NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"बुबालाई उहाँका सल्लाहकारहरुले राम्रो सल्लाह दिएनन् । राजतन्त्रको अन्त्य हुनुको मूल कारण यही हो"- पूर्व युवराज पारश शाह PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 05 May 2010 13:37

"त्यो घटना भएको उनको (हिमानीको) गल्तीले होइन, मैले धेरै पिएकैले हो । अनियन्त्रित रुपले धेरै पिएपछि मेरो हात चाँडो अघि सर्छ ।"
Exclusive interview:
काठमाडौं- मंगलबार साँझ एकिकृत नेकपा (माओवादी) ले अनिश्चितकालीन आम हडतालको चौंथो दिन २०६७ बैशाख २१ मानब साङ्गलो बनाएर चक्रपथ घेरिरहँदा माओवादी आन्दोलनकै कारण राजा बन्ने सम्भावना गुमाएका पूर्व युवराज पारश महाराजगन्ज चक्रपथबाट नजिकै रहेको निर्मल निवासमा यूएस नेपाल अनलाइन डटकम र जनआस्था साप्ताहिककालागि विशेष कुराकानी गर्दै थिए ।


गणतन्त्रको स्थापनापछि नेपाली सन्चार माध्यमलाई पारशले 'फेस टु फेस' अन्तर्वार्ता दिएको यो पहिलो पटक थियो । एक सिँगापुरे पत्रिकालाई भने उनले गत साल अन्तर्वार्ता दिएका थिए ।

पूर्व युवराज पारश निर्मल निवासमा Former Crown Prince Paras Shah in Nirmal Niwas, Kathmandu. Photo: Sitaram

दरवार हत्याकाण्डका प्रत्यक्षदर्शी पारशसँग दरवार हत्याकाण्डकाबारे थप तथ्य खोतल्नकालागि गरिएको लामो प्रयासपछि यो भेटघाट सम्भव भएको थियो । सिँगापुरे पत्रिकालाई दिएको अन्तर्वार्तामा पारशले आफ्ना दाजु दीपेन्द्रले देवयानीसँग विहे गरेपछि आवस्यक पर्ने खर्च जुटाउने क्रममा नेपाली सेनालाई खरिद गरिने हतियारबाट कमिसन खान खोजेको र त्यसै क्रममा दरवार हत्याकाण्ड भएको खुलाशा गरेका थिए । यसपटकको कुराकानीमा उनले यही कुरा दोहोर्याए । त्यसपछि उनीसँग औपचारिक कुराकानी सुरु भयो ।

औपचारिक कुराकानीको क्रममा उनी आश्चर्यजनक ढंगले खुलेर प्रस्तुत भए । निर्मल निवासको पश्चिमतर्फ रहेको सानो पोर्टिका मुनि भएको कुराकानीमा उनी रोचक पाराले प्रस्तुत भए । उनले आफ्ना बिगतमा विवादास्पद कृयाकलापहरुबारे आत्मालोचनामात्र गरेनन् आफ्नो अलोकप्रियताका कारणपनि राजतन्त्रको अन्त्य भएको स्वीकार गरे । आफ्ना गल्तीहरुबारे यसरी सार्वजनिक रुपले थोरै मानिसलेमात्र क्षमा माग्छन् तर उनले सहज भावले प्रविण गुरुङ्गको मृत्यु आफूले चलाएको गाडीको ठक्करबाट भएको स्वीकार गरे । र देशवासीसँग क्षमापनि मागे ।

Former Crown Princess Himani Shah. Photo courtesy: Royal source

"पिउँदै नपिउने मान्छे पिएँ अली कति
उनको बचन राख्न लिएँ अली कति
जसलाई सोधे पनि गाह्रो छ जिउन भन्छन्
त्यो हो कि होइन जाँच्न जिएँ अली कति"


उता रक्सीलाई गजलमा यसरी चर्चित गजलकार प्राज्ञ बुँद राना मगरले चिटिक्क पारे पनि पारसले भने आफ्नी श्रीमती हिमानीले मना गर्दा गर्दै अचाक्ली पिएर बिचरीलाई कुट्नसम्म कुट्पिट गरेका थिए, त्यो उनले प्रस्ट स्विकारे।

हाम्रो कुराकानी यसरी शुरु भयो:

० के गरी दिन बिताउँदै हुनुहुन्छ ?

- बिशेष केहीपनि गरेको छैन । साथी भाईसँग गफ गर्छु । गितार बजाउने सोख छ । गितार बजाउँछु, बस्छु । यसबाहेक पेन्टिङ्गपनि गर्छु । ६ कक्षामा हुँदादेखि हो गिटार बजाउन थालेको, गिटारसँगै गीत गुन्गुनाउन मन लाग्छ ।

० अहिले उत्पन्न राजनीतिक परिस्थितिबारे के धारणा छ  ?

