|
Exclusive: न्यू जर्सी- गैर आबासिय नेपाली संघ (एनआरएन) अमेरिका र एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) बिच "को ठुलो ?" भन्ने नेत्रित्व पङ्क्तीको जुंगाको लडाईंमा सबा लाख संख्यामा रहेका अमेरिकि नेपालीहरु बिभाजित हुनेस्थिती उत्पन्न भएपछि दुइटै संस्थामा समभाब राख्ने कवि अनन्त रिसालले लेख्नु भएको पेचिलो आलेख:
के को बिवाद?
उदार जनतान्त्रिक स्वतन्त्रताको धनी संयुक्त राज्य अमेरिकी धरातलमा गैर-नेपालीहरु बीच नयाँ संघ-संस्थाका बारेमा धेरै बिवाद र चर्का अनि नमिठा विषयहरु सुनिन्छन् । नेपालमा भएका भए 'दे दे' गर्थे - यहाँ चाहिँ भाषण र मसीले पोतापोत गर्छन् । असमझदारी नै हाम्रो दूर्भाग्य हो । शिव र बुद्धका धनी अनुयायी-हामीनै शान्ति र सँब्रिद्धी, सँस्कार र प्रविधी खोज्दै सँसारमा तितरबितरिएका छौँ। कस्तुरीले आफ्नै नाभीको बास्ना खोजेझैँ सिकारीको जालमा परीरहेका छौँ। आफू पनि केही नेपाली र विदेशी सँघ सँस्थामा आबद्ध भएको र नेपालीहरुका सामूहिक हित, प्रेम, प्राविधिक प्रोत्साहन र सामन्जस्यताको लागि समर्पण भएका कारण तिनैको प्रबंध कुशलता रसहयोग होस् भन्ने भावनाले ऊत्प्रेरित भई यो कलम चलाउन वाध्य भएको छु । मलाई धेरैले धेरै कुरा सोध्ने, भन्नेछन् ।
नेपाल र नेपालीको मन, भावना र एकात्मतालाई एक शूत्रमा लेराउन समाजका सबै प्रबुद्ध, समाजसेवी तथा बिशेष गरेर पत्रकारहरु आपसी मेलमिलापमा, राष्ट्रियतामा ठेस पुय्राउने कुनै पनि जथाभावी लेखहरु बिना अनुसन्धान, बिना साक्षात्कार नगरी नलेखिदिउन भन्ने मेरो बिनम्र अनुरोध छ । कुरा ठीक पनि हो की जो सुकै मनुस्य आफूलाई नयाँ ब्यक्तित्वद्वारा चिनाउन चाहन्छ। आफ्नो अस्तित्व हराइहाल्छ की भनेर तर्सिन्छ। 'समाजमा केही न केही गरिरहेको छु है' - भनेर हात उठाइ कलम हल्लाई रहन्छ। समाज संब्रिद्ध हुनुमा, त्यो आफैँमा अत्यन्त राम्रो लक्षण पनि हो। पारदर्सिताको यो नयाँ युगमा सामाजिक प्रतिस्पर्धा भन्दा पनि समझदारी हुनु अत्यन्त आवश्यक पनि छ। 'को साँच्चिकै अगुवा र समाज सेवी छ त?' भन्ने बिषयको पर्दाभाश गर्दछ र त्यसलाई विस्तारै समाजले अनुकरण पनि गर्दछ। अगुवा, भगुवा र हगुवामा धेरै अक्षरको फरक छैन । केवल आफूले गरेको फोहोर आँफैले पुछ्नु मात्रको फरक देख्दछु। सँघ-सँस्था भनेको करीब भोजनालय ब्यापार जस्तै हो। सँस्थाको समाज सेवी र सदस्य नै सँधैका ग्राहक हुन् जो सधैँ फर्केर सेवामा खुशीले आउँछन्। आधार र खम्बा हुन् की सँधै अडिक र धीर हुन्छन्।
आज्कल अन्न्लाइन, वेब प्रविधीले गर्दा च्याउ जस्तै उम्रिएको पत्रिकाहरुबाट धेरै नै सूचना प्राप्त गरिन्छ। तर धेरै भएकाले एलरजी भईसके। सूचना, लेख, साहित्य र सँघ-सँस्थाको वास्तविकताको सहि कडी समाजका पाठक-सदस्यहरुले मात्र विश्लेषण गर्दैनन् की-यी सबै भावनाको मूल्यांकन गैर्-निवासी, नेपालका नेपाली तथा बिदेशीले पनि गरिदिने कुरा हो।
समाधान विशेषज्ञ के भन्छन् त?
