|
नेपाली साहित्यकारहरुको विश्वब्यापी सन्जाल निर्माण हुने |
|
|
|
|
Written by Administrator
|
|
Sunday, 27 June 2010 16:06 |
|
न्यू योर्क- विश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरुको विश्वब्यापी सन्जाल निर्माण गर्ने अभियान शुरु गरिएको छ।
चर्चित नेपाली साहित्यिक वेब्साइट NepaliLiterature.com का प्रधान सम्पादक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतका महासचिव विश्वास दीप तिगेलाकाअनुसार लामो समयदेखि नेपाली साहित्यको श्रीबृद्धिमा लागेका विभिन्न १४ देशमा रहेका झण्डै ३ दर्जन साहित्यिक स्रष्टाहरुको सामुहिक प्रयासमा विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया थालिएको हो ।
तर उनले ति साहित्यकारहरु को को हुन्, त्यो चाँही खुलाउन चाहेनन्।
"विश्व नेपाली साहित्य महासंघ" Global Federation for Nepali Literature (GFNL) उक्त संस्थाको संस्थापक ब्यक्ती नभै भानु जयन्ती दिवस रहने गरी निर्माण गर्न लागिएकोले साहित्यकारहरुको नाम संस्था गठन पूर्व सार्वजनिक नगरिएको बुझिएको छ।
झट्ट हेर्दा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले सबै साहित्यकारहरुलाई समेट्न नसकेको कारण समाजको गतिबिधीप्रति असन्तुस्ट साहित्यकारहरुको प्रयास जस्तो लागे पनि अमेरिकाको वासिङ्गटन डिसीमा दर्ता भएको अनेसासको बिकल्पको रुपमा नभै अनेसास समेतलाई समेट्ने महासंघको परिकल्पना गरिएको महासंघको प्रस्तावित बिधानबाट प्रस्ट हुन्छ।
देशविदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुन लागेको यस बृहत संजालका छलफल समुहले सबैलाई छलफलमा सहभागि हुन खुल्ला आग्रह गरेको छ । यस समुहले छलफलको लागि वेभसाइट www.nepaliliterature.org र ईमेल
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
प्रयोगमा ल्याएको छ ।
विश्वभर छरिएर रहेका स्रष्टा र सिर्जनालाई समेट्ने नयाँ साझा संस्थाको आवश्यकता
विश्व नेपाली साहित्य महासंघ Global Federation for Nepali Literature GFNL)
अवधारणा पत्र (प्रस्तावित)
विषय प्रवेश
समयको गति संगै नेपाली साहित्य पनि अघि बढ्दै जानेक्रममा अहिले कहाँ सम्म पुग्यो र अब कता कसरी जानु पर्छ भन्ने सवालमा चिन्तन गर्नुपर्ने बेला भएको छ । समकालिन साहित्यहरुले फड्को मारिरहेको बेला नेपाली साहित्य भने परम्परागत तरिकाले जेनतेन मात्र धानिरहेको अवस्था छ । त्यसैले समयको परिवर्तन संगै नेपाली साहित्यको श्रीवृद्धिको निमित्त नयाँ सोचका साथ नयाँ कार्य गर्न जरुरी भएको छ ।
साहित्य समाजको दर्पण हो र प्रत्येक ब्यक्ति समुदायमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ब्यक्ति समुदायको पहिचान प्रतिष्ठा र अस्थित्वको साहित्य संग प्रगाढ अन्तर सम्बन्ध रहेको हुन्छ यसर्थ हाम्रो लागि साहित्य पनि अत्यन्तै महत्वपूर्ण फाँट हो ।
