Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

खम्बुवान र लिम्बुवानको साँध सीमानाको बिबाद र समाधान के हो? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Bir Nembang   
Monday, 14 December 2009 02:41

माओवादी नेता गोपाल खम्बुको दाबीलाई लिम्बुवानी नेता वीर नेम्बाङको चुनौती
बिशेष टिप्पणी: इतिहासतः हजारौं वर्षदेखि लिम्बुवान र खम्बुवान छुट्टाछुट्टै राष्ट्रको रुपमा रहेका थिए । लिम्बूहरू लिम्बुवानमा र खम्बूहरू खम्बुवानमा बसेावास गर्दथे । यद्यपि, यिनले सधैँ एकले अर्काको राष्ट्रिय अस्मितालाई सम्मान गर्दथे । यही कारण कहिल्यै लिम्बुवान र खम्बुवानबीच सीमा विवाद भएन ।


किन्तु, सन् १९९३ मा खम्बुवान राष्ट्रिय मोर्चा -खरामो) का अध्यक्ष गोपाल खम्बूले आठप्रे (आठपहरीया), मेवाहाङ, याम्फू, याक्खा-देवान), लोहोरुङ आदि जाति पनि खम्बू हुन् र उनीहरूले बसोबास गरेका लिम्बुवानको तमोर नदीसम्मको भू-भाग खम्बुवान भूमि हो भनी दावी गरेर लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्काउन खोजेका थिए । अपितु, याम्फू, लोहोरुङ, याक्खा, आठप्रे र मेवाहाङलाई खम्बू जाति नाम र खम्बुवान भूमि स्वीकार्य भएन । जसले गर्दा तिनताका लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्किन पाएन ।

जब गोपाल खम्बूले नेपालका शासकहरूद्वारा लिम्बू, खम्बू, याक्खा, लोहोरुङ, मेवाहाङ, आठप्रे, र याम्फूलाई समग्रमा किराती समुदाय भनी सम्बोधन गरिएको ऐतिहासक तथ्य फेला पारे तब उनी रातारात गोपाल खम्बूबाट गोपाल किराती भए । र, उनले उल्लेखित जातिहरूको निम्ति खम्बू जाति नाम र खम्बुवान भूमि स्वीकार्य नभए तापनि तिनलाई किरात जाति नाम र किरात भूमि त स्वीकार्य होला भन्ने दिलासामा सिङ्गो लिम्बुवानलाई किरात भूमि दावी गर्न थाले । अन्ततः गोपाल किराती सिङ्गो लिम्बुवानलाई नै किरात भूमि बनाइ छाड्ने अठोटका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरे ।

 

Bir Nembang. Photo courtesy: DB Angbung


यसरी गोपाल किरातीले खम्बुवान भूमिको मुद्दालाई छाडे तापनि भूमि साम्पाङलगायतले उक्त मुद्दालाई छाडेनन् । अपितु, किराती र साम्पाङको लिम्बुवानलाई हेर्ने दृष्टिकोणमा तात्विक पार्थक्य देखिएन । किनकि, भूमि साम्पाङले गोपाल किरातीभन्दा दुइ कदम अगाडि बढेर लिम्बुवानको चारकोशे उत्तर र सेउतीखोला पश्चिमको सुनसरी जिल्लालाई समेत खम्बुवान भूमि हो भनी दावी गर्नुका साथै लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्काएका छन् । '.....आधुनिक खम्बुवानका लागि हालको तामाकोशी पूर्वका दोलखा, रामेछाप, कमला पूर्वको सिन्धुली, चारकोशे उत्तरको उदयपुर, चारकोशे उत्तर र सेउती पश्चिमको सुनसरी, लेउती खोला पश्चिमको धनकुटाको भूभाग र सङ्खुवासभा, सोलुखुम्बू, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुर जिल्लाको सम्पूर्ण भूमि हुनेछ ।'1

लिम्बुवान र खम्बुवानको सीमासम्बन्धी ईतिहासमा के लेखिएकोछ?

यस सन्दर्भमा लिम्बुवान र खम्बुवानको सीमासम्बन्धी इमानसिंह चेम्जङ र खुसेन्द्र र्राईको लिखतलाई उद्धृत गर्दा असान्दर्भिक नहोला । चेम्जङको लिखतमा उल्लेख छ- '......प्राचीनकालमा यो एउटै देश थियो तर पनिर् इशा मसिहको मृत्यु भएको ६ सयवर्षपछि यिनीहरूको आपसमा झै-झगडा भएपछि यो देश दुइ भागमा विभक्त भयो । एउटा भागलाई लिम्बुवान र अर्को भागलाई खम्बुवान भने । दूधकोशी नदीको पूर्व र टिष्टा नदीको पश्चिम भूभागलाई लिम्बुवान तथा काठमाडौं उपत्यकादेखि पूर्व र दूधकोशी नदी पश्चिमको भूभाग खम्बुवान कहलायो ।'2

