| जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने |
|
| Written by Sitaram Baral | |||
| Friday, 17 April 2009 05:37 | |||
|
काठमाण्डौं, माओवादी नेतृत्वमा गठन भएको जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने भएको छ ।
कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सुपि्रम कमाण्डर रहेको जनमुक्ति सेनालाई राजनीतिक विषयबस्तुमा टीकाटिप्पणी गर्न प्रचण्डले नै अध्यक्षता गरेको एक बैठकले प्रतिबन्ध लगाएको हो । सेना समायोजन विशेष समितिको विहीबारको बैठकले अव जनमुक्ति सेनाले राजनीतिक विषयमा टीकाटिप्पणी गर्न नपाउने निर्णय गरेको हो । बैठक समितिका संयोजक रहेका प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको थियो । जनमुक्ति सेनाले शिविरहरुमा माओवादी पार्टीको झण्डा लगायतका बस्तु प्रयोग गर्ने गरेकोमा यस्ता सामाग्री प्रयोग गर्नपनि सोही बैठकले रोक लगाएको समितिका सदस्य मोहम्मद हबिबुल्लाहले बताए । यसअघिसम्म जनमुक्ति सेना माओवादी पार्टीको मातहतमा रहेकोमा सेना समायोजन विशेष समितिको गठनपछि यसलाई समिति अन्तर्गत राखिएको छ । माओवादी सेना अव समायोजनको प्रकृयामा छ । दुवै सेनालाई समायोजन गरी राष्ट्रिय सेना बनाउने प्रकृया सुरु भएकाले उसलाई राजनीतिक गतिविधिबाट पूर्णत अलग्याउन बिशेष समितिको बैठकले उपरोक्त निर्णय गरेको हो । माओवादी पार्टीको राजनीतिक संस्कृतिमा हुर्केकाले बेला-बेलामा जनमुक्ति सेनाले राजनीतिक विषयबस्तुमा टिप्पणी गर्दै आएको छ । अपराधीहरु जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा लुकेको भन्ने एमाले नेताहरुको गत महिनाको आरोपपछि जनमुक्ति सेनाका सातै डिभिजनका कमाण्डरहरुले एमाले नेताहरुलाई पुष्टि गर्न चुनौति दिएका थिए । जनमुक्ति सेनाको सोही प्रतिकृयालाई आधार बनाउँदै समितिको विहीबारको बैठकमा जनमुक्ति सेनाले राजनीतिक बिषयबस्तुमा टिप्पणी गर्न नपाउने कुरा उठेको थियो । समितिमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका प्रतिनिधिहरुले जनमुक्ति सेनाले अहिलेपनि क्यान्टोनमेन्टहरुमा झण्डा प्रयोग गरेकोमा आपत्तिसमेत जनाएका थिए । -Sitaram Baral in Kathmandu
|