुलन गरेर जानुपर्ने सुझाव पनि विशेष अतिथि अर्जुन नुगोले दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्पफे नेपालमा महिलाहरुलाई स्थान दिन भारतबाटसमेत शिक्षा लिनु पर्ने बताउनु भयो । अर्का अतिथि मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्टले अहिलेको संघीयवादी आन्दोलनलाई नेतृत्व गर्दै यसरी सामाजिक-साँस्कृतिक रुपमै नेतृत्व गरेकोमा सराहना गर्दै यसलाई निरन्तरता दिन लिम्बुवान, यसका नेतृत्वलाई शुभकामना दिँदै तामाङसालीङले पनि सक्दो आन्दोलन उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

मञ्चका महासचिव खगेन्द्र माखिमले मञ्चले नेतृत्व गरेको आदिवासी जनजातिको राजनीतिक आन्दोलनको प्रवृत्ति र प्रकृतिलाई प्रष्ट्याउँदै आफूले भर्खरै इथोपियामा सम्पन्न संघीयवादीहरुको सम्मेलनमा सहभागी भएर सिकेका अनुभवहरु सेयर गरेका थिए ।

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका महासचिव सूर्य माखिमले लिम्बुवानमा मोर्चावन्दी, कार्यगत एकता र एकीकरणको प्रयास भइरहेको जानकारी गराउँदै अब नैतिक समर्थन, ऐक्यवद्धता र शुभेच्छाले मात्र नपुग्ने मोडमा लिम्बुवान आन्दोलन पुगेकाले देश विदेशमा रहेका सबै शुभेच्छुकहरुलाई सङ्गठनमै सङ्गठित भएर लाग्न आग्रहर गरे ।

अर्का महासचिव तथा लिम्बुवान भोलेन्टियस्रका केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङले पार्टीको आदेशमा एलभीहरु जस्तोसुकै चुनौती मोलेर लड्न र भिड्नसमेत तयार रहेको जानकारी गराउनु भयो । यसरी नै उक्त कार्यक्रमलाई लिम्बुवानका सचिवालय सदस्य विशेन्द्र चेम्जोङ, सचिवालय सदस्य तथा एलभी कमिसार प्रेमदीप थाम्सुहाङ, संघीय विद्यार्थी युनियनका महासचिव लाहाङ चेम्जोङ, संघीय धिमाल स्वायत्त परिषदका महासिचव केदार धिमाल, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष नविन वेनम र लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष प्रेम येक्तेलले समेत सम्बोधन गर्दै शुभकामन व्यक्त गर्नुभएको थियो ।

चासोकको शुभकामना कार्ड र लिम्बुवानको अपील पर्चा पत्र-पत्रिकासमेत वितरण गर्दै चियापानसहित सम्पन्न भएको यस कार्यक्रमको उद्घोषण मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क समितिका सचिव पदम तुम्बाहाङफेले गरेका थिए ।

-DB Angbung Limbu in Lalitpur

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?