Inside

All Time Top 50 News

सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको 'बेली' कथा सङ्ग्रहको चिरफार PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Gyanu Adhikari   
Monday, 14 May 2012 09:19

Special; 2 photos: काठमाडौं- अमेरिका बसाईलाई नजिकबाट नियाल्दै गरेकी युबा कथाकार नीलम कार्की 'निहारिका' को 'बेली' कथा सङ्ग्रह सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको सशक्त कृति हो । यस कृतिमा समाविष्ट कथाहरुले किनारीकृत अवस्थामा रहेका, आवाजविहीन भएका र आफ्नो शक्ति तथा पहुँच नभएका विभिन्न किसिमका बालबालिकाहरुका दयनीय र दुर्दान्त अवस्थाको चित्रण गरेका छन् ।


Neelam Karki 'Niharika' and her short-story book 'Beli'. Images courtesy: Neelam

१. परिचय

नीलम कार्की 'निहारिका' नेपाली साहित्यकी स्थापित स्रष्टा हुन् । कविता कथा र उपन्यास विधामा कलम चलाउने नीलमका हालसम्म नीलम कार्की 'निहारिका' का कविता (कविता सङ्ग्रह), मौन जीवन (उपन्यास) 'हवन कागजमा दस्तखत' र 'बेली' (कथा सङ्ग्रह) प्रकाशित छन् । कविता र आख्यानमा कलम चलाउने निहारिकाको कथाकार व्यक्तित्व साहित्यिक फाँटमा उच्च रहेको देखिन्छ ।

वर्तमान युगका मानिसले भोग्नुपरेका जटिलताहरुको सूक्ष्म विश्लेषण गरी कथा लेख्न रुचाउने नीलमका कथाहरुमा युगचेतनाको प्रतिबिम्ब पाइन्छ । खासगरी चरम गरिबीले दुःख पाएका मानिसहरु, नारी अस्मिता र नारी मनोविज्ञान तथा बालबालिकाहरुको जटिलता र विवशतालाई कथामा जीवन्तरुपमा प्रस्तुत गर्ने निहारिका एक संवेदनशील कथाकार हुन् । नीलमका अधिकांश कथाहरुले यथार्थको प्रकटीकरणका साथसाथै आफ्ना वैयक्तिक संवेदनाको अभिव्यक्ति पनि अभिब्यन्जित गरेको देखिन्छ । सामाजिक विषमता र विभिन्न क्षेत्रमा देखिएका मानवीय विकृति विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्ने नीलमका कथामा व्यङ्ग्यचेतना पनि सूक्ष्मरुपमा प्रस्तुत भएको देखिन्छ ।

बाल मनोविज्ञान र नारी मनोविज्ञानलाई मुख्यरुपमा आफ्नो कथाको विषयवस्तु बनाउन रुचाउने नीलमका कथामा नवीन भाषा शैली र प्रस्तुतिको प्रयोग पाइन्छ । परम्परागत कथालेखन परम्पराभन्दा भिन्न शैलीमा कथा लेख्ने यिनका कथामा विषयवस्तुगत वैविध्यता पाइनाकासाथै परिष्कृत र सम्प्रेषणीय भाषाको उत्कृष्ट प्रयोग पाइन्छ । नीलमका कथामा समाजका सीमान्तीकृत वर्गका मानिसहरुका जीवन भोगाइ, जटिलता र विवशताहरुलाई सूक्ष्मरुपमा चित्रण गरी विश्लेषण गरिएको पाइन्छ ।

२. सीमान्तीय चेतनाका दृष्टिले 'बेली' कथासङ्ग्रहको विश्लेषण

उत्तरआधुनिकताको बहुलताभित्र फस्टाउँदै गएको एउटा चिन्तन सीमान्तीकृत पनि हो । उत्तरआधुनिकताको विभिन्न कोणहरुमध्ये सीमान्तीकृत अवधारणा पछिल्लो समयका साहित्यिक रचनामा सचेतताकासाथ देखा पर्न थालेका छन् । सबै कुराबाट पछाडि परेका पिछडिएका दलित, जनजाति, अति बिपन्न, निमुखा बालबालिका र किनारीकृत वर्ग वा समुदायलाई सीमान्तीकृत भनिन्छ । अङ्ग्रेजी शब्द सवाल्टर्नको नेपाली रुपान्तर नै सीमान्तीकृत हो । राज्यको शक्तिसम्म आफ्नो आवाज पुर्याउन नसक्ने ठूलो भीडबाट विस्थापित भएका आवाजविहीन सीमान्तीकृतहरु परिवेश, परिस्थिति र समयअनुसार विविध प्रकारका हुन्छन् । राजनीतिक, सामाजिक, आर्थिक हरेक कोणबाट पछाडि परेका, आफ्ना हक र अधिकारकालागि सङ्गठित हुन नसकेका यस्ता सीमान्तीय वर्गहरुको जीवन र तिनका भोगाइहरुलाई साहित्यमा स्थान दिन थालिए पछि नै साहित्यमा सीमान्तीकृत साहित्य समालोचनाले प्रवेश पाएको देखिन्छ ।