नेपालीपन नेपाली संस्कार संस्कृति, दुखः, सुख र पीडा बेदना बोल्ने जुनसुकै भाषामा लेखिएको सिर्जना नेपाली साहित्यको परिभाषा भित्र पर्ने भएकोले नेपाली साहित्य जगत विशाल र ब्यापक छ । नेपाली भाषा साहित्य भन्नु भन्दा नेपाली साहित्य मात्र भन्दा सबैलाई समेट्ने र समावेसी हुने भएकोले हामी नेपाली साहित्यको निमित्त कि्रयाशिल छौ । पछिल्लो समयमा नेपालीहरु विश्वभर छरिएर रहेको अवस्था संगै प्रविधि विकासको फ्यूजनले डायस्पोरामा रहेका स्रष्टासर्जकहरुको उपस्थिती उत्साहजनक छ भन्दा गलत नहोला । अझ यसलाई यसरी भनुँ नेपाली साहित्यका विरुवाहरु विश्वभर टुसाएका छन् यसवेला स्याहार सम्भार र संरक्षण गर्दै मलपानी लागाउनु पर्ने आवश्यकता भएको छ । त्यसैको खातिर नेपाली साहित्यको लागि हाम्रो मान्यता - साझा र पारदर्शिता नाराको साथ विश्वब्यापी रुपमा साहित्य संजाल निर्माणको पूर्व तयारीमा जुटेका छौ ।
अस्थित्वमा देखिएका विश्वका २ सय भन्दा बढि देशहरु मध्ये लगभग ९० प्रतिशत मुलुकहरुमा विभिन्न कारणले नेपाली मन र नेपाली मुटु बोकेर केही न केही नेपालीहरु पुगेको अनुमान गर्न सकिन्छ । कुनै देशमा धेरैछन् कुनैदेशमा थोरैछन् । कुनै देशमा विभिन्न संघसंस्थाहरु निर्माण भएका छन् भने कतिपय देशमा निमार्ण हुने प्रकृयामा छन् । त्यस्तै गरि धेरै देशहरुमा साहित्यक संघसंस्थाहरु पनि स्थापना भई संचालनमा रहेका छन् । विभिन्न देशको आ-आफ्नो विशिष्टता बाहेक प्रवासमा हुने पीडा वेदना दुखः दर्द सबैको उस्तै देखिन्छ र तिनै राम्रा नराम्रा अनुभव अनुभूतिहरु खुराक बनेर साहित्यको रुपमा निरन्तर आईरहेको अवस्था छ । यिनै निरन्तर साहित्य सिर्जनाहरुबाटै अझ राम्रो साहित्यको आस गर्न सकिन्छ । त्यसैले यो अत्यन्तै सुनौलो अवसर पनि हो । यसलाई हामी तमाम स्रष्टा सर्जक तथा शुभचिन्तकहरुले संस्थागत गर्नुपर्ने बेला भएको छ ।
नेपाली साहित्य सेवाको लागि भनेर विश्वभरमा अनगिन्ति संघसंस्थाहरु संचालनमा रहेका छन् । ती सबै संस्थाहरुको आ-आफ्नो ठाँउमा उच्च महत्व अवश्य रहेको छ । संस्थाहरुको योगदान बारे भोलि इतिहासको पानामा सुनौलो अक्षरले लेखिने नै छ । अझ प्रवासमा अरुदेशका नागरिकबाट हुने अपमान अन्याय र शोषणको बाबजुद पनि गाँस काटेर साहित्य क्षेत्रमा तन मन र धन खर्च गर्ने स्रष्टाहरुको अवस्था जान्दा जो कसैको आँखा रसाउछ तर नेपाली साहित्यको केन्द्रमा रहनेहरुलाई उक्त अनेकअनेक समस्या पीडा र वेदना बाबजुद नेपाली साहित्यमा लागेका स्रष्टा र सिर्जनाहरुको सम्बन्धमा अनविज्ञता हुन हाम्रो बिडम्बना हो । त्यसैले शसक्त र स्पष्ट पहिचान बोक्न सक्ने साहित्यिक संजाल निमार्ण गरेर घरदेश र परदेशका साहित्यिक समस्याहरुको विरुद्ध एकजुट भई लड्न आवश्यक भएकोले यो साहित्य संजालको अवधारण आएको हो ।
एकता नै बल हो भन्ने मान्यताको आधारमा विश्वभरका समस्त स्रष्टा तथा साहित्यिक संघ संस्थाहरुलाई एकै संजालमा समेटेर नेपाली साहित्यमा अरु धेरै विकास र प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिएर साथै अन्य संघ संगठनहरुमा पनि काम गरेको विभिन्न अनुभवहरुलाई समेटेर यसपटक सहि सदुपयोग गर्ने जमर्को गरेका छौ । हामी संग विभिन्न देशमा रहनु भएका धेरै स्रष्टा सर्जकहरु र संघ संगठनहरु सम्पर्कमा आउनु भएको छ र आउनेक्रम जारि रहेको छ । यथासम्भव सबै स्रष्टा सबै संस्थाको सामुहिक प्रयत्नमा यो संजाल स्थापना हुदैछ यसर्थ तपाई सबैलाई राम्रो कामको निमित्त सद्भाव आशिष सल्लाह सहमति सहकार्य सहयोग र संलग्नताको लागि निम्तो गरिएको छ ।