अनि राइको लिखतमा उल्लेख छ '...राइहरूको समूहलाई मात्र किरात भनिन्छ भने आज राइहरू अनि लिम्बूहरूलाई एकसाथ किरात भन्ने गरिन्छ । राइहरूको किपट नेपालको सुनकोशी नदी र लिखू नदीबीचको भूभाग जसलाई माझ किरात वा खम्बुवान भनिन्छ त्यसलाई भनिएको छ । त्यस्तै लिम्बूहरूको किपट अरुणनदीदेखि लिएर नेपालको पूर्वीय सीमानासम्मलाई मानिएको छ जसलाई पल्लो किरात वा लिम्बुवान पनि भनिन्छ ।3 उपर्युक्त दुइ लिखतबाट भूमि साम्पाङको खम्बुवानको पूर्वी सीमा सेउती खोला हो भन्ने दावी स्वतः खारेज हुन्छ ।

राजा पृथ्वीनारायण शाह एक क्रूर शासक थिए

नेपालका राजा पृथ्वी नारायण शाह एक क्रूर शासक थिए । त्यसैले, उनले खम्बुवानमाथि विजय प्राप्त गर्ने वित्तिकै त्यहाँ नर संहारको ताण्डव मच्चाए । यस सम्बन्धमा बी. एच. हडसनको हवाला दिँदै डा. रमेश ढुङ्गेल लेख्दछन्,- 'हडसनको संकलनमा प्राप्त सामग्री अनुसार गोर्खा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू किरातीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा र बालक सन्तानलाई समेत गार्खालीले मारिदिएका थिए । यतिसम्म कि, पुरुष सन्तान जन्माउने आशङ्कामा आइमाईको गर्भसमेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चासमेत स्रोतमा परेको छ ।'4

यसरी पृथ्वीनारायण शाहले बिजित खम्बुवानमा क्रूरतापूर्वक नरसंहार गर्न थालेपछि खम्बूहरूमा भागाभाग भएको थियो । परन्तु, खम्बुवान पश्चिमका अधिकांश भूभाग पृथ्वी नारायण शाहको कब्जामा परिसकेकोले खम्बूहरू खम्बुवान पश्चिमतिर भाग्ने प्रश्नै उठ्दैनथ्यो । त्यसैले, उनीहरू खम्बुवान पूर्वको लिम्बुवानतिरै भागे । यस सम्बन्धमा लामो समयदेखि पृथ्वीनारायण शाहको कोपभाजनबाट बच्न खम्बुवानबाट भागेर लिम्बुवानमा आएका खम्बूहरूमाथि अनुसन्धान गर्दै आएका सेसेमी से नाल्बो भन्दछन्,- अझै लिम्बू बुढापाकाहरूको किम्वदन्तीको रुपमा रहिरहेको छ- 'अ हो ! खम्बू दाजुभाइहरू, दिदी बहिनीहरू विजोग भएर कमिलाले आफ्नो फुल बोकेर बसाइँ सरेझैं खोकु छिन्ताङ- त्रिवेणीघाट हुदै ताँती-ताँती लागेर चुलाचुलीको डाँडै-डाँडा इलाम-दार्जिलिङ-भोटाङ पुगे ।' अझै कुनै कुनै ठाउँको लिम्बू बुढाबुढीहरू भन्छन् 'आम्माम्मै ! खम्बूहरू त आफ्नो बालबच्चा कुम्लो कुटाउरो बोकेर विजोग-विजोग भएर सिङ्सेबा 'बगाले बाँदर' जसरी लिम्बुवानको चुलाचुली पहाडको बाटो गरेर इलाम- दार्जिलिङ पुगे ।'5

लिम्बुवानमा खम्बुहरु यसरी प्रबेश गरे

केही दशकअघिसम्म भारतको अण्डमन र निकोबारझैं लिम्बुवानको तर्राई पनि औलो रोगको प्रकोपका कारण मानिसहरूको निम्ति बसोबासयोग्य थिएन । सन् ५० र ६० को दशकमा औंलो रोग उन्मूलन गरियो । र, लिम्बुवानको तराइलाई मानिसहरूको निम्ति बसोबासयोग्य बनाइयो । त्यसैक्रममा, सन् १९५३ मा धरानमा व्रिटिश सरकारलाई व्रिटिश रिक्रुटिङ डिपो राख्ने अनुमति दिइयो । तत्पश्चात, अधिकांश व्रिटिश सेनाबाट सेवानिवृत्त भएका खम्बुवानका खम्बूहरू लिम्बुवानको तराइमा बसोबास गर्न थाले । सन् १९६४ मा झापा-कञ्चनपुर-नवलपरासी पुनर्वास कम्पनीद्वारा तराइमा पुनर्वास गराउने क्रममा लिम्बुवानको तराइमा हजारौं खम्बुवानका खम्बूहरूको पुनर्वास गराइयो ।