नीलम कार्की 'निहारिका' को 'बेली' कथा सङ्ग्रह सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको सशक्त कृति हो । प्रस्तुत कृति बालमनोज्ञानमा केन्द्रित भए पनि यसले आवाज विहीन, सबै कुराले ठगिएका र विवश जिन्दगी भोग्न बाध्य निमुखा बालबालिकाहरुको जीवनको जटिलतालाई प्रस्तुत गरेको छ । बालबालिकाहरु शक्तिहीन हुन्छन् । उनीहरु शक्तिसम्पन्न आफूभन्दा ठूला र बुज्रुकहरुबाट शासित र प्रताडित हुन्छन्, त्यसैले उनीहरु समाजमा सीमान्तीकृत समुदायमा पर्ने र उनीहरुको आवाज निरीह बन्ने कुरालाई प्रस्तुत कृतिका कथाहरुले पुष्टि गरेका छन् । बालबालिकालाई आधारभूमि बनाई लेखिएको 'बेली' कथा सङ्ग्रह बालकथा होइन तर बालबालिकालाई केन्द्रमा राखेर उनीहरुको जीवन भोगाइ जटिलता र मनोविज्ञानलाई विषय बनाई लेखिएका कथाहरुको सँगालो हो । सम्पूर्ण कथाहरु बालबालिकामा नै केन्द्रित छन् । सीमान्तीकृत वर्गमाथि सम्पूर्णतः केन्द्रित प्रस्तुत कथा सङ्ग्रह समकालीन नेपाली साहित्यमा विकसित हुदै गरेको उत्तरआधुनिक चेतनाद्वारा अनुप्राणित कथा सङ्ग्रहकारुपमा देखिन्छ । यस कृतिमा समाविष्ट कथाहरुले किनारीकृत अवस्थामा रहेका, आवाजविहीन भएका र आफ्नो शक्ति तथा पहुँच नभएका विभिन्न किसिमका बालबालिकाहरुका दयनीय र दुर्दान्त अवस्थाको चित्रण गरेका छन् । 'बेली' कथा सङ्ग्रह भित्रका १८ वटा कथाहरुमा प्रयुक्त सीमान्तीकृत पात्र र सन्दर्भलाई यसप्रकार देखाइन्छ:

क्र.स.

कथा शीर्षक

सीमान्तीकृत पात्र

विषय सन्दर्भ

जन्मिन नपाएका नानीहरु

गर्भभित्रका नानीहरु

जन्मिन नपाउँदै गर्भपतनद्वारा हत्या गरिएका नानीहरुको कथा

 

खोटी खुसी

खुसी

जन्मिदै खोटी भएर हिँड्न नसक्ने अवस्थामा जन्मिएकी बालिका र उसले भोगेको अनुभूति

सेतो भात

सुक्रे

सेतो भात खान नपाएको गरिब बालक सुक्रे मिठो र पेटभरि खान पाउने आसमा गाउँ छोडेर सहर आएको सन्दर्भ

राजमार्ग छेउका भुराहरु

सामुहिक बालबालिका

पढ्ने उमेरमा राजमार्ग छेउका विभिन्न पसल र सडक छेउमा काम गरिरहेका श्रमिक बालबालिकाको दयनीय अवस्थाको चित्रण

उखुबारी

लोके र लोकेको भाइ

तल्लो जातको भनेर समाजले गरेको उपेक्षा र तिरस्कारपूर्ण व्यवहारबाट प्रताडित बालकको मनोदशाको चित्रण

बोर्डर साइटको बब्लु

बब्लु

पारिवारिक उत्तरदायित्व बोकेको तरकारी बेच्ने श्रमिक मुसलमान बालकको कारुणिक अवस्थाको चित्रण