विश्वभरका नेपाली साहित्यलाई समेट्ने उद्देश्यले निर्माणधिन ब्यापक यो संजाल निश्चय नै नयाँ सोच हो र यो रचनात्मक कामको लागि नयाँ र नौलो कार्यक्रमहरुको पनि आवश्यकता पर्दछ । त्यसैले यस संजालको अवधारणा भित्र सबैलाई समेट्ने साझा भावना विशेषत रहेको छ रहने छ । यस्ता राम्रो कामको लागि सबैबाट सरसहयोग सुझाव र सहभागिता हुनेमा हामी पूर्ण विश्वस्त छौ । साझा काम साझा दातित्व पूरा गर्न हामी सबै आजैबाट जुटौ ।
हाम्रो मान्यता: साझा र पारदर्शिता
हाम्रो आधारभूत रणनीतिहरु १. देशदेशमा शाखाहरु बन्नेछन् साथै कुनैपनि देशमा संचालन भई रहेको संस्थालाई समेत सांकेतिक शुल्क लिएर सम्बद्धता दिन सकिने छ । २. मुख्य कार्यालय नेपालमा रहने छ । कारण - सबैलाई र सधैलाई सजिलो हुन्छ कसैको बर्चश्व देखिन्दैन । नेपाल त जो कोहि जान सक्दछ । ३. यो संस्था नेपाल मै विशिष्ट हैसियत हुने प्रकारले दर्ता गरिने छ । गैर आवासिय नेपाली संघ दर्ता भए झै । ४. कामकाजको मुख्य भाषा नेपाली हुनेछ । कारण - सजिलो र आफ्नो माटोको भाषाको सम्मानार्थ तर विधान आंचार संहिता घोषणा-पत्र लगायतका महत्वपूर्ण दस्तावेजहरु नेपाली र अन्तर्राष्ट्रिय भाषा अंग्रेजी स्पेनिस रसियन आदी भाषामा रहने छ । ५. संस्थाको हिसाव किताब मुख्य गरि नेपालीमा र आवश्यक अनुसार अंग्रेजी लगायतमा देखाइने/राखिने छ । ६. संस्थापकः भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम रहनेछ । कारण - नेपाली भाषी एकताको प्रतिकको रुपमा भानु जयन्ति स्थापित भईसकेकोले । भविश्यमा मिडियाले संस्थापकको रुपमा कसैको नाम उल्लेख गरेमा सम्बन्धित ब्यक्तिले प्रतिक्रिया वा स्पष्टिकरण लेख्नु पर्नेछ । ७. कार्य समितिको कार्यवधि ३ बर्षको हुनेछ । ८. नयाँ कार्य समिति निर्माण हुदा अघिल्ला कार्यकारी पदाधिकारीहरु मध्येका एक चाहि अनिवार्य यथावत पदमा वा कार्यकारी पदाधिकारीकै रुपमा रहने छ । किन की - टाढाटाढा रहेर काम गर्नुपर्ने भएकोले सबै नयाँ पदाधिकारीहरु मात्र रहदा अलमलमा पर्न सक्छन । ९. संस्थाको अध्यक्षले लगातार तेस्रो पटक जिम्मेवारी बहन गर्ने छैन तर अर्कैको एक कार्यकाल पछि पुनः अध्यक्ष हुन पाउने अधिकारलाई रोक लागेको मानिने छैन । १०. मतदान वा चुनाउमा - एक शाखा एक भोट गन्ने र आजीवन सदस्यहरुको दश भोटको एक शाखा मान्ने । ११. सम्बद्धता प्राप्त संस्थाले पनि यस संजालको केन्द्रिय समितिको चुनावमा भोट दिन र पुरस्कार तथा सम्मानको लागि उपयुक्त ब्यक्तिको नाम सिफारिस गर्न पाउने छ । १२. कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ ।
१३. सदस्यताको प्रकारः साधारण आजीवन संस्था सदस्य संरक्षक सदस्य मानर्थ सदस्यः ब्यक्ति वा संस्था दुवै
