Inside

All Time Top 50 News

नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 11 September 2013 20:27

"यस्तो पनि हुँदो रै'छ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरें मैले ।"

(स्वरः फत्तेमान, सङ्गीतः नातिकाजी, शब्दः यादव खरेल)
Special: 1 photo: काठमाडौं- नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला फत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आफूलाई स्थापित गरेका थिए ।

 



Late singer Fatteman Rajbhandari. Photo courtesy: Nai Prakashan

फत्तेमानको जन्म संवत् १९९३ साल मङ्सिर पूर्णिमामा काठमाडौँको पशुपति देवपत्तनमा भएको थियो । यिनका बाबु जितमान राजभण्डारी र आमा पूर्ण मायाका दुई छोरा र चार छोरीमध्ये यी कान्छा छोरा थिए । यिनका बाबु पनि सङ्गीतका सौखिन भएको हुँदा यिनले सानैदेखि गीत गाउने अवसर पाएका थिए । यिनका बाबु तबला बजाउँदै गीत गाउने गर्थे । त्यसैले बाबुसँगसँगै पशुपतिनाथको प्राङ्गणमा भजन गाउँदागाउँदै यी गायनमा समर्पित भए ।

फत्तेमानको स्वर मीठो भएका कारण मान्छेहरू त्यति बेलैदेखि यिनको भजन सुन्न मन पराउँथे । यी सात वर्षको उमेरदेखि नै यस बाटामा सक्रिय भएका थिए । बालकैदेखि पशुपतिनाथ मन्दिर परिसरमा हुने नित्य भजनमा यिनको सहभागिता निरन्तर जुटिरह्यो ।

फत्तेमान सानैदेखि गीत गायनको कार्य क्रम भनेपछि कान ठाडो पार्ने गर्थे । त्यसैले यिनी जहाँजहाँबाट साङ्गीतिक कार्य क्रमको निम्ता भेट्थे त्यहीँत्यहीँ पुग्ने गर्थे । यिनी मञ्चमा उभिएर गीत गाउन पाउँदा धेरै दङ्ग पर्थे । यिनको स्वर सुनेर दर्शकहरू पनि यिनीसँग झुम्म झुम्मिन्थे । यिनी सरल बेहोराले तिखारिएका सहज गायक थिए ।

फत्तेमान २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए । यी भजनमा नै मग्न भएका कारण यिनले सुरुमा रेडियो नेपालमा पनि भजन नै रिकर्ड गराएका थिए । तर पनि आफ्नो स्वरको कर्ण प्रियताका कारण यी बिस्तारै आधुनिक गायनमा पनि अग्रसर हुन थाले । यिनको आधुनिक गीतको पाइला छामेर नातिकाजीले यिनको खुबै तारिफ गरे । नातिकाजी फत्तेमानका प्रशंसक मात्र थिएनन् यिनका एउटा सल्लाहकार र निर्देशक पनि बने । त्यसैले नातिकाजीका थुप्रै सङ्गीतमा यिनले आफ्नो स्वर प्रदान गरे त्यसैगरी यिनका अर्का प्रशंसक हुन् शिवशङ्कर । यिनले शिवशङ्करका केही सङ्गीतमा पनि आफ्नो स्वराङ्कन गरे । यिनले विभिन्न गीतकार र सङ्गीतकारका जेजति गीत गाए ती गीतलाई प्रायः लोकप्रिय पनि बनाएः

"कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ती बालिएछ रात लामो पारिदिने ।"

(स्वरः फत्तेमान, सङ्गीतः शिवशङ्कर, शब्दः राममान तृषित)

राजा महेन्द्रले पनि फत्तेमान राजभण्डारीका स्वरको तारिफ गरे । फत्तेमानको स्वर सुनेर नेपालका ख्यातिप्राप्त गीतकारहरू पनि उनका पछि लागे । वास्तवमा फत्तेमान शब्द र सङ्गीत छामेर मात्र गीत गाउने गर्थे । त्यसैले उनका स्वरहरूले चाँडोभन्दा चाँडो परिचित हुने मौका पाएका थिए । उनी स्वरका एउटा सशक्त पण्डित थिए । नेपाली गायक सङ्गीतकारहरूका माझमा फत्तेमान एउटा उपमा गायक मानिन्छन् । उनी भद्र मात्र होइन इमान्दार पनि छन् । छिर्के हान्ने नेपाली संसारमा उनी एउटा बेग्लै मानवतावादी कलाकारमा देखापरेका छन् । त्यसैले उनलाई चिन्नेहरूले भन्छन् 'फत्तेमान बमभोले हुन् ।' उनको चाहना, महत्वाकांक्षा र इच्छा एउटै सङ्गीतयात्रा मात्रै मानिन्छ । उनी त्यसै सङ्गीतमा जति भिज्नु छ त्यति नै भिजे । त्यसैले उनी सङ्गीतकर्मीहरूसँग पनि त्यत्तिकै घुलमिल भएका छन्  ।