धर्म छोरा

कल्याण

धर्मपुत्रका रुपमा विकट गाँउबाट ल्याइएको बालकलाईपछि आफ्नो बच्चा भइसकेपछि उपेक्षा गरेर फेरि फर्काइएको सन्दर्भ

जेल मान्छे

कर्म

जेलमा जन्मिएर जेलमै हुर्कदै गरेको बालक जो जन्मदै जेलको सजाय भोग्न बाध्य छ र सारा संसारबाट बेखवर रहेको सन्दर्भ

बेली

बेली

किशोर अवस्थामा पनि पुग्न नपाई यौन शोषणबाट पीडित बालिका र उसको यौन व्यापारको बाध्यात्मक स्थितिको चित्रण

१०

भाग्यमानी

आयुषा

अमेरिकाको सभ्य समाजमा जन्मिएर पनि आफ्ना अभिभावकको साथको अभावमा पीडित दुई वर्षे बालिकाको दुःखद अवस्थाको चित्रण

११

हिजोआज काठमाडौँमा

सामूहिक बालबालिका

 

बालबालिकाहरु हराउने वेपत्ता हुने र बेचिने कि्रयाकलापको सन्दर्भ

 

१२

चप्पल छिने के भो र यात्रा जारी छ

कच्चो गाइने

पढ्ने उमेरमा घर घर गीत गाएर माग्दै हिँड्छ र खानकालागि माग्दै हिड्ने बालकको जीवन भोगाइको सन्दर्भ

 

 

१३

वृत्तचित्र

सडक बालबालिका (सामूहिक)

काठमाडैंका सडक बालकहरुमाथि हुनेगरेको यौन शोषणको सन्दर्भ

 

१४

तेस्रो प्रश्न

आर्या

अमेरिकामा पढ्दै गरेकी किशोरीको मानसिक अवस्था, आफ्नोपनबाट टाढा भएको र यान्त्रिक जीवनबाट तड्पिएको अवस्थाको सन्दर्भ

१५

नसुनेको नाम

सम्भावना

राजनीतिक विकृतिको सिकार बनेकी र बाबु र आमाबाट टाढिएर अर्काका आश्रयमा बसेकी बालिकाको अनिश्चित भविष्यको सन्दर्भ

१६

कागजमा दस्तखत

बाबु

 

आमा र बाबाको डिभोस्रबाट एक्लिएको बालकको मानसिक पीडा र कि्रयाकलापको सन्दर्भ

 

१७

वनीता

वनीता

वोर्डिङ स्कुलको गाडीको खालासीबाट यौन दुव्र्यवहार सहन बाध्य एक किशोरीको दयनीय अवस्थाको चित्रण

१८

बुद्धवीर तामाङ

बुद्धवीर

गरिब तथा बिपन्न परिवारमा जन्मिएर कुपोषण र रतन्धोको सिकार भएको र अन्त्यमा आत्महत्या गर्न बाध्य भएको बालकको जीवन भोगाइको सन्दर्भ


माथि तालिकीकरण गरिएका पात्र र सन्दर्भहरुबाट के कुरा प्रस्ट हुन्छ भने प्रस्तुत कथा सङ्ग्रहमा सङ्कलित हरेक कथाका पात्रहरु वेवश, निरीह र शक्तिहीन छन् । उनीहरुको जीवन मूल धारबाट अलग्गिएर किनारीकृत हुन पुगेको छ । गाँउ-सहर, सम्पन्न-विपन्न, साना-ठूला, घरका-सडकका सबै क्षेत्रमा पछाडि परेका निमुखा बालबालिकाहरुको सबै किसिमका जटिलताहरुलाई प्रस्तुत सङ्ग्रहका कथाहरुले प्रतिनिधित्व गरेका छन् । यस सङ्ग्रहका कथाका बालपात्रहरुको अवस्था र स्थितिलाई निम्नानुसार देखाउन सकिन्छ:

१. अत्यन्तै गरिबी र विपन्नताको सिकार बनेका बालबालिकाहरु

२. वर्गीय र जातीय विभेदकारी सामाजिक कुसंस्कारका सिकार बनेका बालबालिकाहरु

३. यौन दुव्र्यवहार र यौन शोषणका सिकार बनेका बालबालिकाहरु

४. अभिभावकको गैरजिम्मेवारी र हेलचेक्रयाइको परिणाम भोग्न बाध्य बालबालिकाहरु

५. जीवनसङ्घर्ष गर्ने क्रममा श्रम शोषणको सिकार हुन पुगेका बालबालिकाहरु आदि ।

३. सिमान्तीकृत बालबालिकाहरुको पीडाजन्य भोगाइका विविध सन्दर्भहरु

प्रस्तुत कथास ङ्ग्रहका हरेक कथामा दुई वटा अन्तर्वस्तुहरु आन्तरिक र बाह्य विषयकारुपमा प्रस्तुत भएका छन् । कथाको बाह्य विषयकारुपमा सीमान्तीकृत बालबालिकाहरुको पीडाजन्य भोगाइको चित्रण गरिएको छ भने आन्तरिक विषयकारुपमा जीवनको जटिलताबाट गुज्रिएका बालबालिकाहरुका मनोविज्ञानको सूक्ष्म अध्ययन गरिएको छ । समाजबाट उपेक्षित तथा आफूभन्दा ठूला र शक्ति सम्पन्न वर्गहरुबाट प्रताडित बालबालिकाहरुको जीवनका विविध पक्ष र सन्दर्भलाई प्रस्तुत गरिएका यस सङ्ग्रहका कथाहरुलाई विषयवस्तुका आधारमा क्रमैसँग चर्चा गरिन्छ:

३.१. आर्थिक बिपन्नताका कारण उपेक्षित बालबालिका

आर्थिक बिपन्नताका कारण दयनीय अवस्थामा बाँचेका बालबालिकाहरुको मार्मिक चित्रण यस कथा सङ्ग्रहमा गरिएको छ । विशेषगरी, 'सेतो भात'को सुक्रे, 'चप्पल छिने के भो र यात्रा जारी छ'को कच्चो गाइने, 'बुद्धवीर तामाङ' को बुद्धवीर जस्ता बालपात्रहरु आर्थिक दूरावस्थाका कारण कठिन र सङ्घर्षमय जीवन बाँच्न बाध्य छन् । सुनौलो भविष्यको सपना बोकेर विद्यालय पढ्न जाने उमेरका यी बालकहरु बिहान बेलुकाका खानाकालागि सङ्घर्षरत छन् । कहिल्यै पनि पेटभरि सेतो भात खान नपाएको सुक्रे सहर गएपछि पेटभरि सेतोभात खान पाइने आसामा आफ्ना प्यारा अभिभावक, साथीसँगी र गाउँघर छाडेर समाजसेवी भनाउँदा बच्चा दलालीसँग सहर आउँछ र विदेशमा बेचिन्छ ।

यसैगरी, कच्चो गाइने कलिलै उमेरमा दुई छाक भातकालागि गाउँगाउँ चहार्दै गीत गाएर माग्न बाध्य हुन्छ । स्वतन्त्ररुपले खाने, खेल्ने, पढ्ने उमेरको कच्चो गाइने छिनेको चप्पल बोकेर कलेटी परेका ओठबाट आफ्नो कारुणिक जीवनकथा ओकल्दै दयनीय र उपेक्षित जीवन बिताउन बाध्य छ भने बुद्धवीर पनि गरिबीका कारण आत्महत्या गर्न विवश बालक हो । पर्याप्त मात्रामा पौष्टिक खाना खान नपाएको बुद्धवीर कुपोषण र रतन्धोबाट आक्रान्त भई अन्त्यमा विष खाएर आफूलाई नै समाप्त पार्न विवश हुन्छ । यसरी यी कथाहरुमा आर्थिक विपन्नता र गरिवीको पीडाले बालबालिको भविष्य अन्धकारतिर धकेलिदै गएको र उनीहरुको जीवन कष्टप्रद र जटिल बन्दै गएको कुरा यी सीमान्तीकृत बालपात्रहरुका माध्यमबाट अभिव्यक्त गरिएको छ ।

३.२. श्रमिक बालबालिकाहरुका पीडामय जीवन भोगाइ

प्रस्तुत सङ्ग्रहका कथामा प्रयुक्त प्रायः सबै बालपात्रहरु उपेक्षित र दयनीय अवस्थामा जीवन भोगिरहेका छन् । अत्यन्तै संवेदनशील र चिन्ताको विषय भएर पनि बालबालिकाहरुको बारेमा गम्भीर भएर राज्य समाज बौद्धिक वर्ग र अभिभावक कसैले पनि नसोचेको र त्यसतर्फ कोही पनि सकारात्मक हुन नसकेको हाम्रो समाजको यथार्थतालाई प्रस्तुत सङ्ग्रहका कथाहरुले स्पष्ट पारेका छन् ।