हाम्रो तत्कालिन र दीर्घकालिन कार्ययोजनाहरु
तत्कालिनः
१. हाम्रो संजालको वेवपेज तत्काल निर्माण गरि संचालनमा ल्याउने जसले हामीलाई काम गर्न सूचना प्रभाव गर्न मद्दत पुग्नेछ । २. अत्याधुनिक प्रविधिमा समेत नेपाली साहित्य प्रवेश गरिसकेको परिपेक्ष्यमा प्रविधिलाई माध्याम बनाएर विभिन्न प्रकारको कि्रयाकलाप तथा प्रतियोगिताको आयोजना गर्दै विश्वभरको स्रष्टाहरु माझ उपस्थिती दर्शाउदै शिधै सम्पर्कको पुल निर्माण गरि सहयोगि र अभिभावकत्व प्रदान गर्ने । ३. नेपाल प्रज्ञा प्रतिष्ठान संग समन्वय गर्दै डायस्पोरामा फैलिदै गएको नेपाली साहित्यको पहिचान र प्रतिष्ठाको लागि प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा विभाग राख्न माग गर्ने । ४. विभिन्न लेखकले विभिन्न भाषामा नेपाल तथा नेपाली संस्कार संस्कृतिको बारेमा लेखेका लेख तथा पुस्तकहरुमा गल्ति कुराहरु बेग्रेल्ति पाइन्छन् यसर्थ उनीहरुलाई सहयोगिको रुपबाट सुधार गर्न सल्लाह सुझाव र दबाब दिन कम्तिमा ३ देखि ७ जनाको टास्कफोर्स तयार गर्ने । ५. संजाल मातहतमा विभिन्न पुरस्कार तथा सम्मानको ब्यवस्था गर्न तुरुन्तै पहल थाल्ने । डायस्पोरा नेपाली साहित्यको लागि २ बटा पुरस्कार र २ बटा सम्मान साथै नेपालको लागि १ जनालाई पुरस्कार र १ जनालाई सम्मान प्रत्येक बर्ष प्रदान गर्ने । ६. भाषा भाषी मातृभाषा साहित्य अन्र्तगत बर्षमा दुईवटा पुरस्कार प्रदानको लागि ब्यवस्था गर्ने । ७. समयानुकुल र स्थानअनुकुल बनाई विश्व नेपाली साहित्य सम्मेलन एक कार्यकालमा एउटा गर्ने । ८. "जहाँ नेपाली त्यहा संजाल" भन्नेू अभियान चलाई नेपाली रहेका प्रत्येक देशमा संजालको स्थापना गर्ने तथा त्यहा रहेका साहित्यिक संस्था संग समन्वय गरि सम्बद्धता प्रदान गर्ने । ९. "साहित्य र संचार स्रष्टाको लागि स्रष्टाबाटै हेरचारू कार्यक्रम अन्तगर्त कुनैपनि साहित्यकारको प्रगतिमा बधाई र दुःखद् घडिमा समवेदना दिन साथै विरामी स्रष्टाको लागि सहयोगको कार्यक्रम ल्याउने ।
नियमित कार्ययोजना
१. यस संजालको नियमित गतिविधिहरु राख्नको लागि त्रैमासिक/चौमासिक मुखपत्र प्रकाशन गर्ने साथै संजालको वेभपेजमा नियमित अपलोड गर्ने । २. अघिल्ला कार्य समितिले गरेका राम्रा कार्य योजनाहरुलाई निरन्तरता दिने । ३. विभिन्न अवसरहरु - जन्मजयन्ति साहित्यिक चार्डपर्वहरुमा नियमित तवरले साहित्यिक कार्यक्रमहरु गर्ने । ४. यस संजालको आजीवन सदस्यता विस्तार गर्ने । ५. विभिन्न माध्यामबाट देशविदेशका स्रष्टा सर्जकहरु संग सम्पर्कमा रहने ।
दीर्घकालिनः