कुनै पनि विवादको समाधान बातचीत र समझदारीलाई दुबैको क्षमतामा परिणत गरिनु पर्दछ। मतभेद हुन्छ तर ती आफैँमा राम्रा र नराम्रा भन्न मिल्दैन। पद्धती र सुझाव योटै मात्र हुँदैनन्। सरल मार्गहरु धेरै हुन्छन् र खोजिनु पर्दछ। सहमति र असहमति साह्रै गहनशील विषय हुन् र ति आपस मै बिरोधाभास बिषय भएकाले - तिनैका विशेषज्ञ, कोही माहिर र प्रतिष्ठित महानुभावको सर्-सल्लाह लिनु जरुरी हुन्छ। बिषय बस्तुको पूर्वज्ञान पछि सचेतनता जाग्रत हुन्छ, बिषय बस्तु प्रतिको विश्वाश र पत्यारको भावना व्यक्त हुन्छ। प्रबुद्धता निस्कन्छ। खुल्ला विचार-विमर्श, बहस, वाद-विवादमा पुगिन्छ। बैचारिक संघर्षले गति लिन्छ र बिस्तारै समझदारीबाट सबै कुराको निर्णय लिइन्छ। बाँकी त निस्कर्ष र आशाबादिताले राम्रै परिणाम लेराउँछ। यो पहिलो प्रेममै कुरा मिलाउनु जरुरी छ,पछि धोका नहोस् भन्ने हो। नेपालमा नेताको भेदपूर्ण भाषण मन पराउने र अब अमेरिकामा पनि पठाइने ईमेलको सँख्याबाट सँस्थाको सदस्यता र कार्यक्षेत्र बढाउँछु र चलाउँछु भन्नेहरु दिवास्वप्नबाट ब्युझिँ नसकेको भान हुन्छ।
सँघ-सँस्थाहरु सेता हात्ती नबनिदिउन् भन्ने पनि मेरो आशय हो। योउटैले पुग्छ भने दुइटा किन चाहियो। हेर्ने आँखामा दूरदर्शिता छ भने पूरानै ANA लाई पूनर्जिवित गर्न पनि सकिन्छ र सारा अमेरिका भरिका नेपाली-सँघ सँस्थाको मैत्री सँबन्ध सुधार्न सकिन्छ। मन जे गरे पनि नमिल्ने हो भने अरु पाँच गैर-सँस्था खोलेपनि प्रामणिकताको प्रश्न सधैँलाई हुन्छ नै। कानुनी सल्लाह्कारलाई पनि त्यहि नै मेरो सल्लाह छ की अब जो सुकै सँस्था दर्ता गर्दा पनि "गैर" शब्द हालिदिन नबिर्सिनुहोला। आजकल 'Genome' प्रविधीले भैसीलाई गाई बनाउन सजीलै सकिन्छ, पुच्छर काटेर यताउता गर्ने त होनी। तर त्यो भन्दैमा मैले ANA को पक्षमात्रै लिएको पनि छैन। ANA पनि उत्तिकै अर्को ठूलो सेतो हात्ती हो। मेरा विचारमा जब सम्म यी दुई सँस्था वा अरुले जब सम्म सम्पूर्ण स्थानीय सँस्थाहरुलाई पर-पूरक बनाएर लान सक्ने दिगो जनतान्त्रिक दूरदर्सिता राख्दैन - तब सम्म झण्डै ५५० अमेरिकी सँस्था लूप्त अबस्थामा मै रही रहन्छन्। समाज सेवीलाई नामको भन्दा पनि के काम गर्न सकिन्छ त भन्ने चिन्ताले सताइरहेको हुन्छ। दुई नेपालीले पार-पाचुके गरे छन् नि भन्दा त मन चसक्क दुख्छ, झन् सँस्था भनेको त दिगान्तर, सातजन्म भन्दा पनि टाढा सम्म समय छँदै सोच्नसक्नु पर्छ।
समाज सेवाका कारण के हुन् त?
