|
बिशेष समालोचना: न्यू योर्क- नेपाली डायस्पोराको लहरहरुमधे पहिलो लहर- धेरै बर्षअघि पूर्व सिक्किम तथा भूटानतर्फ भएको, दोश्रो लहर- सन् १८१५ मा ब्रिटिश लाहुरेहरुको भर्ती शुरु भएपछि दक्षिण एशियामा अवकाशप्राप्त व्यक्तिहरुको पुनर्वास भएको र तेश्रो लहर- सन् १९७० देखि यता विशेषत: जग्गा जमीनको अभाव भएकोले मजदुरवर्ग तथा बेकारी शिक्षित वर्ग काम र मामको खोजीमा तथा आफ्नो जीवन स्तर उकास्न विदेशिन वाध्य भएको देखिन्छ।
यही क्रममा www.usnepalonline.com को एक रिपोर्टअनुसार हाल सवा लाख नेपालीहरु उत्तर अमेरिकामा बसोवास गरिरहेका छन्। हालसालै तेश्रो विश्व बसोवास कार्यक्रम अन्तर्गत करिब साठी हजार नेपाली भुटानी शरणार्थीहरुलाई पनि संयुक्त राज्य अमेरिकामा बसोवास गराउने काम भइरहेको देखिन्छ।
अमेरिकामा नेपाली डायस्पोराको प्रसंग
कवि मोतिराम भट्टको १४४ औँ जन्मजयन्तिको उपलक्ष्यमा गत अगस्त १५ तारिख २००९ मा अमेरिकाको न्यूयोर्क शहरमा सम्पन्न भएको प्रथम अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा यस पङ्क्तीकारले पनि भाग लिएको थियो। नेपालबाट आउनुभएका ख्यातिप्राप्त समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टराईज्युद्वारा समुढ्घाटन भएको उक्त सम्मेलनमा विश्व तथा उत्तर अमेरिकामा भएको नेपाली डायस्पोरा साहित्य सम्बन्धी विभिन्न वरिस्ठ साहित्यकारहरुले प्रकाश पार्नुभएको थियो। सम्मेलनमा हाल अमेरिकामा बसोबास गरिरहनुभएका २२ जना नेपाली कविहरुद्वारा रचित "Across The Ocean" नामक अंग्रेजीमा लेखिएको कविता कृतिको पनि विमोचन भएको थियो।
सायद अंग्रेजीमा अनुवाद भइ डायस्पोरा कविता कृतिको रुपमा सम्मेलनमा प्रस्तुत भएको यो नै प्रथम पुस्तक हो। साहित्यका अन्य विधाहरु जस्तै उपन्यास, निबन्ध, नाटक आदिलाई थाँती राखेर विशेषत: "एक्रोश दी ओसन" तथा अन्य केही उपलब्ध कृतिहरुको बिषयमा केही प्रकाश पार्नुभन्दा अघि आजको डायस्पोरा साहित्य के हो र यसको वर्तमान स्वरुप के कस्तो छ भन्ने बिषयमा केही प्रकाश पर्नु अप्रासंगिक नठहर्ला ।
डायस्पोरा साहित्य के हो?