१४. घरदेशदेखि भौगोलिक दुरीमा रहेका कारण तथा अज्ञानताको कारण विदेशमा रहेका कतिपय नेपालीहरुले आफ्ना बालबालिकालाई नेपाली तथा मातृभाषा सिकाउने नगरेको अवस्था पनि छ । यसर्थ उनीहरुलाई नेपाली भाषा तथा मातृभाषा, कला, संस्कार र संस्कृतिको बारेमा संचेतना दिनको निम्ति विभिन्न क्रियाकलापहरु गर्ने । १५. नेपाली साहित्यलाई विभिन्न अन्य भाषामा अनुवाद गर्ने साथै दुई विशाल छिमेकी मुलुक चीन र भारतमा बोलिने भाषा साहित्य सम्म न्यूनतम पहुच राख्न प्रयत्न गर्ने । १६. नेपाली राष्ट्र नै भाषा हो । हामी नेपालीहरुको एकताको माध्याम भाषा हो भने हाम्रो भाषिक एकताको प्रतिक आदीकवी भानुभक्त हुन र उनको भग्नावशेष जन्मस्थलको पूर्ननिर्माण तथा संरक्षण गरि साहित्यिक पर्यटक स्थलको रुपमा विकास गर्न सरकारलाई सुझाव सहयोग सहित दबाब दिने । १७. प्रवासी नेपाली साहित्यलाई पनि नेपालको विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नेपाल सरकारको सम्बन्धित विभागमा सुझाव तथा दबाब दिने । १८. प्रवासी नेपाली साहित्य सिर्जना र स्रष्टा अर्थात संमग्र नेपाली डायस्पोरिक साहित्यको सम्बन्धमा स्नाकोत्तर तह (Master's Level) र विद्याबारिधि तह (Ph. D.) का अनुसन्धानकर्ताहरुलाई प्रोत्साहनको लागि यथासम्भव विभिन्न सहयोग गर्ने साथै खोजकर्तालाई हाम्रो संजालको तर्फबाट सम्मान तथा कदर-पत्र प्रदान गर्ने ।
प्रस्तावित नाम १. विश्व नेपाली साहित्य महासंघ Global Federation for Nepali Literature (GFNL) २. या अन्य कुनै
प्रस्तावित वेभ साइट नाम (1) www.nepaliliterature.org, (2) www.nepalisahitya.com.np (3) www.sahitya.org.np
यी माथिका ३ वटै डोमेन यस संस्थाको लागि दर्ता भई सकेका छन् ।
केही प्रश्न उत्तर
१. किन यो संजालको अवधारणा आएको हो ?
हामी सबै नेपालीहरुको प्रतिष्ठाको लागि सामुहिक सकि्रयता र सहभागिता चाहिन्छ । त्यसैले यो संजालको अवधारणा आएको हो । विश्वभर धेरै साहित्यिक संघसंस्थाहरु रहेका छन ती सबै साहित्यिक सघसंस्थाहरु बीच सम्पर्क तथा विचार कार्यक्रमहरु आदानप्रदान गर्न साथै नेपाली साहित्य र साहित्यकारहरुको हकहितको निम्ति आपसमा काम गर्नको लागि यो संजालको स्थापना हुन लागेको हो । समग्रमा नेपाली साहित्यको श्रीबृद्धि र नेपाली प्रतिष्ठाको लागि यो अवधारणा आएको हो ।
२. अन्तर्राष्ट्रिय स्तर सम्म पहूच राख्ने केही साहित्यिक संघसंस्था हुदाहुदै पनि फेरी किन यस संजालको आवश्यकता पर्यो ?
विश्वभर रहेका नेपाली साहित्य साहित्यकार र साहित्यिक संघसंस्थाहरुलाई समेटौ भन्ने उद्देश्यले ब्यापक रुपबाट कुनै पनि संस्था यसअघि स्थापना भएका छैन्न । शुरुमा कुनै एक ठाँउबाट शुरु भई त्यसैलाई ब्यापकता दिइएको केही संस्थाहरु छन तर त्यस्ता संस्थाहरु सबैको लागि रुचीको घर हुन सक्दैन । हामी केहीसमय सुखद भ्रममा पनि रह्यौ र अझै केही रहेका छौ तर बुझ्दै गएपछि यो अनुभव सबैले गर्नेछन । संस्थाको स्थापना ब्यक्तिले गर्ने होइन यो त सामुहिक प्रयत्नमा स्थापना हुनुपर्छ र सामुहिक रुपबाटै संचालन हुनु पर्दछ त्यसैको खातिर यो संजालको आवश्यकता भएको हो । नेपाली साहित्यको निमित्त गर्नुपर्ने बेग्रेल्ति कामहरु छन् तर त्यस तिर धेरैको चासो नभएको चेतना नभएको कारण अब सधै यसरी बस्न हुन्न । समय आएको छ सबै उठौ जुटौ भन्ने सोचका कारण पनि आवश्यकताको महशुस भएको हो ।
३. अन्य साहित्यिक संघ संस्थाहरु संग यस निर्माणाधिन संजालको कस्तो सम्बन्ध रहन्छ ?