निश्वार्थ समाज सेवी भनेको त्यहि हो जो समाजमा अरुका लागि-बिना फलको ईछ्या राखेर केही दिन चाहन्छन्।ग्रिन-कार्ड छाप्नु छ कि? दोहोरो नागरिकता लिएर विदेशमा कमाएको पैसा नेपाल पठाउनु छ कि?भविश्यमा अवकाश हुनु अघि व्यापारिक संबन्ध बढाउनु छ कि? विवादमूलक लेखहरु छपाएर आफ्ना पत्रिकालाई 'हिट-साइट' बनाउनु छ कि? दशैं पारेर राजनैतीक सम्मान र सिद्राको ब्यापार पनि गरिहाल्नु छ कि? पैसा उठाएर आफ्नै गाँउ घरमा काका,दिदीको स्कुललाई सहयोग गर्ने हो कि? देशलाई गरेको झैँ भनेर आफ्नै संपत्ती र मान प्रतिष्ठाको खेती गर्नु छ कि? ठूलो तक्मा लगाउनु छकी, भोली संपर्कले राज्दूत हुनु छ की? को कस्का लागि के र किन भन्ने लाखौँ प्रश्नहरु छन्। यी सबै निश्वार्थ समाज सेवाका परिभाषा होइनन्।
ल अब आफ्नो वरिपरी साथी-भाइ, गैर-नेपाली समाज सेवीलाई हेर्नोस् तर उनीहरुलाई केही नभन्नोस्- उनको सेवामा अ-श्रद्धा नजगाइ-दिनोस्। Local, Regional, National, International level जो जे जे मा लागेका छन्- आफ्नै बुद्धी विबेकले लागेका हुन्छन्। आफ्नै परिवारबाट समय कटाएर लागेका हुन्छन्- त्यस्मा ती पात्रहरु सबै प्रसंसनीय नै छन्। निश्वार्थ समाज सेवाका उद्देश्यका प्रयोजन, प्रकार र प्रकियामा आफ्नै मौलिकता हुन्छ। Diversity, Unity, Prosperity, For Nepali, By Nepali Channeling Knowledge & Investments for Nepal's Rapid Development -ल पढ्नुस् दुबै तिरबाट कति राम्रा नारा हरु छन् त - अब त्यस्मा निश्वार्थता भयो भने-'ईन्द्रेको बाउ चन्द्रेले'-कसैले कसलाई पनि किन बिथोल्ने?किन छिड्की हाल्ने?किन सम्मान नगर्ने? कुनै काम मिलेर गर्न नसक्ने हो भने-सारा काम मेरै सँस्था, विभाग, मँत्रालय, शाखा, क्षेत्र, अँग र सचिवालय अन्तर्गत हुनु पर्छ भन्ने सोचाइ लियो भने-उही दैँत्य र देवताको भोजको कथा दोहोराए हुन्छ। यो अमेरिकी देशबाट सबै सँघ-सँस्थाका अग्रजहरुले फेरि हातेमालो गरी सँधैका लागि नेपाल फर्कने योजना गरे हुन्छ।
सामाजिक राजमार्ग किन आबश्यक छ त?
अब नेपाल र नेपालीको सँब्रिद्धीका लागि यो देशमा र यो देशबाट के गर्न सकिन्छ त? हुन त हामीले नेपालमा राजनैतिक राजमार्गलाई मात्र ठूलो ठानेका थियौँ। सीमा-रहित नेपालको परिकल्पना गर्दा ए। यो त स्व-देशी धरातल होईन रहेछ है भनेर-विस्तारै बुझ्दै पनि आएका छौँ। हामी नेपालीहरु जहाँ बस्छौँ त्यहाँ त्यो देशकै सामाजिक परिधी-भित्र बस्नु पर्छ। सकेसम्म त्यहाँको भाषा र चाल-चलन सिक्नु पनि पर्छ। आफ्नो जस्तै गरी अपनाउनु पनि पर्छ र आफ्नो परंपरा, संस्क्रिति, भाषा र सँस्कारलाई जोगाउनु पनि पर्छ।