डायस्पोरा भन्ने शब्द एउटा प्राचीन युनानी शब्द हो जसको अर्थ हुन्छ "छरिनु वा बीजारोपण गर्नु"। कतिपय विद्वानहरूले यस शब्दलाई यहुदीहरुको डायस्पोरासँग पनि जोडने गर्छन् जुन यहुदीहरू ६०७ ख्रिस्टाब्द पूर्व बेबिलोनबासीहरूद्वारा इस्राएलबाट निस्कासन हुँदा छरपस्ट छरिएका थिए। डायस्पोरा भन्ने शब्द धेरै किसिमका हुन्छन् जस्तै राजनैतीक डायस्पोरा, आर्थिक डायस्पोरा तथा सामाजिक डायस्पोरा आदि ।
साहित्यमा डायस्पोरा भन्नाले साधारणत: एउटा आप्रवासनको प्रकृया मात्र नजनाएर विभिन्न संस्कृतिहरूको बीचमा पनि द्वैत सम्बन्ध बुझाउँछ । यसको साथै बाह्य देशमा व्यक्तिहरूको पहिचान, घरबारविहीनता, सीमा अनुभूति, राष्ट्रियता, स्वदेश र आफन्तहरुको स्मृति तथा विस्मृति (Amnesia), दुरत्वको भावना, विस्थापन, आफ्नो भाषा तथा संस्कृतिको संरक्षण, नोस्टाल्जिया (homesickness) आदि आदि बिषयहरुको बोध गर्छ डायस्पोरा साहित्यले जसलाई हामी सर्बाधिक प्रचलनमा आएका केही प्रारुपिक नमुनाहरु मात्र (paradigms) भन्न सन्क्छौं। यसबाहेक आजको विश्व भूमन्डलीकरण (globalization) तथा उत्तर उपनिवेशबादी ( post colonialism) युगमा डायस्पोरा लेखकहरु बेन्जी जाङ्, किङ् कुक चियुङ् ,सेली वोङ्, सोमदत मन्डल, हिमाद्री लाहिरी, जसबिर जेन, जी आर कोटरिया आदिका अनुसार डास्पोरा लेखकहरुले राष्ट्रियताका परम्परागत सीमानाहरु तोडेर अन्तरराष्ट्रिय क्षेत्रमा नवीनतम शैलीहरु, प्रविधिहरु, आकारहरु, विविध संस्कृति, भाषा तथा नयाँ नयाँ बिषय वस्तुहरु अप्नाउन पुगेका छन्। यस नवीन परिप्रेक्षमा हेर्दा आजको डायस्पोरा साहित्यले विश्वव्यापी तथा उतर उपनिवेशबादी, अनुसन्धानहरु तथा अन्तरकृयाहरू, आदिवासी तथा जनजाति साहित्यको विस्तार, बाह्य शक्ति, तेश्रो विश्व, विजातीयता (heterogeneity) जस्तै देश, संस्कृति, भाषा, सीमा तथा आफुभन्दा बाहिरको अनुभूतिहरु, सबाल्तर्न, आप्रवासनलाई अन्तरराष्ट्रिय आप्रवासन र सांस्कृतिक डायस्पोराको रुपमा हेर्ने दृष्टि, एसियाली, अमेरिकाली शरणार्थी, नयाँ आयाममा डायस्पोरा साहित्यको व्याख्या, सैद्धान्तिक विचलन, सैद्धान्तिक तथा सांस्कृतिक अवास्तविकताहरुको तुलनात्मक विश्लेषण आदि आदिमा प्रकाश पारेको देखिन्छ। यतिमात्र होइन हिजोआजको नवीनतम विश्व परिस्थितिको सन्दर्भमा डायस्पोरा साहित्यमा पनि दिन दिनै नवीनतम परिभाषाहरुको सिर्जना भइरहेको देख्न सकिन्छ।
सन् १९८७ मा चिनी लेखक लि यान फोउको “when I was a boy in China” भन्ने आत्मकथाको रुपमा छापिएको कवितालाई उत्तर अमेरिकामा लेखिएको प्रथम डायस्पोरा कविता भन्न सकिन्छ। त्यसपछि सन् १९२८ मा अर्को कोरियाली कविता छापिएको देखियो। त्यस हिसाबले विचार गर्दा उतर अमेरिकामा उन्नाइसौं शताब्दिको ऊत्तरार्धमा नै चिनी, फिलिपिनो, कोरियाली, जापानी आदि डायस्पोरा साहित्य लेखिन थालेको बुझिन्छ ।
अमेरिकामा नेपाली डायस्पोरा साहित्य लेखनको ईतिहास