बालबालिकाहरुलाई देशको भविष्य मानेर भोलिका कर्णधार भनी भाषण र नारामा भन्ने गरिए पनि बिपन्न वर्गका र विकट ठाउँका बालबालिकाहरु पढ्ने र खेल्ने कलिलो उमेरमा विभिन्न श्रम पेसामा संलग्न हुन परेको बाध्यात्मक परिस्थितिलाई यहाँ प्रस्तुत गरिएको छ । यस सङ्ग्रहका कथाहरु मध्ये 'राजमार्ग छेउका भुराहरु' र 'वोर्डरसाइटको बब्लु' शीर्षकका दुई कथा बाल श्रमिक र उनीहरुको दयनीय अवस्थालाई विषयवस्तु बनाई लेखिएका कथाहरु हुन् । यी कथामा बालबालिकाहरुको श्रमलाई शोषणकारुपमा चित्रण नगरी यो उनीहरुको बाध्यता, जीवन जिउन गरिएको सङ्घर्षकारुपमा देखाइएको छ र बालबालिकाहरुलाई यस्तो बाध्यात्मक परिस्थिति सिर्जना गरिदिने कारक तत्व के हो भन्ने विषयमा पनि पाठकहरुलाई सोच्न बाध्य पारिएको छ । 'राजमार्ग छेउका भुराहरु' शीर्षकको कथामा सडक वरपर बग्रेल्ती देखा पर्ने श्रमिक बालबालिकाहरुको चित्रण गरिएको छ । बसको यात्रा गर्दा बाटो वरपर रहेका होटलमा भाडा माझ्ने, टेबुल सफा गर्ने, खाना ओसार्ने भुराहरुदेखि लिएर गाडीको सामान बोक्ने, खलासी काम गर्ने, पोलेको मकै, पानी, नरवल, चनाचटपट र अन्य बेचि हिँड्ने सम्पूर्ण श्रमिक बालबालिकाको चित्रण यस कथामा अत्यन्तै मार्मिक तरिकाले गरिएको छ ।

त्यसैगरी, दुई महिलासँगै टुलमा बस्ने (भाडा माझ्नकालागि ल्याइएकी बालिका), मालिकका कुकुरलाई नुहाइदिदा कुकुरले टोकेर घाइते भएको बालक श्यामे पनि यसकथामा देखा पर्ने श्रमिक बालपात्र हुन् । भर्खरै जीवनयात्राका पथमा पाइला चाल्दै गरेका यी कलिला केटाकेटीहरु शिक्षाको अवसरबाट बन्चित मात्र होइन सबैको उपेक्षा, तिरस्कार, गाली बेइज्जति तथा कामको बोझले लाटा निरीह र कमजोर बन्दै गएको अवस्थालाई पनि प्रस्तुत कथाले चित्रण गरेको छ । गाँस बास कपासकालागि सङ्घर्ष गरिरहेको बालबालिकाहरु शिक्षा, स्वास्थ्य, मनोराजनजस्ता आधारभूत कुराहरुबाटसमेत बन्चित रहेको यथार्थता यस कथामा प्रकट भएको छ ।

त्यसैगरी, 'बोर्डरसाइटको बब्लु' पनि श्रमिक बालककै जीवन भोगाइमा आधारित कथा हो । देशमा भएको जनयुद्धको परिणतिबाट आफ्नो बाबुले ज्यान गुमाएपछि तरकारी बेच्ने बाबुको पेसालाई अँगालेको बब्लु कापी किताब फालेर आफूभन्दा अग्लो साइकल र तरकारीको टोकरी समाउन बाध्य हुन्छ । तरकारी बेचेर छ/सात जनाको परिवार पाल्ने बब्लु मुसलमान बालक हो । कलिलै उमेरमा परिवार पाल्ने जिम्मेवारी काँधमा बोकेको बब्लु नेपाली समाजको प्रतिनिधि पात्र हो । ऊ राज्य र समाजबाट उपेक्षित छ । ऊ आफ्नो आवाज राज्यसत्तासम्म पुर्याउन सक्दैन र निर्धो जीवन बाँच्न बाध्य हुन्छ । यसरी बालअधिकार र बालसरोकारसँग सम्वन्धित विविध कार्यक्रम र योजनाहरु बन्दै गर्दा पनि बब्लुजस्ता बालकहरुले सीमान्तीकृत जीवन भोग्नुपरेको नेपाली समाजको यथार्थ चित्र यस कथाले प्रस्तुत गरेको छ ।