ANA र NRN - यी दुई संस्थाको आफ्नै बिशेषता छन्- यौटा ३ दशक देखिको अमेरिकी निवासीहरुको आफ्नै संस्था हो भने अर्को अन्तर्राष्ट्रीय मान्यता प्राप्त नेपालमा आर्थिक, प्राविधिक र राष्ट्रियताको नयाँ आँदोलन गराउन सक्ने पहिलो ससक्त सम्माननीय अनि सबैलाई समेट्न सक्ने संस्था हो। यी दुबै नयाँ प्रकारले आएका सीमा-रहितको अस्तित्व हुन्, यौटा पुराना काँचुली फेरेर त अर्को नयाँ जोश र बिद्वता बोकेर। यी दुबै आपसमा पर-पूरक छन्, नदिका दुई किनारा हुन्, मान्छेलाई गति दिन सक्ने दुई गोडा। दुइटा गोडा भएपनि कहीले काँही हामी एक अर्काकोमा टेकी दिन्छौ र साधरण ठेश लाग्न सक्छ। लडीहाल्यौँ भने पनि लूगा ट्क्टकायो, आफ्-आफ्नो बाटो हिँड्यो। कार्य-क्षेत्र र सीमा हेर्दा यिनमा म त विरोधा-भास पटक्कै देख्दिन।
अब आयो कुरा-कसरी यिनको सह्-अस्तित्वको सँभव छ त- एउटै देशमा। किन नहुनु, नदिका दुई किनारा जस्तै। बाँकी रहेका सम्पूर्ण सँघ-सँस्थाले सहयोग गरिदिनुको जरुरी छ। एकदम माथिल्लो तहमा सबै कुराहरु मिलाउन सकिन्छ - प्रक्रिया र तल्ला कुरामा मात्र बहस छ। नेपालको संविधान बन्दा-साथ यहाँ पनि सारा कुरा मिली हाल्छ कि? पत्रकार, 'अन्लाइन' र लेखकका लागि बिषय बस्तु बनेको छ, त्यत्तिको लागि रोकिएको छ?नेपाललाई गरिने परिभाषामा त परिवर्तन भईसकेको छ। अब सीमा-रहितको नेपाललाई हिमाल र तिनकुने झण्डामा मात्रै सिमित गरिनु हुँदैन। नेपाली शब्द पनि अझ उदार बनेको छ। त्यो नेपाल, भारत, भुटान, बर्मा, सिंगापूर, युरोपमा मात्रै परिचित छैन। नेपाली भनेको अब गोर्खाली, सेर्पाली, सोझा प्यारा बफादार सेवक मात्रै होइनन् ती त अब संसारमा मालिक पनि भैसके।
साराँश
सबैले सहयोग गर्यौँ भने यी दुबै सँस्थाले चाहिने गति लिन्छ, नदीमा पानी बग्छ-नत्र दुबै सँस्थामा अनावृष्टि,प्यास र खडेरीको सूखा मरभूमिको अनुभव हुन्छ। चाहे ब्यक्तिगत होस् या चाहे संस्थागत होस् - सबैले हात बढाओँ, किनारा बनाओँ । हामी सबै मिली आउन सक्ने सँबैधानिक वा ठूलो प्राक्रितिक भूइँचालो, सूरक्षा रसिमाना संरक्षण गर्न सक्छौँ। नेपालमा, अमेरिकामा अनि विश्वमा रहेका नेपालीलाई, विद्द्यार्थीलाई मर्दा र पर्दाको सहयोग गर्न सक्छौँ। हामी मिल्यौँ भने हामीलाई भुटान र मेघालयबाट, बर्मा र आसामबाट निकालिएकोमा सहि बहस हुन्छ र जरुरी छ। 'हामी हाम्रो गाँउ-आफै बनाउँ'-भन्ने नारा लियौँ भने नेपाल आमापनि बनी हाल्छिन् नि।
हामीलाई हाम्रो पर्व, तिर्थ, जात्रा, खेल्कूद, नाच्गान, दोहोरी मितेरी साईनो पनि लाउनु छ। हामीले हाम्रो होलिमा, लोसार र तीजमा, साकेला, भैली र रोदिमा नाच्न पाउनु पर्छ। भाईटिकामा दौरा-टोपी, चोली, चुबा-बख्खु लाउन पाउनु पर्छ। जहाँ बसे पनि हाम्रै संस्क्रिती जोगाउनु छ। हामीले हाम्रा प्रतिभाहरु अझ कति चिन्नै बाँकी छ। हामीलाई अब कसरी नेपाल बाहिर नेपाली भएर बाँच्ने, कसरी नेपाल सरकारलाई गैर-नेपालीसंगको सह-अस्तित्वको सहि मार्ग निर्देशन गर्ने भन्ने कुराको जरुरी पनि छ। 'खोक्रो गाग्री धेरै कराउँछ'- त्यसैले तिन्मा पहिले किनारा सफा गरिएको नदीको पानी उबाऔँ, भरौँ र गाउँ-गाउँमा र बिदेशी घर-घरमा निश्वार्थ सामाजिक सेवाले बितरण गरौँ।
-Anant Gopal Risal in New Jersey
|
Comments