इतिहासमा पहिलोचोटि सन् १९६५ को हार्ट शेल्लर (Hart celler) आप्रवासन अधिनियम (Immigrant Act )अनुसार एसियाबाट मानिसहरुले अमेरिकामा प्रवेश गर्न पाएको हुँदा त्यसपछि मात्र नेपालीहरुको आप्रवासन शुरु भएको देखिन्छ। तदनुरुप विचार गर्दा लगभग १०० बर्षपछाडि अथवा बीसौं शताब्दीको ऊत्तरार्धमा मात्र अमेरिकामा नेपाली डायस्पोरा साहित्य लेखिन थालेको देखिन्छ। तसर्थ कतिपय साहित्यिक बन्धुहरुले उतर अमेरिकामा नेपाली डाएस्पोरा साहित्य शुरु भएको करिब पाँच दशक भएको दाबी गरे तापनि उल्लिखित आँकडा हेर्दा बीस पच्चीस बर्षभन्दा बढी देखिंदैन। तर यो छोटो समयमा पनि उतर अमेरिकामा नेपाली डायस्पोरा साहित्यमा जे जति प्रयासहरु भएका छन् त्यस प्रयासलाई भने एउटा सराहनीय प्रयास नै मान्नुपर्छ हामीले।
विद्वान् डायस्पोरा लेखक बेन्जी जाङ्ले लेख्नु भएअनुसार शुरुआतमा क्यानाडामा चिनी डायस्पोरा लेखक चार्ली जाङ् आदी लेखकहरुले आफ्नो चिनी परम्परालाई गहिरो निष्ठा काएम गरी एउटा सांस्कृतिक पर्खाल (cultural wall) खडा गर्न खोजेको देखिन्छ।
न्यू योर्कमा मौलाउँदो नेपाली डायस्पोरा साहित्य
त्यस्तै अमेरिकामा पनि नेपाली डायस्पोरा लेखकहरुले पनि प्रारम्भमा आफ्ना सांस्कृतिक पर्खाल खडा गरेका एदा कदा देख्न सकिन्छ । तर क्रमानुसार पछि आउने पुस्ताहरुमा नेपाली डायस्पोरा साहित्यले पनि स्थानीय संस्कृतिसँग सन्तुलन कायम गर्दै बिस्तार बिस्तार एकिभूत (Assimilation) हुँदै जानसक्छ।
उल्लिखित अन्तरराष्ट्रिय सम्मेलनको दौरानमा कवि तथा उपन्यासकार नीलम कार्की निहारिकाको सम्पाकदक्त्वमा अँग्रेजीमा प्रकाशित “Across The Ocean” भन्ने समसामयिक कविता कृति, वहाँकै अर्को कविता कृति, "नीलम कार्की 'निहारिका' को कविता", वहाँकै लामो कविता "मस्तिष्क ज्वर" कवि मणी वाङ्देल "सागर" का अप्रकाशित कविता कृति "मेरो भागमा परेको प्रीत", डा युवराज भट्टराई "दीपज्योती" तथा कवि विनोद रोकाको कविता संग्रह "हाम्रो विश्व: दुई आँखामा", कवि नगेन्द्र इङ्नाम लिम्बू "आठराइली" का अप्रकाशित कविता कृति -"कोसेली परदेशबाट" र -"आठराइलीका रचनाहरु", कवि गीता खत्रीका -"सिर्जना यात्रामा गीता", कवि शेखर ढुंङेलका "सय कविता" आदि कृतिहरुसमेत उपलब्ध भएको थियो।
न्यूयोर्क शहरमा रहेका कविहरु सन्तोष थपलिया, ज्योती पौडेल, परीता राजभण्डारी, बिद्याबिमल बराल, रामचन्द्र थापा जस्ता युबा कबिहरुको रचनाहरुमा डायस्पोरा साहित्यको झल्को देख्न सकिन्छ।
त्यस्तै, बाल साहित्यकारहरुमा: अनुपमा सापकोटा, प्रज्ञा सापकोटा, अद्रित खत्री, स्लेश्मा वाग्ले तथा अन्य धेरै मैले नाम नजानेका साहित्यकारहरुले डाएस्पोरामा रहेर पनि नेपाली साहित्यलाई काँध थापी रहनुभएकोले वहाँहरु डाइस्पोरिक साहित्यकारहरु हुन् भन्न रुचाउँदछु ।
यो लेख तयार होउन्जेल प्राप्त भएका कृति र लेखहरुका आधारमा यो पहिलो भाग तयार भएको छ । आउँदा अरु लेखहरुकोलागि बाँकी साहित्यकारहरुले पनि आफ्ना कृति र लेख रचनाहरु उपलब्ध गराएर समाबेस गराउनु हुनेछ भन्ने आशा राखेको छु ।
डायस्पोरा साहित्यको डायस्पोरिक चेतना (Diasporic consciousness)
