Inside

All Time Top 50 News

जङ्गबहादुरका सल्लाहकार सनकसिंह टण्डन: सिद्धान्त र व्यबहारका लखपति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 10 April 2012 05:54

काठमाडौं- सनकसिंह टण्डन नेपालका एकजना वीर सैनिक थिए । उनीमा देशभक्ति जति थियो धर्मकर्मप्रति पनि त्यति नै श्रद्धा र विश्वास थियो ।

उनले नेपालको गरिमा, महिमा र स्वतन्त्र अस्तित्वको सम्वर्धनकालागि आफ्नो ज्यानको बाजि लगाई भोटसँगको लडाइँ र लखनउँ युद्धमा नेतृत्व गरेका थिए । वास्तवमा ती युद्धमा नेपाललाई विजय गराउन उनको पनि ठोस योगदान थियो । अनि उनको त्यही कार्य नेपालको राष्ट्रियताको इतिहासमा स्वर्णिङ्कित छ ।

टण्डनको मन वचन र कर्म नेपालको सार्वभौमिकताको संरक्षण र सम्बद्र्धनमा जोडिएको थियो । उनी देशभक्तिका एउटा सग्लो नमुना थिए । त्यसैले उनले आफ्नो सम्पूर्ण जीवन नेपालकै हितमा समर्पण गरे । उनको कामप्रति राजा र प्रधानमन्त्री खुसीले गदगद थिए । त्यसैले उनले कमाण्डिङ कर्णेलको पद पाए । जुन ओहोदा जनताका छोराकालागि सबैभन्दा ठुलो थियो । त्यतिमात्र होइन उनको वीरतापूर्णको कार्यकालागि राजा सुरेन्द्रले उनलाई काठमाडौंको बत्तिसपुतलीमा ८१ रोपनी जग्गा पनि बक्सिस दिएका थिए । त्यही ठाउँमा आँफैले पैसा हालेर उनले २९३ रोपनी जग्गा पनि जोडे । अनि बत्तीसपुतलीको त्यही थुम्कोमा १९२८ सालमा उनैले राममन्दिरको स्थापना गरे । तर विभिन्न चरणमा त्यहाँको जग्गा अतिक्रमण भैरह्यो र अन्ततः आज ठिङ्ग मन्दिर उभिने मात्र ठाउँ रहेको देखिन्छ ।

Sanaksingh Tandon. Photo courtesy: Nai prakashan

टण्डन दानवीरका नम्बरी सुन थिए । अर्घाखाँचीको बलकोटमा पनि उनले आफ्ना बुबा र भाइका स्मृतिमा स्थापना गरेका श्रीपरशुरामेश्वर र इन्द्रेश्वर मन्दिरको नाउँमा ८० वटा घरकुरियासहित झन्डै १३ हजार रोपनी जग्गाको गुठी राखेका थिए । त्यहीं नै उनले सत्तल, पाटीपौवा धारा, पोखरी र मन्दिरहरु पनि बनाए । तर पछिपछि ती मन्दिरहरु जीर्णेद्वारको अभावमा त्यतिकै भत्कने क्रममा लागे । अनि त्यस ठाउँलाई गुठी संस्थानले आफ्नो अधिनमा लियो तर व्यवस्थापनको अभावमा त्यो लथालिङ्ग नै भयो ।

टण्डन जति दानी थिए त्यति नै इमानदार पनि थिए । उदाहरणकालागि भन्ने हो भने बत्तिसपुतलीको राममन्दिरको डाँडो पहिले धेरै अग्लो र चुचो थियो । त्यस डाँडालाई सम्याउने क्रममा तीन घ्याम्पा सुनका असर्फीहरु भेटिएका थिए । अनि उनले त्यो बेहोरा राजा सुरेन्द्रलाई जाहेर गरे । राजाले ती असर्फी तिमी आँफै लेउ भनेपछि यिनले त्यही धनसमेत गाभेर राममन्दिर बनाएका थिए ।

परशुराम खत्रीका जेठा छोरा सनकसिंह टण्डनको जन्म १८६७ साल (अनुमानित) अर्घाखाँचीमा भएको थियो । युवाकालको प्रवेशसँगै उनी लाहुरे भए र उनले खत्री थर छाडेर टण्डन लाहुरी क्षेत्री लेख्न थाले । यी १९०४ सालतिर गोरखादलको कप्तान भइसकेका थिए ।

जङ्गबहादुर राणासँग टण्डनको सम्बन्ध क्रमशः बाक्लो हुन थाल्यो । अनि राणासँग टण्डनले आफ्नी बहिनी नन्दकुमारीको बिहे गरिदिए । जङ्गलमा हात्ती समाएर दिनचर्या विताउने स्थितिका गरिब जङ्गबहादुरले सनकसिंहबाट धेरै दाइजो पनि पाए । वास्तवमा त्यसपछि नै जङ्गबहादुर आर्थिकरुपमा सबल पनि भए र आफ्ना जेठानसँग कृतार्थ पनि भए । जङ्गबहादुरका छोरा पद्मजङका अनुसार ख्यातिप्राप्त व्यक्तित्वकी चेली बिहे गरेपछि जङ्गबहादुरको जीवन सफल भयो ।