३.३. जटिल परिस्थिति र नियतिबाट प्रताडित बालबालिकाको चित्रण

प्रस्तुत कथा सङ्ग्रहमा सङ्गृहीत अधिकांश कथाहरुमा विभिन्न परिस्थिति र नियतिका कारण कारुणिक र दयनीय जीवन भोग्न बाध्य बालबालिकाहरुको विषम परिस्थितिको चित्रण गरिएको छ । विभिन्न सामाजिक विसङ्गति, विकृति र विभेदपूर्ण व्यवहारबाट भोलिको देश र समाज नराम्रोसँग प्रभावित हुने सम्भावनालाई पनि प्रस्तुत कथाहरुले सङ्केत गरेका छन् । निर्दोष हुँदाहुँदै पनि विना कसुर नै सबैभन्दा बढी सजायको भागिदार बालबालिका नै बन्नुपरेको तथ्यपरक यथार्थलाई कलात्मकरुपमा र प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्नु नै यस सङ्ग्रहका कथाहरुका प्रमुख विशेषता हो । 'जेल-मान्छे' शीर्षकको कथा त्यस्तैप्रकारको उत्कृष्ट कथा हो । आमासँगै कारावासको बन्दीजीवन भोगिरहेको ६ बर्शे बालक कर्म खुला संसार र स्वतन्त्र जीवनदेखि बेखबर छ । पढ्नु खेल्नु त परै जाओस् ऊ सरहका साथीहरु र पर्खाल बाहिरको सांसारिक चहलपहलबाट ऊ टाढै छ । हरेक नयाँ शब्द, नयाँ मान्छे र नयाँ कुराहरुबाट अनभिज्ञ ऊ सबैलाई प्रश्न गरेर सताउँछ र ऊ वास्तवमा राज्य, सरकार, समाज र कारवासमै पनि उपेक्षित देखिन्छ भने 'उखुबारी' शीर्षकको कथामा लोके र उसको सानो भाइ जातीय विभेदयुक्त सामाजिक कुसंस्कारको सिकार बनेका छन् । दमाइको छोरो भएकै कारणले लोके र लोकेको भाइ सबैबाट उपेक्षित बनेको देखिन्छ । उखु पेलेर खुदो बनाउने क्रममा आगोको नजिक गएको सानो भाइलाई समाउन अगेना नजिक गएको लोकेले चुलो छोएको आरोपमा सारा गाउँ नै आतङ्कित बनेको र उसलाई भयावह स्थितिमा राखी उपेक्षा गरेको दृश्यले बालबालिकामाथि हुने गरेको ज्यादती र उनीहरुको निरीहपनलाई चित्रण गरेको छ ।

यसैगरी, 'धर्म छोरा', 'भाग्यमानी' 'कागजमा दस्तखत' र 'तेस्रो प्रश्न' कथाले पनि विभिन्न परिस्थिति, नियतिहरुले बालबालिकाहरुको जीवनको जटिलताको दुर्दान्त चित्रण गरेका छन् । आफ्नो कोखबाट बच्चा नजन्मियुन्जेल अत्यन्तै प्यारो गरिएर पलिएको धर्मपुत्र कल्याण आफ्नो बच्चा जन्मिएपछि विस्तारै उपेक्षित हुँदै गएको एक परिवारको दृश्य यस कथामा देखाइएको छ । अबोध बालकलाई आफ्नो स्वार्थअनुसार पालिएको र व्यबहार गरिएको यथार्थलाई देखाइएको यस कथामा बालबालिकाहरु शक्ति र पहुँच भएका व्यक्तिहरुका खेलौना वस्तुकारुपमा प्रयोग भएको देखाइएको छ ।

यसैगरी, 'भाग्यमानी' र 'तेस्रो प्रश्न' कथामा नेपालबाहिर अर्थात् सभ्य र बालअधिकार सम्पन्न राष्ट्र अमेरिकामा नेपाली बालबालिकाले भोग्नुपरेको दुर्नियति र तितो यथार्थलाई प्रस्तुत गरिएको छ । अमेरिकामा जन्मन पाउनु, त्यहीँ बसेर पढ्ने र त्यहीँको नागरिक हुन पाउनुलाई भाग्य वा जीवनको सबैभन्दा ठूलो सफलता सम्झनेहरुकालागि यी कथाले व्यङ्ग्य गर्दै प्रश्न खडा गरेका छन् । सम्पन्नता, विभव र सुविधाहरु पाएर मात्र बालबालिकाहरु खुसी सुखी हुन सक्दैनन् भन्ने वास्तविकता बोध गराउँदै यी दुई कथाले अभिभावकको प्रेम, आत्मीयता, प्रोत्साहन र साथ नपाएका बच्चाहरु सबैभन्दा बढी पीडित हुन्छन् र उनीहरुको सबैभन्दा ठूलो आवश्यकता नै आफ्ना अभिभावकको सामीप्यता हो भन्ने कुरा अभिब्यन्जित गरेका छन् ।