डायस्पोरा साहित्यले डायस्पोरिक चेतना (Diasporic consciousness) अथवा भनौं डायस्पोरिक पहचान (Diasporic identity) बोकेको हुन्छ। भन्नुको तात्पर्य केहो भने सीमा पार गरेको एउटा गतिशीलताको अनुभूति मात्र नजनाएर स्वदेश र विदेशको अनुभूतिहरुको मिश्रण अथवा बेन्जी जाङ्का अनुसार त्यहाँ र यहाँ र यहाँ र त्यहाँ मिश्रण भएको अनुभूतिहरुको मिश्रण गर्दछ डायस्पोरा साहित्यले। हुन त साहित्यको कुनै कृतिले डायस्पोरिक चेतना बोकेको छैन भन्दैमा हत्तारमा त्यस कृतिलाई हामीले निम्न स्तरको कृति भन्न पनि मिल्दैन। वास्तवमा त्यस्ता कृतिहरुको आफ्नै स्थान सुरक्षित नै हुन्छ समालोचना क्षेत्रमा ।
न्यू योर्कका केही नेपाली साहित्यकारहरुको रचनाहरु नियाँल्दा
कवि नीलम कार्की निहारिकाका कविताहरू सर्सरी हेर्दा वहाँका केही कविताहरूले डायस्पोरा साहित्यमा महिला कविहरूले आम रुपमा औँल्याँउने गरेका पुरुष-शासित सिद्धान्तलाई चुनौती दिंदै स्वतन्त्रता र नयाँ घरव्यवस्थापनाको (Re-homing) आह्वान गरेको देखिन्छ। "टुक्रा टुक्रा भत्काईहरु" र "भूकम्प" आदि यसका उदाहरणहरु हुन् ।
त्यसो त वहाँका डायस्पोरिक रचनाबाहेक अधिकांश कविताहरुले विद्यमान शोषणपूर्ण समाजको भन्डाफोर गरी नारी यातनाका प्रखर स्वरहरू उराल्दै समानताको आन्दोलनहरूको अगुवाइको रुपमा आएको नारीवादी (Feminism) चेतनाको बोध पनि गराँउछन् । “Labor pain”, “my being sold”, “imprisoned water”, "कुँजियका पखेटाहरू", "म तुवाँलोले फक्रिन नपाएको फूल" र "त्रासदीको अन्त" आदि कविता नारी यातनाका उदाहरण हुन् । त्यस्तै "जुकालेको चुसेको बस्ती", "मस्तिष्क ज्वर" (Brain Fever) आदि शोषणको विरुद्वमा लेखिएका कविता हुन्।
डेविड पालम्बो लिउले जहिले पनि सीमा पार गरेपछि डायस्पोरा शुरू हुन्छ भने झैं कवि मणी वाङ्देल "सागर" को प्रभावशली कविता “The lap of my motherland and motherhood” -(Across The Ocean) मा -“When I left my country” भनी सीमा पार गरेको आभास देखाउँदै परर्देशमा निरन्तर परर्देशीको हैसियतले एउटा नौलो संस्कृति र परिवेशमा घरवारविहीन भएर बाँच्नुपर्दा र राजनैतिक, आर्थिक, सामाजिक चुनौतीहरु सामना गर्नुपर्दा ज्यादै सुनसान र अर्थहीनताको अनुभूतिको हुन्छ कविलाई जसलाई वहाँले नोस्टाल्जिक बन्दै यसरी व्यक्त गर्नुहुन्छ, -"Without the lap of motherland I feel lonely and meaningless." आफ्नो मातृभूमिदेखि टाढा भएपछि डायस्पोरा जीवनको प्रारम्भिक अवस्थामा यसरी नै सबभन्दा पहिले व्यक्तिको पहिचानको चुनौती हुन्छ । त्यसैले आफ्नोँ वातावरण, नयाँ परिस्थिति, नयाँ संस्कृति, नयाँ समाजसँग घुलमिल गर्दै आफूलाई पुनर्स्थापना (relocate) गर्न निरन्तर प्रयासरत हुन आवश्यक हुन्छ उसलाई।
यसबाहेक आफ्नै शैली प्रविधि र भावपूर्ण शब्दसंयोजनमा आफ्नो देश तथा स्थानीयताप्रतिको अपार माया, आफ्नो प्रियसीप्रतिको अटुट प्रेम तथा आफ्नो देशको प्राकृतिक सौन्दर्यको अत्यन्त सजीव चित्रण गर्नुको साथै देशमा आईपरेका संवेदनशील विपत्तिहरूकोसमेत उल्लेख गर्नुभएको छ वहाँले। साँच्ची नै परर्देशमा हामीलाई हाम्रोसोही मातृभूमिसँग जोड्ने एउटै मात्र कडी हुन्छ, त्यो हो सम्झना ।