- म भर्खर सिँगापुरबाट फर्केको छु । यहाँको धेरै कुरा मलाई थाहा छैन । जुन खालको राजनीतिक असहमति देखिएको छ, नेताहरुले वार्ता र सम्बादमार्फत छिटोभन्दा छिटो यो समस्याको समाधान गरे हुन्थ्यो भन्ने मलाई लाग्छ । किनभने यसले नेपाल र नेपाललाई फाइदा पुग्दैन । विदेशीलाई बनाउने हो भने उनीहरु झगडा गरिरहुन् । नेपाल बनाउने हो भने उनीहरु मिल्नुको बिकल्प छैन ।

आगामी दिनमा विश्वमा तीन कुराको निकै ठूलो महत्व हुनेछ, त्यो हो- पानी, खाद्यान्न र बिजुली । यीमध्ये दुईवटा चिज हामीसँग छ । विदेशीहरु हामीसँग भएका यी दुईचिज हात पार्न लागेका छन् र हामीलाई लडाउने काम गरिरहेका छन्, यो कुरा हाम्रा नेताहरुले बुझ्नुपर्छ ।

० राजतन्त्र फाल्ने राजनीतिक दल र नेताहरुबीच झगडा परेको देख्दा खुसी लागेको छैन ?

- म त्यसरी खुच्चिङ्गको भावना भएको मानिस होइन । ममा नकरात्मक भावना छैन ।

० तैपनि गणतन्त्र आएकाले राजा हुन पाउनु भएन नि त !

- म जहाँ जन्मे र जस्तो परिवेशमा हुर्कैं, त्यो परिवेश भनेको युवराज वा राजा हुने परिवेश थिएन । मेरो परिवेश भनेको युवराज र राजालाई कसरी सहयोग गर्ने भन्नेमात्र थियो । राजदरवार हत्याकाण्डका कारणमात्र म युवराज हुन पुगेको हुँ । वास्तवमा मलाई युवराज वा राजा हुने कुनै रहर वा रुचि थिएन ।

० राजतन्त्रको अन्त्य किन भयो होला ?

- बुबालाई उहाँका सल्लाहकारहरुले राम्रो सल्लाह दिएनन् । राजतन्त्रको अन्त्य हुनुको मूल कारण यही हो । राजकाजमा राजनीतिक सल्लाहकारहरुको निकै ठूलो महत्व हुन्छ । मेरा एकजना सहयोगीले भनेको नीति कथा म तपाईंलाई सुनाउँछु ।

एउटा जंगलमा दुईवटा मृग रहेछन्, जताततै ठूलो अनिकाल लागेछ, त्यसैले खानेकुरा पाइन्छ कि भनेर उनीहरु भौंतारिँदै हिँडेछन्, बीचमा एकजना मान्छे भेटिएछ, उसले राजाकहाँ जानु, खानेकुरा त्यहीँ पाइन्छ भनेछ, ती मृगहरु राजाकहाँ गए र खानेकुरा पनि पाए ।

दुई वर्षपछि अझ डरलाग्दो अनिकाल लागेछ, त्यसैले उनीहरु फेरि दरबारतिर लागे । बाटामा त्यही मान्छे भेटिएछ, तर उसले यसपटक अर्कै सल्लाह दिएछ । उसको भनाइ रहेछ- 'जताततै अनिकाल छ त्यसैले दरबारमा पनि खानेकुरा छैन, त्यहाँ नजाऊ किनभने यसपटक राजाले खानेकुरा दिनुको साटो तिमीहरुलाई सुकुटी बनाएर खाइदिन सक्छ ।' तर सल्लाह नमानी उनीहरु दरबार गए । त्यहाँ खानेकुरा केही थिएन त्यसैले दुवै मृगलाई मारेर सुकुटी बनाइयो । राम्रो सल्लाहको यस्तो महत्व हुन्छ । बुबा ज्ञानेन्द्रले राम्रा सल्लाहकार पाइबक्सेन त्यसैले राजतन्त्र गयो ।

० के दरवारमा आलोचनात्मक कुरा गर्ने सल्लाहकार थिएनन् त !

- अवश्य थिए, तर उनीहरु दरबारभित्र हावी हुन सकेनन् । भैदियो के भने, हाम्रो समर्थनमा भीड कसरी जम्मा गरिएको हुन्थ्यो, त्यो बुझ्ने काम भएन, भएजति सबै हाम्रै पक्षमा छन् भन्ने सोचेर निर्णय गर्दा यस्तो स्थिति सिर्जना भयो । जयजयकार गर्नेभन्दा क्रिटिकल कुरा गर्नेहरु असल मित्र हुन्छन् भन्ने पाठ हामीले सिक्न सकेनौं । पाँच जना व्यक्तिले दिएको गलत सल्लाहका कारण यस्तो स्थिति सिर्जना भयो । ती व्यक्तिहरु अहिले पाखा लागिसकेका छन् ।

० राजतन्त्रको पतन हुनुमा आफ्नो अलोकप्रिय भूमिकापनि जिम्मेवार छ भन्ने लाग्दैन ?