देश विदेशमा रहेका सम्पूर्ण साहित्यिक संस्थाहरु हाम्रो मित्र शक्तिको रुपमा रहने छन् । सबै संग सहकार्य र सवाद हुनेछ ।
४. के यो सजाल विश्वभर छरिएर रहेका नेपाली साहित्यका संघ संस्थाहरुको छाता संगठनको रुपमा स्थापना हुन लागेको हो ?
हाम्रो यस संजालको प्रत्येक देशमा विधान सम्मत स्वतन्त्र शाखाहरु रहनेछन् । अन्य नामबाट संचालनमा रहेका संस्थाहरुलाई पनि हाम्रो विधान सम्मत सम्बद्धता प्रदान गरिने छ । यसर्थ यो संस्था धेरै संघहरुको समष्टि रुप महासंघ सरह रहनेछ । यो संस्था सबैको साझा संस्थाको रुपमा रहने छ र छाता संगठनको सट्टामा साझा संगठन नै भनिने छ । किन की छाता संगठनको अवधारण धेरै अभ्यासहरुमा असफल भईसकेको छ ।
५. कस्तो ब्यक्ति यस संजालको सदस्य बन्न सक्दछ ?
नेपाली माटो र नेपाली दुख सुख पीडा बेदनालाई नेपाली भाषा मातृभाषा वा जुनसुकै भाषामा साहित्यको माध्यामबाट अभिब्यक्त गर्न सक्ने सिर्जनशिल ब्यक्तिहरु यस संजालको सदस्य बन्न सक्दछ । यो खुल्ला संस्था भएकोले साहित्य प्रति झुकाव राख्ने जो कोहि यसका सदस्य बन्न सक्नेछन् तर कम्तिमा एक कृति प्रकाशन गरेका स्रष्टालाई प्राथमिकता हुनेछ । जुनसुकै अन्य साहित्यिक संघसंस्थामा आबद्ध ब्यक्ति पनि यस संजालको सदस्य बन्न सक्नेछन् तर संजालको विधानमा तोकिएको काम कर्तब्य तथा जिम्मेवारी पुरा गर्नुपर्नेछ ।
६. म यो साझा संस्था निर्माणको लागि सहभागि हुन राजी छु अब मैले कसरी सहभागिता जनाउन सक्छु ?
तपाईले हाम्रो इमेलमा सम्पर्क गर्नुहोस आफ्नो राय सुझाव दिनुहोस र अरु नयाँ विचारहरु दिनुहोस । तपाई रहेको ठाँउमा शाखा निर्माणको लागि तयारीमा जुट्नुहोस । यो संस्था जसरी भएपनि स्थापना हुन्छ र यसैवेला यसको स्थापनाको लागि आफूलाई सहभागिता गराउने अवसर नगुमाउनुहोस ।
७. यो संस्था सफल नै हुन्छ भन्ने आधार चाहि के छ ?
यो सामुहिक आवश्यकताको महशुस भए पछि शुरु गरिएको संस्था हो र यसको स्थापनामा कम्तिमा १० भन्दा बढि मुलुकमा रहेका नेपाली स्रष्टाहरुको सहभागिता रहनेछ र यो संजाल समावेशि हुनेछ । नेपाली भाषा साहित्यको सट्टामा नेपाली साहित्य भन्ने छौ जस भित्र नेपालमा बस्ने सबै जातजातिको भाषा साहित्यलाई समेत समेट्ने छ । नेपाली खस/पर्वते भाषा साहित्य मुख्य सम्पर्कको माध्याम हुनेछ । यिनै सिद्धान्त सहित पारदर्शि र प्रजातान्त्रिक प्रणाली नै यसको सफलताको मुख्य कडी हुनेछ ।
|
Comments