त्यसैले डायस्पोरा लेखकहरु भन्ने गर्छन् "हामीहरु सम्झनाले बनिएका हुन्छौं।" त्यस्तै कवि मणी वाङ्देल "सागरले" आफ्ना सम्झनाको सहायता लिएर अत्यन्त भवावेशपूर्ण शब्दमा “When I feel You lovingly Dear Nepal”(Across The Ocean) मा मातृभूमि नेपालको विगत र वर्तमानको सहयात्रा र विछोडको दु:खपूर्ण घडीहरु खोतल्दै आफ्नो पुरानो संस्कृति र नयाँ संस्कृतिसँग हरहमेशा तादात्म्य राखिरहनु भएको देखिन्छ। वीर गोर्खाली, बाध्यता, लाहुरेको दैनिकीमा लाहुरे, शान्ति मात्रका मान्छेहरु स्मृतिको शक्तिद्वारा विरचित वहाँका केही डायस्पोरा कविताहरु हुन् जसले भूतकाललाई धमिलिन लागेको सम्झनाद्वारा जीवित राखिरहेका छन्। हुन पनि डायस्पोरा साहित्यमा अतीतलाई सम्झनु पनि सम्झनालाई जीवन्त बनाइरहनु पनि हो।
कवि वाङ्देलको “The love on my Part” -(Across The Ocean) तथा कवि प्रदीप थापा मगरको "In pursuit of happiness” -(Across The Ocean) भन्ने कविताहरुले पनि उत्कृष्ट प्रेमको स्मरण गराउँदै डायस्पोरिक चेतनाका अनुभूति दर्शाउँछन् । कवि थापाकै अर्को कविता "स्वतन्त्रताकी देवी" -(मनको कुरा पुस्तकबाट)ले पनि मानिस कसरी आफ्नै देशको बिसंगति र बेथितिलाई दाँज्दै पराई भूमिमा आजन्म कैदमा बस्न वाध्य हुनुपर्छ भन्ने डाएस्पोरिक चेतनाको बोध गराउँदछ ।
सम्झनाका कुरा गर्दा डा. युवराज भट्टराईको डायस्पोरा कविता "मलाई मेरो बिहान देऊ" को पनि चर्चा गर्नै पर्छ यहाँ। प्रारम्भिक कालमा डायस्पोरा कविहरूले ज्यादाजसो घरबारवीहिन (unhoused) अवस्थामा हुंदा सम्झनाद्वारा आफ्नो सांस्कृतिक पहिचानको (cultural identity) सिर्जना गरिरहेका हुन्छन् र त्यही अवस्थामा गुज्रिरहेको छ अहिलेको हाम्रो डायस्पोरा साहित्यको पिंढी पनि। यस बाहेक नयाँ शैली र अनुभूति बोकेका वहाँका अन्य कविताहरूले वहाँलाई कविता क्षेत्रको समसामयिक पिंढीमा एउटा प्रखर प्रतिभाको रुपमा उभ्याएको देखिन्छ। आजको भूमन्डलीकरण तथा उत्तर उपनिवेशवादी युगमा डायस्पोरिक लेखनहरु परम्परागत स्थान तथा राष्ट्रको सीमानाभन्दा धेरै पर पुगेको देखिन्छ।
वास्तवमा आजको लेखनहरुले सर्वसांस्कृतिक, विश्वब्यापी अन्तर्सम्बन्ध, नयाँ प्रविधिहरू तथा अन्तरराष्ट्रिय अनुसन्धानहरू समेटेका देखिन्छन्। यस परिप्रेक्ष्यमा हेर्दा -(Across The Ocean) मा प्रकाशित भएका कवि होमनाथ सुवेदीका कविता “States”, कवि चन्द्रराई "आकाश" का “The path of truth and peace” कवि हेमन्त श्रेष्ठका “The country तथा The world country” तथा कवि शुक्रराज घिमिरेका “The Clouds of Terror” आदिलाई यस क्षेत्रमा गरिएका सराहनीय प्रयास मान्न सकिन्छ ।
आफ्नो देश, भाषा तथा आफ्नो स्वत्वभन्दा (out of oneself) बाहिरीको परिस्थितिमा एउटा घरबारबिहीन नवागन्तुकको रुपमा बाँच्नुपर्दाको अनुभूतिहरू प्रतिविम्बित भएका देखिन्छन् कवि विनोद रोकाका कविता “The seven train” मा । अलिकति यहाँको अनुभूति अलिकति आफू जन्मेको देशको अनुभूति मिश्रित भएका अनुभूतिहरूनै ज्यादाजसो प्रतिविम्बित हुन्छन् प्रारम्भिक डायस्पोरिक कविताहरूमा । वहाँले आफ्ना अनुभूतिहरू यसरी पोख्नुहुन्छ:
"Suffocated in a crowd Looking for vacancies Worrying for the motherland I ride the Seven Train
Got some work at a Manhattan eatery But no place to stay, because This is not my land I board the Seven Train
I seek my nation in Manhattan Wishing the boss to go out So, I wouldn't have to stand And wishing that I could make the same money back home Then ride back on the Seven Train.”
- (Across The Ocean)
यो कविता पढ्दा मलाई भारतीय डायस्पोरा कवि मीना अलेक्जान्डरले लेखेको एउटा कवितामा अमेरिकी कवि Allen Ginsberg गर्मी महिनामा पसीना तप् तप् चुहाउँदै राजस्थानमा नाङ्गै उभिएको कुरा अथवा भारतीय डायस्पोरा कवि एस. शंखरले नेपालमा पशुपति र नदीको किनारमा मान्छेको मासु जलेको धुवाँहरू न्यूयोर्कको रातमा खोजे जस्तै लाग्छ । यस बाहेक "बुझ्नेलाई", "यतातिरको गाईजात्रा'', "सोल्टीका गीत", "एन्थ्य्राक्स र सन्त्रास" आदि वहाँका कविताहरूले पनि डायस्पोरिक चेतना बोकेको आभास हुन्छ ।
डायस्पोरिक लेखक कोगावासीले एक ठाउँमा भने झैं "अलिकति अस्वीक्रित गरेको अलिकति स्वीक्रित गरिएको" स्थितिमा नै गुज्रिरहेको हुन्छ हाम्रो प्रारम्भिक डायस्पोरिक जीवन। Across The Ocean कवि परिता राजभन्डारीका “Nepalese women of the Twenty First Century”, कवि चन्द्र राई "आकाश" का “Manjari”, कवि हेमन्त श्रेष्ठका "How could I sing?" आदि कविताहरुले पनि यस्तै पीडाबोधको अनुभूति गराउँछन् हामीलाई ।
डायस्पोरा अर्थात प्रवासी चराहरू (migratory birds)
बेन्जी जाङ्ले आफ्नो पुस्तकको एक ठाउँमा उद्ध्रित गर्नु भए अनुसार डायस्पोरा कवि सुरजित काल्से (Kalsey) ले डायस्पोरा शब्दलाई प्रवासी चराहरू (migratory birds) सँग तुलना गर्नुभएको छ जुन चराहरू घर पनि फर्किन सक्छन् अथवा पिंजडामा सधैंभरि कोचिन पनि सक्छन् ।
त्यस्तै स्थितिमा गुज्रिरहेको प्रतीत हुन्छ उदीयमान प्रतिभा कवि नगेन्द्र इङ्नाम लिम्बू "आठराइली" को समय। कवि आठराइलीका डायस्पोरा कविता "मलाई परदेशले छोडेको छैन" तथा "परदेशमा" भन्ने कविता पढ्दा वहाँले टुक्रिन लागेको भूतकाललाई सम्झनाले जोडेर आफ्ना तीतामीठा अनुभूतिहरू कवितामार्फत यसरी पोख्नुहुन्छ :
"मेरो शुभयात्राको कामना गर्दै आफ्नो गहभित्र आँसु लुकाएर रुन्चे स्वरमा बिदा गर्ने मेरी दु:खी आमा अनि रोगी बुढा बाको आशीर्वाद र न्यानो मायालाई मेरो छातीभित्र सुटुक्क लुकाएर बर्षौं अघिदेखि परदेशिएर सबैसंग टाढिई एक्लै बाँचेको छु म परदेशमा
छोडेको थिएँ सोन्टिनीहरूलाई चिठी पत्रमा भेट्दै गरौँला भनी ती क्षणहरू युगमा बदलिसके महिना दिन र सालहरू गनी भन्छन्, जेठी, माइली र साइली हुँदै मेरो कान्छी सोन्टिनीले पनि आफ्नो घरबार जोडी सकिन् रे तर मलाई भने यो पापी परदेशले छोडेको छैन ।"
-Amar Nembang Limbu in New York.