तत्कालीन नेपालको तराई भेकमा औलोको प्रकोप धेरै थियो । यसबारे पनि टण्डनले चिन्तन गरे । अनि उनले अब तराईमा अवादी बढाएर औलो उन्मुलन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । त्यसपछि उनले जग्गा अवाद गर्न लगाई तराईमै गएर केही काल मुकाम जमाए । त्यसैबेला उनले आफ्नालागि धेरै जग्गा आवाद गराएका थिए । तर उनले जति धन आर्जन गर्थे त्यो धर्मकर्म र समाजसेवामा चढाउने गर्थे । त्यसैले त्यसबेला उनले बनाएका विभिन्न मन्दिरहरु र राममन्दिर पनि स्रोत र साधनबाट पनि झकिझकाउ थियो ।
टण्डनले सुरुमै राममन्दिरमा राम, सीता, लक्ष्मण, भरत, शत्रुघनको कालो ढुङ्गामा निर्मित मूर्ति स्थापित गराए । त्यति मात्र होइन उनले मन्दिर प्राङ्गणमा नै चारवटा धर्मशाला, बानेश्वरको चौबाटोमा धर्मशाला र धारा बनाए । उनैले बत्तीसपुतलीमा इनार र पाटी बनाए । तर ती सबै घरहरु प्रजातन्त्रको आगमनसँगै अर्थात् २००७ सालपछि क्रमशः प्रजाहरुले ओगट्न थले र टण्डनका दानगृहहरु जनगृहहरुमा रुपान्तरित भए ।

टण्डन पाका विचारले भरिएका दुरदर्शी थिए । उनी सिद्धान्त र व्यबहारका लखपति पनि थिए । उनका बारे धेरैले धेरै कुरा लेखे । अनि उनका वङ्शज डा. गोविन्द टण्डनले पनि लेखे- 'कमाण्डिङ कर्णेल सनकसिंह टण्डनमा भएको रणकुशलता चातुर्य इमान्दारी र राष्ट्रप्रतिको वफादारीको कारणले नै हो उनलाई संवेदनशील र महत्त्वपूर्ण कार्यहरु सम्पन्न गर्ने जिम्वेवारी विभिन्न समयमा दिएको घटनाहरु भेटिन्छन् ।'

राजा राजेन्द्रबाट १९०४ सालमा अलौको बिसौलीयामा केन्द्रको शासनका विरोध हुन थाल्दा त्यसको दमन गर्ने जिम्मा टण्डनले नै पाए । राज्यलाई जवजव अप्ठुरो पथ्र्यो तबतब उनी नै गुहारिन्थे । साथै उनलाई जुन काम सुम्पिए पनि उनी त्यसको जय गराएरै छाड्थे । उनी जङ्गी र निजामति दुबैतिर बराबरी पोख्त थिए । उनैले १९२४ सालमा गुरुङ जातिको जातको थितिमा उठेको ठूलो कचिङ्गलसमेत सामसुम पारेका थिए ।

टण्डन सामाजिक भावना भएका उदार दिलका प्रतिमूर्ति थिए । राजनीतिमा पनि उनको बलियो सोच र फराकिलो विवेक देखिन्थ्यो । त्यसैले प्रधानमन्त्री भएपछि जङ्गबहादुर राणाले उनलाई सल्लाहकारमा राखे । वास्तवमा उनी जेठान भएका नाताले मात्र होइन उनको विशाल ह्दय भएका कारण उनी जङगबहादुरका पतेरा थिए । राज्यका उच्च ओहोदाका पदाधिकारीहरु प्रायः सबैले उनैको पनि सल्लाह लिन्थे । अनि विशेष गरेर उनी जङ्गबहादुरको राजनैतिक सल्लाहकारका रुपमा चािहं प्रख्यात थिए ।

टण्डनको महानताको समकालीन शासक र जनताले जयगान गाइरहे । धेरैका हृदयमा बसेका टण्डन १९५२ तिर कासीमा स्वर्गीय भए । नेपालको इतिहासले टण्डनको मूल्याङ्कन गरिरह्यो । उनको योगदानको छापलाई ज्यूँदो राख्न र उनले भोट र लखनौँ युद्धमा देखाएको वीरताको केही झलक दिने खालका उनले प्रयोग गरेका विविध सामाग्री हातहतियार र पोशाकहरु राष्ट्रिय सङ्ग्राहलयमा प्रदर्शित थिए । तर दुर्भाग्य पचासको दशकमा आएर सरकारले ती सबै सामाग्री त्यहाँबाट हटाई दियो ।

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.