यसैगरी, 'कागजमा दस्तखत' शीर्षकको कथाले आफ्नो बाबा आमाकाबीचमा भएको तनाव, खिचातानी, छोडपत्रजस्ता सन्दर्भहरुले बालबालिकाका मस्तिष्कमा गहिरो आघात पुग्न जाने कुरा देखाइएको छ । बाबा र आमाको डिभोस्र भइसकेपछि बाबाको सामीप्यता, प्रेम र प्रेरणाबाट बन्चित रहेको यस कथाको बालपात्र आमाको व्यस्तताको कारण सधैँ एक्लो महसुस गर्छ र आमासँग बढी गाँसिन खोज्छ तर आमाको पनि अन्तै विवाह भएको थाहा पाएपछि ऊ अत्यन्त मर्माहत भई होस्टेलको ढोका बन्द गरी आमासँग पनि आक्रोसित हुन्छ । आमा र बाबाको आआफ्नो व्यक्तिगत स्वार्थमा एउटा बालक कसरी पिल्सन्छ र प्रताडित हुन्छ भन्ने कुरालाई यस कथाले मार्मिकरुपमा प्रस्तुत गरेको छ । यसरी आफ्ना अभिभावकहरुको हेलचेक्रयाई, गैरजिम्मेवारीपन, विभिन्न नियति र दुर्नियतिको परिणाम र जटिल परिस्थितिहरुका सिकार बनेका आजका यी बालबालिकालाई सीमान्तीकृत पात्रकारुपमा यस कथा सङ्ग्रहमा चित्रण गरिएको छ ।

३.४. मानवीय विकृति विसङ्गतिका सिकार बनेका बालबालिकाको चित्रण

वर्तमान समाजमा देखिएका विभिन्न किसिमका मानवीय विकृति र विसङ्गतिहरुको असर सबैभन्दा पहिले बालबालिकामा नै परेको देखिन्छ । बालबालिका अबोध हुन्छन् । उनीहरुमा तर्कशीलता हुदैन । उनीहरु ठीक बेठीक छुट्याउन सक्दैनन् र विचार गर्ने क्षमता पनि हुदैन । त्यसैले उनीहरु जसले जे भन्यो त्यसैमा विश्वास गर्छन् र जसले जता लगायो त्यतै लाग्ने गर्छन् । प्रस्तुत सङ्ग्रहमा 'बेली', 'बृत्तचित्र', 'वनीता', 'हिजोआज काठमाडौमा' जस्ता कथाहरुमा समाजमा देखा परेका यस्तै विसङ्गतिका सिकार बनेका बाल पात्रहरुलाई प्रस्तुत गरिएको छ । समाजका विविध असङ्गति र विसङगतिहरु मध्ये पनि सबैभन्दा बढी विकराल बनेर देखा परेको यौन विसङ्गतिका कारण अधिकांशरुपमा पीडित बालबालिकाहरु नै हुने गरेका विविध घटना सन्दर्भहरु यस सङ्ग्रहका कथाहरुमा प्रस्तुत गरिएका छन् ।

