NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विक्रम संवतको प्रचलन कसरी शुरु भो? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dirgharaj Prasai   
Tuesday, 13 April 2010 00:11

Exclusive: काठमाडौं- बैशाख १ गते नयाँ बर्ष २०६७ विक्रम संवतको पहिलो दिन हो । विक्रम संवत् नेपालको आदि सम्वत् हो । यसले नेपालको सार्वभौम पहिचान दिन्छ ।


सबैभन्दा जेठो सम्बत

मेष संक्रान्तिभन्दा लगभग १५/१६ दिन अगाडि चैत्र शुक्ल प्रतिवदादेखि शक संवत् प्रारम्भ हुन्छ । शाके संवत् भन्दा विक्रम सम्वत् १३५ बर्ष जेठो छ भने विक्रम संवत् भन्दा नेपाल संवत् ९३६ बर्ष कान्छो छ । विक्रम संवत् र नेपाल संवत्को उठान नेपालमैं भएको हो । वैदिककालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन् गर्दै विक्रम संवत्मा तिथिहरु थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठयारो हुने भएकाले ज्योतिषहरुको सल्लाह र सुझावमा सजिलोको लागि चन्द्रशमशेरले तिथि र बारहरुमा कुनै तलमाथि नगरी बिक्रम सम्वत् १९६१ वैशाखदेखि मेष संकान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । तिथिहरु हराउने कहिले एकैदिन दुइटा तिथिहरु आइपर्ने हुनाले अरु संवत्हरुको दाँजोमा विक्रम संवत् व्यवहारिक हुनपुगेको हो ।

शनिवार सार्वजनिक विदा किन?

शनिवार सार्वजनिक विदा दिने चलन पनि उसैबेलादेखि चलेको हो । नेपाल सम्वत् र शक संवत्हरु अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरुका दिनहरु निर्धारण गरिएका हुन् । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ हुनासाथ वैशाख महिना शुरु हुन्छ ।

शक सम्वत् भारतमा कुशाण बंशी राजा कनिष्कको पालादेखि चलेको हो । विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा स्थापित भएको छ ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा 'राजा पृथ्वीनाराणको बंश गुह्येकाली र पशुपतिका दुइृ् पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' भनेर गौरवमय विक्रम सम्वत् उल्लेख गरेका थिए ।

नेपालको एकीकरण हुनुभन्दा अगाडि लिच्छवि राजा राघवदेवको पालादेखि प्रचलित भएको नेपाल संवत् मल्लकालभरी धेरै मात्रामा चलनचल्तीमा आएता पनि नेपालका साना राज्यहरु सबैमा विक्रम संवत्को पनि उत्तिकै प्रचलित थियो ।

लिच्छबी कालमा बिक्रम सम्बतको प्रचल्न

लिच्छवि शासनकालमा निर्मित हरिसिद्धी मंदिरमा विक्रम संवत् ७११ उल्लेख भएको बंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धीनाटक मन्चन भएको हरिसिद्धी उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ ।

मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह २०१८ मा प्रकाशित गराएका छन् ।

फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ ।

भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिम पट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्वत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नु भएको छ ।

राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय' मा उल्लेख गर्नुभएको छ ।

जंगबहादुरको मुलुकी ऐन र विक्रम संवत्

विक्रम संवत् नेपालको राष्ट्रि्य सम्वत्को रुपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी विक्रम संवत्नैं उल्लेख भएकोछ ।

तर कतिपय व्यक्तिहरुले विक्रम संवत् नेपालको संवत्नैं होइन भनेकाले यसबारेमा केही तथ्यहरु उजागार गरिनु पर्ने अत्यावश्यक छ ।

विक्रमादित्य राजा सम्वन्धमा श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौडयालबाट सम्पादित भाषा वंशावलीको अध्ययनबाट धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रसादको दक्षिण तर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भनेको छ ।

त्यस्तै काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाउमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको िकंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ति राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगी कासीमा विश्वनाथको मन्दिर स्थापना गरेको थियो भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ ।

योगी नरहरिनाथले भन्नु भएकोछ- 'श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः' भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजिसंहसान थियो भन्ने पाइन्छ भन्नु भएको छ ।

पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश शुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमि बर्मा विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखिनैं विक्रम संवत् सुरु भएको मानिन्छ ।

भारतीय खोजी

विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रमम संवत् ठहर्याएका थिए । त्यसैगरी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।'

यसैगरी, नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शकसंवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत् मानेका छन् ।

शक सम्वत् र बिक्रम सम्बतमा भ्रम?

तर कतिपय इतिहासकारहरुले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायण लगायत लिच्छवि शासनकालका सम्पूर्ण संवत् संवन्धित अभिलेखहरुलाई कार्तिकादि संवत् हुन् भन्दै शक सम्वत् भनेका छन् । यस्ले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ । किनकि शक संवत् कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक संवत्लाई जवरजस्त कार्तिकादि भन्न मिल्दैन । त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित संवतहरु विक्रम संवत्नै मानिन्छन् । यदि विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हुदो हो त त्यस्ता पराक्रमी राजा बारेमा केही न केही प्रमाणहरु त्यहाँ भेटिन्थे ।

ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरुले आफ्ना कृतिहरुमा उल्लेख गरेका छन् । समुन्द्रगुप्तको विषयमा प्रयागको शीलालेख प्रसिद्ध छ, शक संवत् उठान गर्ने कनिष्कको वारेमा पनि धेरै प्रमाणहरु पाइन्छन् भने विक्रमादित्य राजाको त्यसबेलामा अस्तित्व भएको भए कुनै न कुनै शीलालेख वा त्यसबेलाका कविहरुले लेखेका केही न केही प्रमाणहरु भेटिन्थे होलान् । तर त्यस्ता प्रमाणहरु केही पाइदैन ।

चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए । त्यसो भन्दैमा उनी नैं विक्रम संवतका प्रणेता थिएनन् र होइनन् ।

नेपालका लिच्छवि राजाहरुसँग मगदका गुप्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासंग वैवाहिक सम्वन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुरालॆ नेपालका लिच्छवि राजाहरुको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य' को उपाधि पनि अवलम्वन् गरिएको हुनसक्छ । तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम सम्वत् भारतबाटै उठान भएको थियो भन्न सकिदैन ।

इतिहास शिरोमणि बाबुराम आचार्यको ठहर

इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- 'जुन समय ई.पू. ५८ बर्षमा यो सम्वत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यससमयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।'

विक्रम संवत् नेपालको गौरवमय परिहचान

फलतः विक्रम संवत् हिमवतखण्ड नेपालको आदि र मौलिक संवत् भएकाले यस्ले युगयुगान्तरदेखि कुनै कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा नेपाल नपरेर सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा स्थापित भएको कुरा विक्रम संवत् नेपालको गौरवमय परिहचान हो । विक्रम संवत् २०६७ सालको नयाँ बर्षको उपलक्षमा स्वदेश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुखुमृद्धिको लागि शुभकामना ।

-Digharaj Prasai in Kathmandu

नोट: लेखक दीर्घराज प्रसाइ नेपालका पूर्व सांसद पनि हुन्।

Read related article from this author:

-Federalism and Secularism in Nepal: Suicidal Game

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?