Inside

All Time Top 50 News

कर्मकाण्डी पोको बोक्ने बाहुन हास्यव्यङ्यका महारथी: वासुदेव लुइटेल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 28 April 2013 14:59

Exclusive: 2 photos: काठमाडौं- वासुदेव लुइटेल पुराण भन्ने, न्वारन र श्राद्ध गर्ने, नाग टास्ने, कुश बाँड्ने र डोरा बान्ने कर्मकाण्डी बाहुन थिए । सिधा उठाउन उनी ढुङ्गाअड्गाबाट हिँडेर जोरपाटीसम्म पनि पुग्थे । स्वास्नी, छोराछोरी पाल्नु पर्ने वाध्यता पनि जोडिनाले पुस-माघमा पनि उनी खाली खुट्टा नै हिंड्थे । त्यसै प्रसङ्गमा उनले भने, 'त्यस बखत भनेका बेला म पेटभरि खान पनि पाउँदिन थिएँ ।'


कुनैबेला लुइटेल मदन पुरस्कार गुठीका पहरेदार थिए । तर उनी विस्तारै दाँत र नङ्ग्रा बिहीन बाघमा रुपान्तर हुन थाले । यसैक्रममा उनले भनेका थिए 'म बाहिरबाहिर नैनसुत र भित्रभित्रै भूइँमा सुत थिएँ । ज्यूदो लास भएर पनि मैले मदन पुरस्कार गुठी धाईरहें । मलाई कमल दीक्षितले आफ्ना मुखबाट एउटा ठूलो खकारको ढिक्का निकालेर वासुदेवजी 'आँ' गर्नुहोस् भन्नुभयो भने पनि म 'आँ' गरेर त्यो खकार निलिदिन्छु ।'

लुइटेलले जगदम्बा छापाखाना, मदन पुरस्कार गुठी र कमल दीक्षितको मन, वचन र कर्मले सेवा गरे । तर उनी दामको पछि कहिले लागेनन् । मदन पुरस्कार स्थापनाकालमा उनको मासिक बाह्र सय रुपियाँ तलब थियो । ४० वर्षम्म पनि त्यहाँ उनले त्यति नै तलबमा काम गरिरहे । त्यसबारे पनि उनले भनेका थिए, 'मालिकले दया गरेनन् र मैले पनि भन्सुन् गरिन ।' यति हुँदाहुँदै पनि उनले मदन पुरस्कार गुठीको नाक, कान, आँखा र मुख भएर खुरुखुरु काम गरे । त्यतिमात्र होइन कमल दीक्षितलाई तातो घामले विचलित नपारोस् भनेर उनी कहिले बाटोका छेउमा झाङ्गिएको रूख झैं भएर पनि उभिए । अनि कहिले पहरा भएर उनले दीक्षितप्रति खन्निएको आँधी, हुरी र बतास पनि छेकी दिन्थे ।

लुइटेल नेपाली भाषासाहित्यमा हास्यव्यङ्ग्यकारकारूपमा सुपरिचित थिए । भूतका भिनाजुलगायत सत्तरी थरी उपनाउँमा उनले जीवनभरि लेखिरहे । उनले १९९७ सालमा 'शारदा' मार्फत आफ्नो लेखनयात्राको आरम्भ गरे । उनको पहिलो किताब 'भूत छैन' २००६ सालमा प्रकाशित भयो । अनि उनका जम्मा १० वटा कृति प्रकाशनमा आए । उनले केही पत्रिकाको पनि सम्पादन गरे । उनले संस्कृतको वैराग्यशतक र नीतिशतकलाई नेपालीभाषामा रूपान्तर गरे । साथै उनले शान्ता श्रेष्ठदेखि श्यामप्रसाद शर्मासम्मका कृति पनि प्रकाशनमा ल्याइदिए । त्यति मात्र होइन उनले भीमनिधि तिवारीदेखि भैरव अर्यालसम्मलाई शिखरमा पुर्याउन तपस्या पनि गरे ।

Prominent Nepalese satirical author late Basudev Luitel. Photos courtesy: Nai Prakashan

लुइटेल नेपाली भाषासाहित्यका ओजस्वी साधक थिए । त्यसैले उनको सम्मानमा पनि एक दर्जन किताब लेखिए । साथै उनका नाउँमा सयौँ लेखरचना निर्माण भए । उनका छोरा डा. विद्यादेव शर्मा तथा बुहारी डा. नन्दिता शर्माकोसमेत सहयोगमा 'वासुदेव लुइटेल' नामक एउटा स्तरीय स्‍मृतिग्रन्थको पनि प्रकाशन भयो ।

लुइटेलले २०२३ सालमा कौवा प्रकाशनको स्थापना गरे । त्यस प्रकाशनले नेपाली हास्यव्यङ्यक्षेत्रका अनेक स्रष्टाको न्वारन पनि गरिदियो । त्यस क्षेत्रमा त्यतिबेला यिनले फलाम छुँदा पनि सुन हुन्थ्यो । कौवा प्रकाशनले दिग्विजय हासिल गरेपछि उनले आधा दर्जन यस्तै प्रकाशन संस्था खोलिरहे र तिनको सञ्चालन पनि गरिरहे । साथै उनले भैरव वासुदेव छात्रवृत्ति, जानकी नन्दी गाउँसेवा छात्रवृत्ति, वासुदेव शान्ति विद्यावारिधि छात्रवृत्ति आदि पनि चलाए । अनि उनले २०५० सालमा वासुदेव लुइटेल पुरस्कारको स्थापना गरे । एक लाख रुपियाँ राशिको यो पुरस्कारले तत्कालीन परिवेशमा एउटा सकरात्मक भूकम्प नै ल्याईदियो । यसै प्रसङ्गमा उनले भने 'मैले एक लाख रुपियाँको पुरस्कार राखे लगत्तै मेरा मालिक कमल दीक्षितले पनि मदन पुरस्कारको राशिलाई पचास हजार रुपियाँबाट बढाएर हृवात्तै एक लाख पुर्याई दिनुभयो ।'