फत्तेमानले सुरुदेखि नातिकाजीसँग जति घनिष्ठता गाँसे, जीवनभरि नातिकाजीसँग उनी त्यत्तिकै आत्मीय पनि भए । त्यति मात्र होइन उनी नातिकाजीका सुखदुख पनि बने । नातिकाजीका मनका कुरा यदि बाहिर कतै गएका छन् भने ती कुराहरू धेरै जसो फत्तेमानकै कानमा पसेका छन् । वास्तवमा फत्तेमान भन्नु एउटा विशाल मनका भकारी मानिन्छन् ।

सानैदेखि फत्तेमानको सम्बन्ध नारायणगोपालसँग थियो । फत्तेमानको जोगीहरूसँगको हेलमेलले गर्दा उनलाई नारायणगोपालले महाराज भनेर बोलाउने गर्थे । नारायणगोपाल प्रायः फत्तेमानलाई भेट्न पशुपति नै पुग्ने गर्थे । नारायणगोपालले पनि किशोर अवस्थादेखि नै फत्तेमानको स्वरको प्रशंसा गरे । आखिर यी दुवै जनाको भावना पनि झन्नै एउटै भयो । त्यसैले यिनले नारायणगोपालको सङ्गीत पनि समाए । वास्तवमा २०३५-०३६ सालतिर नारायण-फत्तेका गीतले नेपाली साङ्गीतिक बगैँचामा एउटा नयाँ मोड स्थापित गरेका थिए । स्वर, सङ्गीत र शब्दहरू आआफ्ना ठाउँका उच्चस्तरीय प्रतिस्पर्धी भएका कारण फत्तेमानका गीत नेपाली जनमानसमा छिट्टै लोकप्रिय पनि भएका थिएः

"बनै खायो डढेलोले
मनै खायो त्यै मोरीको
पापी मायाले ।"

(स्वरः फत्तेमान, सङ्गीतः नारायणगोपाल, शब्दः कालीप्रसाद रिजाल)

फत्तेमानले २०१६ सालमा जमुना राजभण्डारीको सिउँदो सिँगारेका थिए, घाँटीमा पोते समर्पण गरेका थिए र हातका नारीमा छमछम बज्ने चुरा लगाइदिएका थिए । बिहेपछि उनको साङ्गीतिक वातावरण झनै विकसित भएको थियो । त्यसपछि उनी एकोहोरो सङ्गीत निर्माण गर्नमा जुट्न थाले । परिणामस्वरूप नेपाली साङ्गीतिक इतिहासमा उनका बीसवटा साङ्गीतिक धूनहरू प्राप्त हुन सके ।

फत्तेमान र जमुनाका पाँच जना सन्तान जन्मे । दुई भाइ छोरा रवीन्द्रमान र जितेन्द्रमान तथा तीन बहिनी छोरी तारा, जानकी र विनाका पिताका हैसियतले यिनले आर्थिक दायित्व पनि वहन गर्नै पर्‍यो। । तर नेपालमा कलाकारले साधनामा मात्रै बाँच्नु पर्दा उसले आफ्नी ८० वर्षीय आमालाई पनि खाली खुट्टा हिँडाउनुपर्छ र स्वास्नी छोराछोरीलाई भोकै राख्नुपर्छ । यस हिसाबमा फत्तेमानलाई दैवले साथ दिएको पाइन्छ । आफ्ना बाबुबाजेको सम्पत्तिमा आर्जित घरभाडा उठाएर उनी आफ्नो जीवनचक्र चलाइरहेका छन् । गीत गाएर चाहिँ उनले जति पैसा खर्च गरे त्यति पैसा उठाउन भने सकेनन् ।