लेखकको चिनारी :

Amar Nembag. Photo courtesy: author
समालोचक अमर नेम्बाङ (लिम्बू) का कृतिहरु "अमेरिका भ्रमणका केही सम्झनाहरु" (यात्रा-संस्मरण) र "सम्झनाका तरेलीहरु" संस्मरण निबन्ध हुन् । उनको कृति "सम्झनाका तरेलीहरु" ले जयन्द्र प्रसाई साहित्य पुरस्कार समितिबाट मेची अञ्चलब्यापी साहित्यिक कृतिहरुमा सर्वश्रेष्ठ कृतिको रुपमा छनोट भई २०६५ सालमा प्रथम पुरस्कार पाउन सफल भएको थियो ।
पाँचथर पौवा सार्ताप गा.बि.स.-३ मा अगस्ट १२, सन् १९४४ मा जन्मेका नेम्बाङले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङमा शुरु गरेर सन् १९६६ मा सेन्टजोसेफ कलेजबाट बि.ए. तथा सन् १९७० मा त्रिभुवन विश्वबिधालयबाट राजनीति शास्त्रमा एम.ए. गर्नुभएको छ ।
दार्जिलिङमा रहंदा विद्यार्थी हक हित र एकताको लागि लड्ने संस्था नेपाल विद्यार्थी परिषदको अध्यक्षसमेत भई सकृयातासाथ काम गर्नुभएको थियो । यस्तै गरी, आयमेली कवी बैरागी काइँलाले सम्पादन गर्नुभएको पत्रिका "तेश्रो आयाम" को प्रकाशक भई साहित्यको फाँटमा योगदान पुर्याउनु भएको थियो । अध्ययनपछि गृह जिल्ला फर्केर सम्बत् २०२८ देखि २०५८ सम्म अनवरतरुपमा स्थानीय निकाय तथा अन्य संघसंस्थाहरुको बिभिन्न ओहोदामा रहेर ३० बर्षे लामो समाजसेवा अवधिमा नेम्बाङले चार पटकसम्म गा.बि.स. अध्यक्ष, जि.बि.स सदस्य, जि.बि.स. उपसभापति, शिक्षा समिति सदस्य र अञ्चल शिक्षा समिति सदस्यसमेत भई काम गर्नुभएको थियो ।
समाजसेवी तथा साहित्यकार नेम्वाङका श्रीमती चन्द्रकला, छोरा मुनिन्द्र बिक्रम, सुनिन्द्र बिक्रम र गुनिन्द्र बिक्रम, छोरी ईन्दिरा तथा जेठी बुहारी चुङ्ता जि. नेम्बाङ छन्।। उहाँ हाल सपरिवार न्यू योर्कमा बसोबास गर्नुहुन्छ।


Books written by Amar Nembang
|
Comments
congratulations !
Malai yo lekhama Lekha ko Compose gareko sarai man paryo.
Yasta lekhaharu biralai maatra dekhna paainchha.
Agami dinharuma pani Tapaika lekhharu ko hope garchhu.
Mahendra Limbu
Kuwait bata
namaskar
mero tapai sanga ramrari china jani chaina, maile tapaico pustak samjhana co tareli haru padheco thiye sarai manpareco thiyo jasma naya kura sahityama dinubhayeco thiyo, yo pani dasporic sahityama naya kura paye malai darai man paryo. kalam narokiyosh
subash karki
koriya