झङ्कनाथ शर्मा र चन्द्रप्रभा लुइटेलका एउटै छोरा वासुदेवको जन्म १९७४ साल भदौ २३ गते काठमाडौँको नैकापमा भएको थियो । लुइटेलले तीनधारा पाकशालामा पढे । यिनले घोकेर नै वेदका चालीस अध्याय पानी पारेका थिए । त्यसै विद्याले उनले नेपालीभाषा प्रकाशिनी समितिमा पण्डितको जागिर खाए । त्यहाँ यी बालकृष्ण समका सहायक थिए । त्यहाँ पाँच वर्षकाम गरेर २००४ सालमा उनी गोरखापत्र छापाखानाको पण्डितमा भर्ना भए । त्यसैताक उनी जुद्धोदय हाइस्कुलमा पनि पढाउँथे । सँगसँगै उनले कान्तिईश्वरी राज्यलक्ष्मी हाइस्कुलमा पनि पढाए । निरन्तर दुइ दशकसम्म दुवै स्कुलमा पढाएर उनले कुशल शिक्षकको सम्मान पनि पाए । त्यसै माझ उनले नक्साल रात्रि पाठशाला हाइस्कुलमा पनि ६ वर्ष पढाए । यी साइकलमा बिहान, दिउँसो र रातिका स्कुलहरुमा धाउँथे । पछि उनी स्कुटर चढ्ने हैसियतमा पनि पुगेका थिए ।

लुइटेलले १८ वर्ष उमेरमा ललितपुर धापाखेलका जीवननाथ पोख्रेलकी जेठी छोरी जानकीदेवीसँग बिहे गरे । जानकीबाट धन र कमला जन्मे । अनि उनले फेरि पढेकी केटी खोजे । बालकृष्ण समको सहयोगमा यिनले जावलाखेलका सोमनाथ पौडेलकी कान्छी छोरी शान्तिसँग पुनः बिहे गरे । कान्छी ल्याएपछि उनले आफ्नी जेठी बूढी जानकीदेवीलाई रानी जगदम्बाका चाकरमा पुर्याए ।

लुइटेलकी कान्छी श्रीमतीबाट विद्यादेव, प्रतिभा र उषा जन्मे । अनि बूढेसकाल भएपछि यिनले जेठी पत्नी पनि आफ्नै घरमा ल्याए र दुवै पत्नीलाई एकै ठाउँमा राखे । लुइटेलभन्दा दस वर्षपहिला झन्नै एक वर्षको अन्तरमा यिनका दुवै पत्नी स्वर्गीय भए ।

लुइटेल मान्छेसँग इत्रिएर, जिस्किएर र लाडे पारामा पनि बोल्थे । त्यसैले उनलाई नबुझ्ने उनीसँग टाडै बस्थे । उनीसँग एक चोटि भेटेका मान्छे कि उनका प्रिय हुन्थे या उनको नाउँ सुन्न मान्दैन थिए । एक पटक मदन पुरस्कार गुठीमा लोकेन्द्रबहादुर चन्दका जेठा छोरा जयन्त चन्द पुगे । लुइटेलले जयन्तलाई 'ए गोठालाका छोरा कताबाट आइस्?' भन्दा जयन्त फनफनी घुमेर त्यहाँबाट हिंडेका थिए । वास्तवमा पहिलो पटक भेटेका मान्छेलाई उनी एउटा नाउँ नराखी कुराको आरम्भ नै गर्दैन थिए । साथै लुइटेलको सबैभन्दा ठूलो सोख साहित्यकारको फोटो खिच्ने मानिन्थ्यो । उनले साहित्यकारहरूको प्रायः टेप गरेर पनि राख्थे ।

लुइटेल बाँचुन्जेल रानी जगदम्बाका भक्त थिए । यसको प्रमुख कारण के थियो भने- त्यस बेला लुइटेलको जग्गा लिलाम हुन लागेको रहेछ । त्यो लिलाम वञ्चित गराउन जगदम्बाले लुइटेललाई पन्ध्र हजार रुपियाँ दिएकी रहेछिन् । अनि त्यही जग्गा जोगिएकाले उनी लखपति हुँदै अन्ततः करोडपतिसम्म पनि भए । त्यसैले जगदम्बाको निधनमा यिनले १३ दिनसम्म सेतो टोपी लगाए । आफ्ना बुबा स्वर्गीय हुँदा लगाएको त्यो टोपी उनले आफ्नो सन्दुकमा राखेका थिए । त्यसैले त्यसबेलासम्ममा त्यो टोपी हल्का पहेंलो भैसकेको थियो ।

नेपाली हास्यव्यङ्यका महारथी वासुदेव लुइटेलको २०६३ साल भदौ २५ गते काठमाडौंमा स्वर्गीय भयो । त्यसबेला उनी ९० वर्षमा हिंड्दै थिए ।

-Narendraraj Prasai in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.