फत्तेमान रेडियोमा पुगेको आठ वर्षमानै चर्चित भइसकेका थिए । २०२६ सालको कुरा हो, त्यसबेला रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा उनले पनि भाग लिएका थिए । 'यस्तो पनि हुँदो रै'छ जिन्दगीमा कैलेकैले' बोलको गीत गाएर उनी स्वरमा प्रथम भएका थिए । यो प्रतियोगिता उनको जीवनको प्रथम घटना थियो । सोबापत राजा महेन्द्रबाट उनले स्वर्ण पदक पनि प्राप्त गरेका थिए । त्यस घटनाले उनी झनै उत्साहित भए । राजाका बाहुलीबाट साङ्गीतिक पदक भिरेर उनी झन् झन् मीठामीठा गीत गाउँदै गए । उनको स्वरको चारैतिर सुवास छरिन थाल्यो ।

फत्तेमान बेलाबेला राजदरबार पुग्ने गर्थे । त्यहाँ गीत सुनाएपछि उनले राजा महेन्द्रबाट खर्च पनि पाउने गर्थे । वास्तवमा त्यो समय उनको स्वर्णिम युग थियो । उनी त्यही उत्साह र उमङ्गमा गायनको आरोहमा आफ्ना पाइला चलाइरहेका थिए ।

फत्तेमानको गायनको सक्रियतालाई छिन्नलता गुठीले पनि कदर गर्‍यो । त्यसैले यी २०५२ सालमा छिन्नलता पुरस्कारबाट सम्मानित भए । फत्तेमानको निरन्तर गायनयात्राको खबर राजदरबार पनि पुग्यो । त्यसैले २०५५ सालमा यी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भए । साथै यिनी वीरेन्द्रऐश्वर्य सेवापदकबाट पनि विभूषित भए । फत्तेमानको स्वरको धेरै ठाउँबाट कदर भयो । उनले ठाउँठाउँबाट सम्मान र अभिनन्दनपत्रहरू पाइरहे । उनको योगदानको चारैतिरबाट प्रशंसा भइरह्यो । ससाना सम्मान र विभूषणहरू पनि फत्तेमानकालागि झनै जोस भएर निस्के । उनी सादा, सरल र भद्र भएका कारण सानै चिज पनि यिनकालागि ठूलो हुन्थ्यो । त्यसैले मान्छेहरू भन्छन्ः 'फत्तेमान एउटा असल कलाकार हुन् ।' उनी फलको आशामा नफसी कर्ममा मात्रै जुटिरहे । परिणामस्वरूप उनले आफ्नो स्वरलाई बूढो हुनबाट वञ्चित गराउन कसरत गरिरहे । उनी एकोहोरो गायनमा मात्र आबद्ध भइरहे । २०५९ साल साउन २५ गते काठमाडौँको एउटा विशाल कार्यक्रममा उनले एकल गीतहरू गाएका थिए जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट पनि भएको थियो । सो कार्यक्रममा उनले आफ्नो जीवनको सिङ्गो गायनयात्राको सुकिलो परिचय दिएका थिए । त्यतिखेर उनले सारा श्रोतादर्शकबाट करतल तालीको स्वागत पाएका थिए । यसबेला उनको स्वर प्रशंसै प्रशंसाले भरिएको थियो, उनको गलाले नेपाली मनलाई छोइरहेको थियो-

"मर्न बरु गारो हुन्न, तिम्रो माया मार्न सकिनँ
०००
वसन्तको हरियाली फूलसँगै वैली जान्छ
नीलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ ।"

(स्वरः फत्तेमान, सङ्गीतः नातिकाजी, शब्दः तीर्थराज तुलाधर)

फत्तेमानलाई कार्यकारी प्राज्ञ हुने धेरै ठूलो धोको थियो । तर उनको कुर्कुच्चोमा पनि बान्न नसुहाउनेलाई दलबलबाट नेपाल सङ्गीत प्रज्ञा प्रतिष्ठानमा प्राज्ञकारुपमा भर्ना गरिएको पनि देखियो । २०७० साल भदौ २५ गते उनी स्वर्गीय भए । तर तिनै दलका नेताहरु फत्तेमान विशिष्ट गायक थिए भनेर अहिले भट्ट्याई रहेका छन् ।

-Narendraraj Prasai in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.