|
राजाबादीहरुको असली अनुहार देखिदैछ |
|
|
|
|
Written by Sitaram Baral
|
|
Sunday, 05 December 2010 10:13 |
|
काठमाडौं- विगतमा राजतन्त्रलाई मानेपनि गणतन्त्रको स्थापनापछि गणतन्त्रलाई सहर्ष स्वीकार गरेका पन्चायती पृष्ठभूमिका नेताहरुले आफूहरु वास्तविक गणतन्त्रबादी नरहेको बताएर आफ्नो वास्तविक अनुहार देखाउन थालेका छन् ।
गणतन्त्रकालागि योगदान दिएका तीन ठूला राजनीतिक दलहरुबीच सत्ताको खिँचातानी चलेर गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने चिन्ता अग्रगामी राजनीतिको पक्षमा रहेको बर्गमा देखिएका बेला आफूलाईपनि गणतन्त्रको कित्तामा उभ्याएको भनिएका पूर्व पन्चहरुले आफूलाई फेरि राजावादी बताउन थालेका हुन् ।
सम्बिधान सभाको निर्वाचनपछि २०६५ जेठ १४ गते सम्बिधान सभाको पहिलो बैठकले गणतन्त्रको पक्षमा अत्याधिक ठूलो संख्यामा मत जाहेर गरेको थियो । गणतन्त्रको बिपक्षमा राप्रपा नेपालका जम्मा ४ मत परेका थिए । पन्चायती पृष्ठभूमिका सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टी, पशुपति शमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासदहरुले समेत गणतन्त्रको पक्षमा मत हालेका थिए । गणतन्त्रकालागि संघर्ष नगरेपनि गणतन्त्र समयको माग रहेको बताउँदै उनीहरुले आफूहरुलेपनि अब गणतन्त्रलाई आत्मसात गरेको बताएका थिए ।
तर त्यो उनीहरुको राजनीतिक बहानाबाजी रहेछ भन्ने कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाको कथनले देखाएको छ । राजनीतिक कार्यक्रमको सिलसिलामा नेपालगन्ज पुगेका राणाले आफूहरुलाई राजावादीको रुपमा परिचय दिएका छन् । आइतबार त्यहाँ सन्चारकर्मीहरुसँग कुरा गर्दै राणाले भनेका छन्- 'तीन ठूला दलबीचको आन्तरिक विवादले मुलुकमा ठूलो संकट निम्त्याएकाले राजावादी तीन दल राजपा राप्रपा र राप्रपा नेपालका हामी नेताहरु देश दौडाहामा हिँडेका छौं ।'
राणाले भनेजस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा गत हप्ता पश्चिमी जिल्लाहरुको भ्रमण गरी राजधानी फर्किएका छन् भने राजपा अध्यक्ष सूर्यबहादुर थापा पूर्वी जिल्लाको भ्रमण सकी यसै हप्ता राजधानी फर्केका छन् । थापाद्धयको देश दौडाहा कार्यक्रम लगत्तै राणाको देश दौडाहा पश्चिमबाट सुरु भएको छ र उनले यसरी आफूहरुको देश दौडाहाको भित्री अभिप्राय प्रकट गरेका छन् । उनको कथनले राजावादी पार्टीहरु अब एक भएर गणतन्त्र ल्याउन भूमिका खेलेका ठूला राजनीतिक दलहरुलाई चुनौति दिने अभियान राजावादीहरुबाट सुरु भएको देखाएको छ ।