- यो कुरा म स्वीकार गर्छु । हो, म अलोकप्रिय छु । र राजतन्त्र अलोकप्रिय हुनुमा मेरो पनि केही भूमिका अवश्य छ । मेरो तर्फबाट सबैभन्दा ठूलो गल्ती संगीतकार प्रवीण गुरुङको मृत्यु हुँदा भयो, अरुहरुको लहैलहैमा लागेर घटनालाई ढाकछोप गर्नतिर नलागेको भए हुन्थ्यो । यो कुराको महसुस मलाई छ । गल्ती भयो यसप्रति म देशबासीसँग क्षमा माग्न चाहन्छु । त्यही महसुस भएर त सबै कुरा त्यागेर बसेको छु ।

० रक्सी पिएपछि तपाईं अलिक अनियन्त्रित हुनुहुन्छ रे हो ?

- यो कुरापनि साँचो हो । तपाईंलाई म कुरा नलुकाई भन्छु अलिक धेरै रक्सी पिएपछि केही कुरा देख्दिन । मलाई धेरै बिगारेको रक्सीले हो । त्यसैले आजकल रक्सी खान छाडेको छु खाँदै खान्न भनेको होइन साथीभाइसँगै बसेपछि 'चियर्स' का लागि पिउने हो, नत्र धेरै दिन भयो मैले पिएको छैन ।

० हिमानी भाउजुलाई कुट्नु भएकोपनि धेरै रक्सी खाएरै हो त !

- हो । त्यो घटना भएको उनको गल्तीले होइन, मैले धेरै पिएकैले हो । अनियन्त्रित रुपले धेरै पिएपछि मेरो हात चाँडो अघि सर्छ । अनि यस्ता घटना हुँदा रहेछन्, जुन कुरा नशाले छाडेपछि मात्र म थाहा पाउँछु । पिउन छाडेपछि अहिले हाम्रो सम्बन्ध राम्रो छ, यो कुरा तपाईंले कुनै दिन आफ्नै आँखाले देख्न सक्नुहुनेछ । हामी सँगै बसेर कुराकानी गर्नेगरी म तपाईंलाई कुनै दिन बोलाउँला ।

० पिउन छाडेपछि रक्सीको तलतल लागेको छैन ?

-  तलतल नलागोस् भनेर यसरी कफी पिउने गरेको छु । (झण्डै आधा लिटर जाने कपभरि उनी कफी पिउँदै थिए ।)

० डाक्टरले चुरोट नपिउन सल्लाह दिएपनि चुरोट त छाड्नु भएको रहेनछ त !

- डाक्टरले यो नखा, त्यो पनि नखा भनेपछि टेन्सन हुन्छ । टेन्सनले स्वास्थ्यलाई झन् हानी गर्छ, त्यसैले थप हानी नपुगोस् भनेर चुरोट पिएको हुँ ।  जेले मलाई बिगारेको हो, त्यो रक्सी हो । रक्सी पिउन मैले छाडिसकेको छु ।

० भाउजु (हिमानी) सँगको सम्बन्धमा तिक्तता आएपछि बुबाआमाले हप्काउनुपनि भयो होला, होइन ?

-  (हाँस्दै) म आफूले आफैंलाई चिन्नुपर्छ भन्ने मान्छे हुँ, कसैले हप्काएर सुधार्छु भन्छ भने दच्किने मान्छेचाहिँ होइन ।

० रक्सीले तपाईंलाई मात्र किन यस्तो विधि अनियन्त्रित बनाउँछ ?

- एकजना डाक्टरले भनेको- 'विवाहको कारणले पनि हो रे यस्तो भएको ! शाह फ्यामिलीमा चार-पाँच पुस्तादेखि राणाहरुसँग विवाह भयो, तर तपाईंको बिहेचाहिँ सिँह परिवारसँग भयो । यो कारणले पनि यस्तो भएको हुनसक्छ ।'

० राजतन्त्र यसरी सजिलै जाला भन्ने लागेको थियो ?