यसरी तीनपटक गरेर ठूलो सङ्ख्यामा खम्बुवानका खम्बूहरू लिम्बुवानमा बसाइँ सरेका देखिन्छन् । यसमा पहिलो पटक बसाइँ सरेका खम्बूका सन्ताहरूले लिम्बुवानको राष्ट्रिय अस्मितालाई सम्मान गर्नुका साथै आफूहरूलाई लिम्बुवानवासी कहलाएका छन् । अपितु, दोस्रो र तेस्रोपटक बसाइँ सरेका खम्बूका सन्तानहरूचाहिँ लिम्बुवानको राष्ट्रिय अस्मितालाई सम्मान गर्न र आफूहरूलाई लिम्बुवानवासी कहलाउन हिच्किचाएका छन् । जसको प्रतिनिधित्व भूमि साम्पाङ प्रभृत्ति खम्बू युवाहरूले गर्दछन् । तिनको आग्रह छ- जहाँ जहाँ खम्बूहरू बसोबास गर्दछन्, त्यहाँ त्यहाँ खम्बुवान भूमि हो ।

लिम्बुवानबासीलाई खम्बुवान अस्विकार्य

यस सर्न्दर्भमा, गोपाल किरातीले सिङ्गो लिम्बुवानलाई किरात भूमि बनाउन असफल रहे तापनि उनी सङ्खुवासभा जिल्लालाई चाहिँ किरात भूमि बनाउन आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई सहमत गराउन सफल भएका छन् । र, हालै गोपाल किरातीले लिम्बुवानको संखुवासभा जिल्लासहित किरात गणराज्य घोषणा गरेर लिम्बुवान भूमिलाई अतिक्रमण गरेका छन् । परन्तु, उनले किराती समुदाय मानेका लिम्बू, खम्बू, लोहोरुङ, याम्फू, आठप्रे, याक्खा र मेवाहाङले किरात गणराज्यलाई स्वागत गरेनन् । यसबाट सङ्खुवासभा जिल्लाका रैथानेहरूरु उक्त जिल्लालाई किरात भूमि होइन, लिम्बुवान भूमि नै मान्दछन् भन्ने पुष्टि हुन्छ ।

Gopal Kirat. Photo: Santa Bagam

भारतको मणिपुरका कुकी र नागाको हालत नहोस्

अन्त्यमा, जसरी सयौंवर्षदेखि नेपालको लिम्बुवानका लिम्बू र खम्बू दाजुभाइको रुपमा बाँचेका छन् त्यसरी नै भारतको मणिपुरका कुकी र नागा पनि नङ-मासु भएर बसेका थिए । किन्तु, १९९३ मा नेशनल सोसलिष्ट काउन्सिल अफ् नागाल्याण्ड -मुइवाह समूह) समर्थक नागाहरूले मणिपुर राज्यको तामेङलङ, सेनापति, उखुल र चन्दैल जिल्ला नागाल्याण्ड राज्यको भूमि हो भनी दावी गरेर मणिपुर र नागाल्याण्डबीच सीमा विवाद चर्काए । साथै, तिनले उपर्युक्त जिल्लाका रैथाने कुकीहरूलाई पनि उच्छेद गरे । परिणामतः मणिपुरका कुकी र नागाबीच जातीय दङ्गा भड्कियो । उक्त दङ्गामा सयौं मानिस मारिएका थिए भने हजारौं मानिस विस्थापित भएका थिए ।

यस सन्दर्भमा भूमि साम्पाङले चारकोशे उत्तर र सेउती खोला पश्चिमको सुनसरी जिल्लालाई खम्बुवान भूमि दावी गर्न र गोपाल किरातीले तथाकथित किरात गणराज्यको नाममा सङ्खुवासभा जिल्लालाई अतिक्रमण गर्न नछाडे र तिनले उपर्युक्त जिल्लाबाट लिम्बूहरूलाई उच्छेद गरे मणिपुर र नागाल्याण्डबीच सीमा विवाद चर्किएझैं लिम्बुवान र खम्बुवानबीच पनि सीमा विवाद चर्किने र मणिपुरमा नङ-मासु भएर बसेका कुकी र नागाबीच जातीय दङ्गा भड्किए झैं लिम्बुवानमा दाजुभाइको रुपमा बाँचेका लिम्बू र खम्बूबीच पनि जातीय दङ्गा नभड्किएला भन्न सकिन्न।

-Bir Nembang in Limbuwan

सन्दर्भ सामग्रीः
१. भूमि साम्पाङ, जनआस्था साप्ताहिक, १६ जनवरी २००८, काठमाडौं
२. इमानसिंह चेम्जङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, सन् १९७४, दार्जिलिङ
३. खुसेन्द्र राइ, सुनचरी दैनिक, २१ डिसेम्बर, २००६, सिलगढी
४. डा. रमेश ढुङगेल, हिमालखबर पत्रिका, २८ फेब्रुअरी-१३ मार्च, २००६ काठमाडौं

५. सेसेमी से नाल्बो, चुम्लुङ मासिक, मार्च-अप्रिल, २००८, दमक

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?