सम्बिधान सभाको चुनावताका ठूला तीन दलको प्रभावका कारण गणतन्त्रबादी बन्न पुगेका राप्रपा र राजपा अहिले प्रखर राजावादी पार्टीको रुपमा चिनिएको राप्रपा नेपालको बढ्दो शक्ति देखेर फेरि आफूलाई राजाबादी कित्तामै उभ्याउन थालेका हुन् । सम्बिधान सभाको चुनावताका गणतन्त्रको लहर चलेको थियो । त्यसैले आफ्नो अस्तित्वकालागि उनीहरुले गणतन्त्रलाई स्वीकार गरे । कतिसम्म भने, राजाकै कृपाले पटक पटक प्रधानमन्त्री बनेका राप्रपाका सभासद लोकेन्द्रबहादुर चन्दले समेत गणतन्त्रको पक्षमा मतदान गरेर सबैलाई छक्क पारिदिएका थिए ।
तर, अहिले तीन ठूला राजनीतिक पार्टीहरुबीचको सत्ताको छिनाझपटीले सर्वसाधारणमा राजनीतिक दलहरुप्रति बितृष्णा जाग्न थालेको छ । यो गणतन्त्रप्रति सर्वसाधारणमा बितृष्णा जाग्नुमा गणतन्त्रको कुनै दोष छैन, दोष छ त राजनीतिक दलहरुको । यही कारण यतिबेला राजावादी मानिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रभाव एकाएक बढ्न थालेको छ । अन्य पार्टीबाट राप्रपा नेपालमा प्रवेशको क्रम सुरु नभएपनि राप्रपा राजपालगायतका दलहरुबाट चाहिँ राप्रपा नेपालमा प्रवेश गर्नेहरुको क्रम बढेको छ ।
दुई हप्ता अघि राप्रपाका केन्द्रीय सदस्य तथा नेपालगन्ज नगरपालिकाका पूर्व मेयर धबल शमशेर राणा सो पार्टी त्यागी राप्रपा नेपालमा प्रवेश गरेका थिए । यसैगरी कर्णालीका केही केन्द्रीय सदस्यहरुपनि राप्रपा छाडी राप्रपा नेपालमा प्रवेश गर्ने तैयारीमा छन् । राजपाबाटपनि केही केन्द्रीय नेताहरु राप्रपा नेपालमा प्रवेश गर्न लागेको श्रोतको दावी छ । यो स्थितिमा आफूहरुले ओढेको गणतन्त्रको खोल नफाल्ने हो भने आफ्ना कार्यकर्ताहरु पनि कमल थापातिर जाने देखेर राणाले आफूहरुपनि राजावादी नै भएको दावी गरेका हुन् ।
यति बेला राप्रपा र राजपा एकिकरणको प्रकृयामा छन् । यो एकता प्रकृयामा राप्रपा नेपाललाई पनि सामेल गर्न खोजिएको थियो । तर राप्रपा नेपालले राप्रपा र राजपाले गणतन्त्र स्वीकार गरेकाले सैद्धान्तिक मतभिन्नता रहेको बताउँदै एकता प्रकृयामा सामेल हुन अस्वीकार गर् यो । तर आइतबार नेपालगन्ज पुगेर राणाले जसरी आफूहरुलाई राजावादीकै रुपमा चिनाए यसले के देखाएको छ भने, अब राप्रपा नेपाल र राप्रपा-राजपाबीच कुनै सैद्धान्तिक भिन्नता रहेन । उनीहरुबीच सैद्धान्तिक भिन्नता नरहेपछि उनीहरुबीचको एकतामा पनि अब कुनै समस्या र सैद्धान्तिक तगारो रहेन ।
यसरी अब नक्कली गणतन्त्रवादीहरुले आफ्नो खोल उघारेकामात्र छैन, गणतन्त्र स्थापनाकालागि भूमिका खेलेका ठूला राजनीतिक दलहरुलाई खुलेआम चुनौति दिन थालेको पनि देखिएको छ । यसको खुलाशा राप्रपा अध्यक्ष राणाले स्पष्टसँग गरेका छन् । के यसबाट गणतन्त्र स्थापनाकालागि भूमिका खेलेका ठूला राजनीतिक दलहरुले पाठ सिक्लान् ? उनीहरु आपसी मतभिन्नतालाई हटाउँदै बृहत राजनीतिक सहमति कायम गरेर अघि बढ्न तैयार होलान् ?
-Sitaram Baral in Kathmandu
|
Comments