- जब नयाँ दिल्लीमा १२ बुँदे समझदारी भयो, 'अब परिस्थिति बिग्रियो, राजतन्त्र रहँदैन' भन्ने कुरा मैले बुझिसकेको थिएँ । बुबा त्यो बेला अफ्रिकाको भ्रमणमा होइसिन्थ्यो । दिल्ली सम्झौता भएपछि अब राजतन्त्र गयो भन्ने मलाई लाग्यो । यो कुरा मैले बुबालाई भनेको पनि हुँ । किनभने १२ बुँदे समझदारीमा विदेशीको हात थियो ।

० राजतन्त्र जानुमा विदेशीलाई दोष दिने हो भने तपाईंका पिताबाट किन 'जनचाहनाअनुसार गद्दी छाडें' भन्ने अभिव्यक्ति आएको त ! के सडकमा निस्केका लाखौं मान्छे नेपाली जनता थिएनन् ?

- आन्दोलनले गर्दा देशै ठप्प भयो, खानै नपाइने स्थिति सिर्जना भयो, यो स्थिति लम्ब्याउनुहुँदैन भनेर जनता सडकमा निस्के । (हाँस्दै) यस्तो स्थिति सिर्जना भएको थियो कि, मलाई पनि त्यो जुलुससँगै सडकमा निस्कौं जस्तो लागेको थियो ।

० राजतन्त्र नगएको भए तपाईंको नेपालको राजा भनेर तपाईंको नामपनि इतिहासमा लेखिन्थ्यो, किन दुख नलागेको हो !

-  जुन कुराको चाहना र महत्वाकांक्षा नै थिएन, यस्तो जिम्मेवारी पाएर इतिहासमा नाम लेख्दा के नै महत्व हुन्छ र ? अरुले राम्रो ढंगले चलाउन सक्छन् भने हामीले जिम्मेवारी ओगटेर बसिरहनु राम्रो हुन्थ्यो भन्ने मलाई लाग्दैन । जहाँसम्म इतिहासमा नाम लेख्ने कुरा हो, जसरी भएपनि मेरो नाम इतिहासमा लेखिइसकेको छ ।

० सिँगापुरमा खानपिनको व्यवस्था कसरी गर्नुहुन्छ ?

- म अलिक स्वतन्त्र हुन चाहने मान्छे, पहिल्यैदेखि कहिले बेलायत, कहिले अमेरिका बसियो, त्यतिबेलादेखि नै आफैं पकाउन थालेँ । विदेश गएका नेपालीले खाने यसरी नै हो, फरक कति मात्र भने म राजपरिवारको सदस्य भएकाले मेरो खानाको स्तर अलिक राम्रो हुन्थ्यो होला । तर प्रायःजसो म आफैं पकाएर खाने गर्थें । सिँगापुरमापनि आफै पकाउँछु । दालभात, तरकारी र मासु पकाउन आउँछ । कहिलेकाहीँ अर्डर गरेर मगाउँछु ।

० बाहिर पकाएर अर्डर गरी ल्याइएको खाना मीठो हुन्छ कि, आफैंले पकाएको खाना मीठो हुन्छ त !

-  नजान्ने मान्छेले पेन्टिङ गरेको चित्रजस्तो हुन्छ, नजान्नेले पकाएको खाना पनि त्यस्तै हुन्छ ।

० तपाईंको बुबा ज्ञानेन्द्रसँग के कुरामा हो खटपट पर्ने गरेको ?

- त्यस्तो खटपट केही छैन । डिस्एग्री (असहमति) र डिस्अर्डर (भद्रगोल) फरक-फरक कुरा हुन्, बुबासँग मेरो असहमति हुनसक्छन्, तर मैले उहाँको कुरा मान्दै नमान्ने भन्नेचाहिँ सत्य होइन ।

० त्यसोभए तपाईं नेपालमा रहँदा उहाँ किन कहिले नागार्जुन र कहिले शिवपुरी जानुहुन्छ त ?

- यसकुरामा म बुबाप्रति किन कृतज्ञ छु भने, उहाँले मेरो भावना बुझ्नु हुन्छ । म अलिक स्वतन्त्र प्रकृतिको मान्छे, मलाई अलिक बढी ठाउँ चाहिन्छ, त्यो बुझेर नै उहाँले यो ठाउँ निर्मल निवास छाडिदिनुभएको हो । तर भोलि शिवपुरीबाट यता आइसिन्छ । तत्काल मेरो सिँगापुर फर्किने कार्यक्रम छैन, त्यसैले अब केही दिन म यहाँ बुबासँगै रहन्छु ।

-Sitaram Baral in Kathmandu

Note: युएस नेपाल अनलाइनका नेपालस्थित बिशेष सम्बाददाता सिताराम बराल जन आस्था साप्ताहिकका सह-सम्पादक पनि हुन्।

Read related news:

'सासू ससुरा नभएको मौका छोपेर हिमानीले यसपटकको होली बडो रमाइलोसँग मनाउनुभयो ।'

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?