यस सङ्ग्रहको शीर्षककारुपमा रहेको 'बेली' कथा यस सङ्ग्रहकै उत्कृष्ट कथा हो । यस कथामा नेपालीहरुको गरिबी अभिभावकको लाचारीपन, सहरी क्षेत्रमा बढ्दै गएको यौन दुराचार तथा विकृत परिवेश र ती सबैबाट पिल्सिएर दारुण र दुर्दान्त जीवन भोग्न बाध्य एक किशोरी बालिकाको अवस्थालाई चित्रण गरिएको छ । आजको शहरी परिवेशमा मानिस झनभन्दा झन् निच र निकृष्ट बन्दै गएको र स-साना बालिकाहरुलाईसमेत यौनका साधनकारुपमा प्रयोग गर्ने गरेको, विकृत र विदुप परिवेशको चित्रण यसमा गरिएको छ । आफूमाथि ज्यादती, अन्याय र क्रुर व्यवहार गरिँदा पनि चुपचाप सहेर बस्न बाध्य बेली यौन दुव्र्यवहार जस्तो मानवीय विकृतिको सिकार बनेकी छे भने 'वृत्तचित्र' त्यस्तै किसिमका सडक बालबालिकाहरुको कथा हो । खान र लाउन दिने प्रलोभनमा सडकका साना बालबालिकाहरुलाई यौन कि्रयाकलापमा सामेल गराई विदेशी पर्यटकहरुबाट पैसा धुत्ने होटेल साहु र तिनका सिकार बनेका सडक बालकहरुको कथाव्यथाको प्रस्तुति यसमा गरिएको छ । त्यस्तै,  'वनीता' पनि यौन विसङ्गतिकै पृष्ठभूमिमा लेखिएको कथा हो । यस कथाकी बालपात्र वनीता बोर्डिङ् स्कुल पढ्दै गरेकी बालिका हो । टाढाको स्कुल भएको हुँदा गाडीमा जानुपर्ने उसको बाध्यता गाडीको खलासीले गरेको यौनजन्य व्यवहार र कि्रयाकलापले त्रसित बालिकाको चित्रण यसमा गरिएको छ । डरले भित्रभित्रै पीडित हुँदै गएकी वनीता स्कुल जान नमानेपछि उल्टै घरका अभिभावकको गाली र पिटाइ सहन बाध्य हुन्छे । यसरी एकातिर स्कुल बसको खलासीले गरेको यौन दुव्र्यवहार र अर्कोतिर अभिभावकले दिएको ताडनाले बालिकालाई अत्यन्त मानसिक आघात पारेको यथार्थलाई यस कथाले पुष्टि गरेको छ । यसरी विविध विसङ्गत र विद्रुप अवस्थाबाट आजका बालबालिका निरीह र कमजोर बन्दै गएको वास्तविकतालाई यस सङ्ग्रहका कथाहरुले नवीन शैली र कलात्मक रुपमा प्रस्तुत गरेका छन् ।

समापन

एउटै विषयक्षेत्र भित्रका विविध समस्या र जटिलताहरुलाई सूक्ष्म रुपमा चित्रण गरिएको प्रस्तुत कथा सङ्ग्रहका कथाहरुमा प्रयुक्त विषयवस्तु केवल कथा मात्र होइनन् । यी वर्तमान नेपालको विविध रुप मध्येको एउटा रुपको प्रतिबिम्ब हो । मानिस क्रमशः व्यक्तिवादी बन्दै गएको छ र ऊ आफू र आफ्नो महत्वांकाक्षामा सीमित छ । यसको प्रत्यक्ष असर बेहोरिरहेको बालबालिकाहरुको निरीह अनुहार र निर्दोष आँखा कथाभरि छरपस्ट छन् । नीलमको कथाकारिताले सबैले सुन्ने गरी बोल्न नसक्ने, अथाह पीडालाई पोख्न नसक्ने, आफ्ना अधिकार माग्न नसक्ने अनि आफ्ना हक हितकालागि लड्न नसक्ने सीमान्तीकृत बालबालिकाहरुको यथार्थ चित्र प्रस्तुत गरेर हरेक पाठकको मनभित्र संवेदनायुक्त ग्लानी र आक्रोश उमारिदिने काम गरेको छ ।

-Gyanu Adhikari in Kathmandu

प्रमुख सन्दर्भ सूची:

अधिकारी, ज्ञानु, प्रायोगिक समालोचना केही प्रतिरुप, काठमाडौँ; भुँडीपुराण प्रकाशन, २०६७ ।
गौतम, लक्ष्मणप्रसाद, नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, काठमाडौँ; ओरिएन्टल प्रकाशन, २०६६
… र अधिकारी, ज्ञानु, नेपाली कथको इतिहास, काठमाडौँ; नेपाल प्रज्ञाप्रतिष्ठान, २०६९ ।
त्रिपाठी, गीता, कृतिविश्लेषणः प्रायोगिक आयाम, काठमाडौँ ; रत्नपुस्तक भण्डार, २०६७ ।
निहारिका, कार्की नीलम, बेली, काठमाडौँ ; रत्नपुस्तक भण्डार, २०६८ ।
भट्टराई, गोविन्दराज, उत्तरआधुनिक ऐना, काठमाडौँ ; रत्नपुस्तक भण्डार, २०६२ ।

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.